वर्षभरि नै चलिरहन्छन् सयभन्दा धेरै प्रतियोगिता

|

इलाम : राष्ट्रिय खेलकुद परिषदले सात वर्षअघि गरेको अध्ययनले इलामलाई खेलकुदको अर्को राजधानीको रूपमा चित्रित गरेको छ।

जिल्लाका घनाबस्ती भएको शहरभन्दा गाउँबस्तीमा खेलकुद क्रेज धेरै छ। जसलाई १३ औँ सागमा इलामका खेलाडीले ल्याएको दुई स्वर्णसहित सातवटा पदकले पुष्टि गर्छ। पदक पाउने अधिकांश ग्रामीण क्षेत्रकै उत्पादन हुन्। खेल क्षेत्रमा विशेष गरेर इलाम फुटबलका लागि चिनिन्छ।

वि.सं. १९९० ताका सुरु भएको फुटबल खेल इलामका लागि अचेल पर्वजत्तिकै भएको छ। उतिबेला राणा शासकहरूले यो खेललाई इलाम भित्र्याएका थिए। फुटबललाई राणाहरूले व्यवस्थित र फैलाउने क्रममा यो खेल इलामको गाउँगाउँसम्म विस्तार भयो।

२०१० सालअघि नै यो खेल इलाममा विस्तार भएको थियो। त्यसपछि इलाममा धेरै ठूला प्रतियोगिता हुन थालेका हुन्। तत्कालीन बडाहाकिम महावीर शमशेरका नाममा स्थापित महावीर शिल्ड, गजराज बुढाथोकीका नामको गजराज कप, ज्ञानी भक्तराजका नाममा सुरु गरिएको ज्ञानी मेमोरियल शिल्ड र कमल गजमेरका नाममा राखिएको कमल शिल्ड हुँदै भूकम्पपीडित कप फुटबल प्रतियोगितासम्मको इतिहास छ इलाममा।

२०४० देखि ०४५ सालमा इलामको फुटबल चरमोत्कर्षमा थियो। पुरुषतर्फ गाउँबाटै फुटबल खेल्ने गणेश पाण्डे र धीरेन्द्र प्रधानले रुपकराज शर्मा नेतृत्वको नेपालले विश्वकप छनौटमा पहिलो पटक भाग लिँदा दुवैजनाले अवसर पाए।


मंगेश बस्नेत ध्रुव भक्तराज, धिरेन चेम्जोङ‚ दर्शन भक्तराज सम्मिलित इलामको फुटबल चरमोत्कर्षमा थियो भने रमा सिंहको नेतृत्वमा रहेको पहिलो नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा इलामका जनु खड्का, संगीता रावत, शोभा राई, इन्द्र राई र जमुना पाण्डे समावेश थिए। यिनीहरूमध्ये धेरैजसो ग्रामीण क्षेत्रकै फुटबलबाट खारिएका हुन्।

२०५० सालपछि आएर एन्फा एकाडेमी पहिलो ब्‍याचका लोकबन्धु गुरुङ, सुवास राई, नवयुग श्रेष्ठ, एन्जिला सुब्बा, छिरिङ गुरुङ, मनिष थापा र दर्शन गुरुङको पुस्तासम्म आउँदा निकै फड्को मारेको छ। जिल्लाबाट राष्ट्रिय टिममा प्रतिनिधित्व गर्ने खेलाडीहरू बढेसँगै प्रतियोगिता पनि बढ्दै गएको छ।

३३ वर्षदेखिको फुटबल इतिहास बोकेको ‘कागे मेला गोल्ड कप’ले छिरिङ गुरुङ, लोकबन्धु गुरुङ, विवेक बस्नेत जस्ता राष्ट्रियस्तरको खेलाडी जन्मायो। मंगलबारेमा हुने विभिन्‍न फुटबल प्रतियोगिताले नवयुग श्रेष्ठ जन्मायो। फिक्कल-पान्दाममा भएको महिला फुटबलमा स्ट्राइकर खेल्न गएकी एन्जिला तुम्बापो सुब्बा बाध्यताले गोलकिपर खेल्नुपर्दा आफ्नो क्षमता पहिचान गर्ने अवसर पाइन्।

वर्षमा १०० बढी प्रतियोगिता

'ए' श्रेणीको माईभ्याली गोल्डकपदेखि लिएर गाउँगाउँमा हुने टोलकप र  भालेकप गरी इलाममा वर्षमा झन्डै १०० भन्दा बढी प्रतियोगिता हुने गर्छ। सीमा क्षेत्रमा गाउँमा हुने खुल्ला मिनिपोस, सेभेन साइड, फाइभ साइड फुटबल प्रतियोगितामा छिमेकी देश भारतका टिमहरूसमेत सहभागी हुन्छन्।

पछिल्लो समय आएर विभिन्‍न जातीय संस्थाहरूले आफ्नो पर्वको अवसरमा फुटबल खेललाई नै रोज्‍ने गरेका छन्। उधौंली कप, साकेला कप, बडादसैँ कप, दीपावली कपजस्ता नामाकरण गरेर बर्सेनि फुटबल प्रतियोगिता हुने गरेको छ।

स्थानीय सरकार गठन भएपछि मेयरकप र अध्यक्षकपका नाममा भएको प्रतियोगितामा राष्ट्रियस्तरमा खेलाडीहरूको सहभागितासमेत बढ्दै गएको छ।

