|

बुटवलः कोरोना भाइरस भारतमा समेत देखिएपछि भैरहवाको दक्षिण सीमा बेलहियामा भाइरस चेकजाँचका लागि हेल्पडेस्क स्थापना गरिएको छ। चीनको वुहानबाट सुरु भएको भाइरसको संक्रमण रोक्न नेपाल सरकारले सतर्कता अपनाइरहेका बेला नेपाल-भारत सीमा नाका बेलहियामा हेल्थ डेस्क स्थापना भएको हो।

नाकाको नेपालतर्फ बेलहिया र भारततर्फ सुनौलीमा हेल्थ डेस्क नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकको स्वास्थ्य चेकजाँच गर्न थालिएको हो। सिद्धार्थनगर नगरपालिकाको संयोजनमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, भीम अस्पताल, सुरक्षा निकाय, मेडिकल कलेज, गौतमबुद्ध विमानस्थल, र अध्यागमन कार्यालय रुपन्देहीको संयुक्त प्रयासमा समन्वयमा हेल्थ डेस्कको स्थापना गरिएको हो।

विहान ७ बजेदेखि राति ८ बजेसम्म हेल्थ डेस्कमा शंका लागेको पर्यटकहरूको परीक्षण भइरहेको डेक्समा कार्यरत अनमी उमा काफ्लेले बताइन्। जाँचबाट कोरोनाको लक्षण देखिएका पर्यटकहरूलाई भैरहवाको भीम अस्पताल पठाउने निर्णय गरिएको छ। यद्यपि, हालसम्म कुनै पनि कोरोनाको संक्रमित नभेटिएको काफ्लेले जानकारी दिइन्।

स्थलमार्ग हुँदै नेपाल भित्रने पर्यटक सबैभन्दा धेरै बेलहिया नाकाबाट भित्रिन्छन्। नाकाबाट श्रीलंका, थाइल्याण्ड, म्यानमार र भियतनामबाट सबैभन्दा धेरै पर्यटक आउँछन्। त्यसपछि सबैभन्दा धेरै पर्यटक चीनबाट आउने अध्यागमन कार्यालयले जनाएको छ।

अहिले सरदरमा ३ सय २५ जना विदेशी पर्यटक यस नाकाबाट आउने गरेका छन्। यहाँबाट आउने सबै पर्यटकलाई हेल्थ डेस्कमा परीक्षण गरेर मात्र नेपाल प्रवेशाज्ञा दिइरहेको अध्यागमन कार्यालय बेलहिया रुपन्देहीका प्रमुख गिरीराज खनालले बताए।

नेपालसँगसँगै भारतले पनि सुनौलीस्थित अध्यागमन कार्यालयमा कोरोना भाइरसबारे सतर्कता अपनाउँदै पर्यटकको स्वास्थ्य चेकजाचमा खटिएको छ। मंगलबारदेखि आदर्शनगर पंचायत सुनौलीले नेपालबाट भारत प्रवेश गर्ने पर्यटकहरुको उक्त डेस्कबाट स्वास्थ्य चेकजाच गर्न थालेको छ।

शंकास्पद बिरामीलाई महाराजगंज जिल्ला अस्पतालमा पठाएर थप चेक एवं अनुसन्धान गर्ने व्यवस्था मिलाएको डाक्टर सेफाली गुप्ताले बताइन्। भारतले चीन, जापान, सिंगापुर, थाइल्याण्ड, कोरिया र इटलीका नागरिकलाई विशेष निगरानी गर्दै सीमाक्षेत्रमा स्वास्थ्य जाँच गर्ने प्रबन्ध मिलाएको हो।

भारतले  अध्यागमन कार्यालय र सिमानाकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ। पर्यटकको पार्सपोर्ट हेर्दै, उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका गुप्ताले बताइन्। उनका अनुसार हेल्थ डेस्कले अहिलेसम्म ९८ जनाको परीक्षण गरेको छ। जाँच गरेकोमध्य कुनै पनि पर्यटकमा भाइरसको संक्रमण देखिएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.