यस्तो थियो छानबिन प्रतिवेदन

|

जनकपुरधाम : कम्युनिष्ट नेता हेमनारायण यादवको हत्या भएको १६ वर्ष बितेको छ। आइतबार सिरहा सदरमुकाममा यादवको १६ औं स्मृति दिवस नेकपाले मनाएको हो।

काठमाडौंमा नेकपाको केन्द्रीय कमिटी बैठक बसिरहेका कारण केन्द्रीय नेता स्मृति दिवसमा सहभागी हुन सकेनन्। नेकपा नेता तथा प्रदेश सांसद प्रमोद यादव र जिल्ला स्तरका नेताहरूले शहीद हेमनारायणको स्मृति दिवस मनाएका छन्। सिरहा सदरमुकामस्थित शहीद यादवको शालिकमा कम्युनिष्ट नेताहरूले माल्यार्पणसमेत गरेका थिए।

तत्कालीन नेकपा एमालेका प्रभावशाली नेता यादवको हत्या भएको १६ वर्ष बितिसक्दा पनि हत्यारा अझै पत्ता लाग्न सकेका छैन। तत्कालीन नेकपा एमालेका महासचिव माधवकुमार नेपालले हत्यारा पातलो पर्दाको पछाडि रहेको भन्दै चाँडै सार्वजनिक हुने बताएका थिए। नेकपा एमालेका अधिकतर नेताले यादवको हत्यारा पत्ता लगाएरै छाड्ने जनाएको प्रतिबद्धता ‘गफ’ मात्र साबित भयो।

सिरहा सदरमुकामको महिसोथा घर भएका यादव २०६० माघ १९ मा स १ प २८३८ नम्बरको मोटरसाइकल लिएर धनगढीस्थित तत्कालीन नेकपा एमालेका  जिल्ला कमिटी सचिव हीरा सुनवारको घर जाने क्रममा अपहरणमा परेका थिए। उनलाई सोही राति गोली हानेर हत्या गरी कमला नदीको पुलभन्दा पश्चिम धनुषाको लवटोलीमा शव फालेका थिए।

यादवका हत्यापछि उनकी श्रीमती पारोदेवी राजनीतिमा आइन्। पहिलो संविधानसभाको निर्वाचनमा पारोदेवी पार्टीको टिकट लिएर उम्मेदवार भइन्। तर, चुनाव जित्न सकिन्। पछि उनका जेठा छोरा डा. नवीनकुमार यादव पनि राजनीति सुरु गरेका छन्।

छोरा डा. नवीनले नेकपा एमालेको नेतृत्वमा पटकपटक सरकार बने पनि बुवाको हत्यारा पत्ता लगाइ कारबाही गर्न नसकेको भनेर तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए। उनी दोस्रो संविधानसभाको निर्वाचनमा उम्मेदवारसमेत बने। चुनाव भने उनले पनि जित्न सकेनन्। पछि तत्कालीन एकीकृत नेकपा माओवादीमा प्रवेश गरे। तर, त्यहाँ पनि टिकेनन्। अन्ततः उनी नेकपा एमालेमा प्रवेश गरे। अहिले नेकपामा छन्।

हत्याको ३ वर्षपछि २०६३ सालमा यादवलाई शहीद घोषणा गरिएको थियो। तर, हालसम्म उनको हत्यारा पत्ता लाग्न लाग्न सकेका छैन। राज्यले हत्यारा पत्ता लगाउन असफल भएकोमा उनका छोरा डा. नवीन पटक पटक दुःख व्यक्त गर्छन्।

उनी भन्छन्, ‘बुवाको हत्यारालाई कारबाही गराएरै छाड्ने सपना देखेको थिए। तर, त्यो सपना पूरा हुन सकेनन्।’ उनले अझै पनि बुवाको हत्यारालाई कारबाही गर्ने दिनको पखाइमा रहेको बताउँछन्। 

२०३६ सालको जनमतसंग्रहको घोषणासँगै विद्यार्थी आन्दोलनबाट यादवले राजनीति सुरु गरेका थिए। २०४० सालमा उनी स्वर्गिय रामराजाप्रसाद सिंहको जनवादी मोर्चामा लागे। २०४० सालमै काठमाडौं र सिरहामा भएका बमकाण्डमा उनी मुछिए। २०४२ सालमा एक महिना १७ दिन थुनामा परेका थिए।

२०५२ साल जेष्ठ ४ गते नेकपा एमालेमा प्रवेशगरी कम्युनिष्ट राजनीतिको सुरुवात गरेका उनले २०५६ सालको आम निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिरहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

यस्तो थियो छानबिन प्रतिवेदन

यादवको हत्या भएपछि तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराइले आफ्नो पाटीको संलग्नता नरहेको दाबी गरेका थिए। लगत्तै संसदीय छानबिन समिति बन्यो। समितिका संयोजक सांसद आनन्द ढुङ्गानाको प्रतिवेदनमा राजनीति इच्छा पूर्तिको लागि हत्या भएको र संयत्रपूर्ण हत्याको जिम्मा तात्कालीन यूनिफाइड कमाण्डको मातहतमा रहेको शाही नेपाली सेनाले लिनुपर्छ भनेको थियो। 'सैनिक अधिकारीको संलग्नतामा हत्या भएको छ भने प्रष्ट देखियो' प्रतिवेदनमा उल्लेख गरिएको छ।

तत्कालीन माओवादीका केन्द्रीय समितिले सेनाका जल्लादहरूले गिरफ्तारगरी टाउकोमा गोली हानी यादबको हत्या गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले प्रेस वक्तव्य जारी गरेका थिए। नेपाल मानवअधिकार संगठनले हत्यामा सिरहाका इन्द्रध्वज गंणका कर्णेल बाबुकृष्ण कार्की संलग्न रहेको प्रतिवेदन दिएको थियो।

रक्षा मन्त्रालयले प्रहरी टोलीको निष्कर्षलाई नै नेपाली जंगी अड्डाले आधार बनाएको छ भने संसदीय छानबिन समितिले दिएको प्रतिवेदनमा बुँदा १३ मा घटनाको मुख्य केन्द्र बिन्दुमा चोहर्वा ब्यारेकलाई राखेको थियो र उक्त हत्यामा इन्द्रध्वज गणका कर्णेल बाबुकृष्ण कार्कीकै संलग्नता रहेको भनेका थिए।

हत्यारालाई कारबाही हुनुपर्छ : सांसद यादव

सिरहा क्षेत्र नम्बर ३ (ख)बाट निर्वाचित नेकपा प्रदेश सांसद प्रमोद यादवले हत्याको १६ वर्ष बित्दा पनि राज्यले हत्यारा अझै पत्ता लगाउन नसकेकोमा दुःख व्यक्त गरेका छन्। स्मृतिसभालाई सम्बोधन गर्दै उनले अहिले कम्युनिष्टको सरकार रहेकाले पनि हत्यारालाई सार्वजनिक गर्ने जिम्मेवारी लिनुपर्ने धारणा राखे।

‘हेमनारायण यादवले गरिब निमुखा जनताका लागि राजीनितिक गरिरहेको थिए’, उनले भने, ‘उनको सपना हामीले पूरा गर्नुपर्छ।’ शहीद हेमनारायणले देखेको समृद्धिको सपना सबैले मिलेर पूरा गर्न आवश्यकता रहेको समेत उनले बताए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.