|

- रामचन्द्र तामाङ


पाँचथर : जिल्लाको उच्च पहाडी क्षेत्रमा पुस्तौँदेखि गोठ बस्दै आएका ग्वालाहरूले गोठमा पाल्ने भोटे कुकुर आम्दानीको स्रोत बनाउँन थालेका छन्। गोठको सूचना संवाहक र सुरक्षागार्डको रूपमा पालिने भोटे कुकुरको छाउरा बेचेर ग्वालाहरूले राम्रो आर्थिक उपार्जन गरिरहेका हुन्। उत्तरपूर्वी पाँचथरको फालोट क्षेत्रमा गोठ बस्ने प्रचलन छ।

फालोट क्षेत्रमा करीब तीन दर्जनको हाराहारीमा रहेका प्रत्येक गोठमा भोटे कुकर पाइन्छन्। हरेक गोठमा भाले-पोथी जातका भोटे कुकुर पाल्ने ग्वालाहरूले बर्सनि छाउरा उत्पादन गरी महँगो मूल्यमा बिक्री गर्दै आएका छन्। भोटे कुकुरको एउटा छाउरा १६ हजारमा बिक्री गर्दै आएको फालेलुङ गाउँपालिका-४, चाररातेका ग्वाला छबिलाल राईले बताए।

उनका अनुसार भारतको सिक्किम-दार्जिलिङसँगै नेपालको इलाम, झापा, मोरङ, सुनसरी र काठमाडौंसम्मका मानिसले भोटे कुकुरको छाउरा खरिद गरि लाने गरेका छन्। हेर्दा ठूलो र भुक्दा वरिपरि थर्किने गरी ठूलो स्वरमा भुक्ने भोटे कुकुर ग्वालाहरूले गोठको सुरक्षाको लागि पाल्ने गर्दछन्।

मानिस नभएको समयमा कुकुरले नै गोठको सुरक्षा गर्ने चाररातेकै भीममाया याङ्मा राईले बताइन्। ‘राति गोठमा बिगार गर्न जंगली जनावर आएको जानकारी पनि कुकुरले नै दिन्छ’ उनले भनिन् ‘सिजनअनुसार एक ठाउँदेखि अर्को ठाउँ गोठ सर्नुपर्छ त्यो बेला कुकुरले नै चौरी गाईलाई गन्तब्यसम्म डोर्‍याउँछ।’

भोटे कुकुर घरपालुवा जनावर भए मानिसजस्तै चतुर अनि इमानदार हुने ग्वालाहरू बताउँछन्। फालोट घुम्न आउँने पर्यटक उनै कुकुरबाट मोहित भएर खरिद गरिलाने छविलालले सुनाए। छाउरा खरिद गर्नेहरूको संख्या बढेपछि अहिले जन्मिनुपूर्व नै मोबाइल फोनमार्फत अर्डर गर्नेहरूको संख्या समेत बढ्दै गएको छ। छाउरा बिक्री गरी ग्वालाहरूले वार्षिक न्यूनतम ५० हजारदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्।

ग्वालाहरूले गोठ र चौरीको सुरक्षार्थ अनिवार्य भोटे कुकुर पाले पनि अन्यले भने शौखको रूपमा पाल्नलाई खरिद गरेर लाने गरेको भीममायाले बताइन्। उनका अनुसार विशेष गरी समुद्री सतहदेखि २२ सय मिटरभन्दा माथिको उचाइमा पाल्न उचित मानिने भोटे कुकुर कम उचाइका ठाउँमा पनि शौखको लागि पाल्नेको संख्या बढ्दै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.