माङसेबुङमा प्रतियोगिता

इलामको कर्णाली भनिँदै आएको माङसेबुङ गाउँपालिका-५ माङसेबुङमा किरात धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्रहाङमा साँवाको जन्मोत्सवको अवसरमा १० वर्ष अघिदेखि हरेक वर्ष महिला र पुरुष गोल्डकप प्रतियोगिता हुँदै आएको छ। जहाँ प्रदेश १ का टिमहरूको सहभागिता रहन्छ।

ग्रामीण क्षेत्रका प्रतियोगितालाई लगानी गर्ने हो भने राष्ट्रिय टोलीमा इलामेली खेलाडीहरूको सहभागिता बढाउन सकिने निहारिका पार्टनर स्पोर्टिङ क्लब अध्यक्ष ज्ञानु राई बताउँछन्। ग्रामीण क्षेत्रका प्रतियोगिताहरूमा स्थानीय सरकारको पहिलो प्राथमिकता रहनुपर्ने उनको भनाइ छ।

नगर क्षेत्रको खेलाडीको प्रतिभा पहिचानका लागि सूर्योदय नगरपालिकाले हरेक वर्ष प्रदेशस्तरीय मेयर कपको आयोजना गर्दै आएको छ। जसमा नेपाली राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरेका पुजन उपरकोटी, छिरिङ गुरुङ, दर्शन गुरुङ, कर्ण लिम्बूलगायत 'ए' डिभिजनका खेलाडीहरूको कौशलसमेत देख्‍न पाइन्छ।

पछिल्लो समय देशका ठूला शहरहरूमा हुने गोल्डकपमा भन्दा गाउँगाउँमा हुने टोलकपमा दर्शकहरूको चार्म बढ्दो छ। 'ए' डिभिजन लिग र गोल्डकप दर्शक नपाएर निराश बनिरहँदा इलामका गाउँगाउँमा हुने भालेकपमा खेलमैदान वरिपरि आफ्नो टिमलाई हौस्याउने दर्शकको कमी हुन्न।

खेलसँगै व्यापार र समृद्धि

भित्ता कोपेर बनाइएको प्यारापिटमा दर्शकहरूको बसाइले मैदानको शोभा नै बेग्लै देखिन्छ। गाउँका यस्ता प्रतियोगिता नै नेपाली फुटबल विकासको आधार रहेको अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य निरोज खड्गी बताउँछन्।

‘नेपाली फुटबलमा सबैभन्दा महत्वपूर्ण योगदान पुर्‍याउने मोफसलको फुटबल हो‚’ उनले भने, ‘अझ ग्रामीण क्षेत्र भएका टुर्नामेन्टमा बिनास्पोन्सर आयोजनाले नेपाली फुटबलमा इलामको योगदानले प्रष्ट पार्छ। यस्तै प्रतियोगिताले इलामले सबै उमेर समूहको राष्ट्रिय टिममा खेलाडी दिन सफल भएको छ।’

गाउँमा हुने प्रतियोगिताले खेलसँगै व्यापार समृद्धिमा समेत योगदान पुर्‍याएको छ। खेलमैदान वरपर चटपटे, किरान पसलहरू राखिएको पाइन्छ। उनीहरूले प्रतियोगिताको पुरस्कार राशिभन्दा बढी आम्दानी गर्छन्।

गाउँगाउँमा फुटबल क्रेज बढे पनि समन्वय अभावका कारण खेलाडी पहिचानमा समस्या हुने गरेको छ। कतिपय प्रतियोगिताका लागि समन्वय अभावले स्तरीयतामा समेत आँच आउने जिल्ला फुटबल संघका अध्यक्ष महेश श्रेष्ठको भनाइ छ।

‘गाउँबाटै धेरै खेलाडी उत्पादन भएको छ। तर, जुन टुर्नामेन्ट हुन्छ। त्यसमा हाम्रो केही न केही रिलेसन हुनुपर्‍यो‚’ उनी भन्छन्, ‘गाउँमा फुटबल खेलाएर मात्र भएन खेलाडी उत्पादनका लागि जोड दिनुपर्छ।’

खेलमैदान अभाव

इलाममा ११/११ जना खेलाडी सहभागिता जनाउन सक्ने खेलमैदान ३/४ वटाभन्दा बढी छैन। तर, पनि गाउँमा स–साना टार खारेर खेलमैदानमा स्वरूप दिँदै खुला मिनिपोस, सेभेन साइड, फाइभ साइड फुटबल प्रतियोगिता हुँदै आएको छ। जहाँ एक लाखभन्दा बढी पुरस्कार राशि तोकिन्छ।

प्रशिक्षण केन्द्रको अभावलाई सम्बोधन गर्दै खेलाडी उत्पादन र प्रशिक्षणका लागि सूर्योदय नगरपालिका–११ करफोकमा एकाडेमीका लागि काम अगाडि बढाइएको छ।

करफोक माविको ७० रोपनी जग्गामा अखिल नेपाल फुटबल संघ र सूर्योदय नगरपालिकाबीच गत असार ३ मा एकाडेमी निर्माणका लागि सम्झौता भएको थियो। सम्झौतापछि अहिले खेलमैदानमा नाली (ड्रेन) निर्माण भइसकेको छ।

एन्फाले पाँच वर्षभित्र आवश्यक पूर्वाधार र भौतिक संरचना निर्माण गर्ने गरी सम्झौता भए पनि पछिल्लो समय स्वामित्व विवादका कारण केही समस्या देखिएको सूर्योदय नगर प्रमुख रणबहादुर राईले बताए। विवादलाई चाँडै हल गरी संरचनाको कामलाई तीव्र गतिमा अगाडि बढाइने राईले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.