|

म्याग्दी : साविकको धौलागिरि अञ्चलको सबैभन्दा पुरानो मानव निर्मित पोखरी पर्यटकहरुको आकर्षण बन्दै गएको छ। बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित उक्त पोखरीमा बिहान धौलागिरी हिमालको प्रतिविम्ब देखिने भएकाले यसलाई हिमालले ऐना हेर्ने पोखरी भनी चिनिन्छ। यस पोखरीको इतिहास राजा गिर्वाणयुद्धसँग जोडिएको छ।

राजा गिर्वाणयुद्धका नीर सुब्बा (स्वकीय सचिवजस्तै) रहेका रत्नेचौरका वसन्त बोगटीले १८६६ सालमा राजाको इच्छा मुताविक सो पोखरीको निर्माण गरेका स्व. वसन्त बोगटीका सातौं पुस्ताका सन्तती चिरञ्जिवी बोगटीले बताए। चिरञ्जिवीका अनुसार त्यतिबेला रत्नेचौरामा पानीको हाहाकार थियो। गाउँमा कतै पनि पानीका स्रोत नभएपछि ढोडेनीबाट पानी बोकेर खाने, सरसफाइ गर्ने र चौपायालाई खुवाउने गर्दथे। यस्ता कार्यबाट आजित बनेका स्व. वसन्त बोगटीले उक्त कुरा राजा गिर्वाणयुद्धलाई सुनाएपछि राजाको इच्छाअनुसार नै पोखरी निर्माण गरी ढोडेनी खोलासम्म नहर बनाई पानी संकलन गरेर स्थानीयले पानीको समस्याबाट मुक्ति पाएको बताइन्छ।

पोखरी संरक्षणको अभावमा जीर्ण भएको थियो। करिव ५० मिटर चौडाइ र ७० मिटर लम्बाइ रहेको पोखरी आसपासको क्षेत्रमा बगैंचा बिस्तार गर्न सात रोपनी जग्गा रहेको छ। पोखरीबाट करिब २२ मिटरमाथि ढोरेनी खोलाबाट ल्याइएको पानी पोखरीमा हालेर अहिले पोखरीलाई नयाँ स्वरुपमा मर्मत सम्हार गरिएको छ। पोखरीको पानी स्थानीयले प्रयोग गर्ने गरेका छन्। 

पोखरीबाट नजिकै देखिने धौलागिरिसहितका हिमश्रृङ्खला, मनोरम दृष्य र पोखरी अवलोकन गर्ने जाने पर्यटकहरु बढ्दो छ। गत आर्थिक वर्ष पोखरी संरक्षणका लागि बेनी नगरपालिकाबाट ५० हजार र साविकको जिल्ला भूसंरक्षण कार्यालयबाट ५० हजार रुपैयाँ सहयोग भएको थियो। त्यसैगरी स्थानीयले करिव ६० हजारको जनश्रमदान गरी पोखरीलाई मर्मत सम्हार गरेपछि अहिले बुढो पोखरी चिटिक्क बनाइएको छ। अहिले पोखरी हेर्नका लागि टाढाटाढाबाट समेत मानिसहरु आउने गरेका बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर रावलले बताए।

पोखरीको संरक्षण गरेपछि सिंचाइका साथै पर्यटकीय गन्तव्य समेत बनाउने पहल सुरु भएको छ। चालु आर्थिक वर्षमा पनि नगरपालिकाले पोखरीको संरक्षणका लागि दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.