यातायात नभएकै कारण ज्यान गुमाउने कहिलेसम्म?

|

काठमाडौं : ‘सुदूरपश्‍चिम र कर्णालीको अवस्था देखेर मन्त्रालयको मनै दुख्दैन’ सोमबार विकास तथा प्रविधि समितिको बैठकमा उपस्थित भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की लगायतका अधिकारीसँग बझाङकी सांसद आशाकुमारी विकले गुनासो गरिन् ‘गुगल हेरेर योजना पारिँदैनन्, भूगोल त टेक्दै टेकिँदैन, अनि कसरी हुन्छ सुदूरपश्‍चिम र कर्णालीको विकास।’

उनले केही दिन अगाडि बझाङमा सवारी यातायातको पहुँच नभएको कारण एकजनाको ज्यान गएको विषय कोट्याउँदै कहिलेसम्म यस्तो नियति भोग्‍नुपर्ने भन्दै प्रश्‍न तेर्साएकी हुन्। सदरमुकाम जोड्ने पुलसमेत लामो समयदेखि नबनेको आफूले पटक–पटक चासो दिँदा पनि सुनुवाइ नभएको उनको गनासो छ।

जिल्ला जाँदा कालोमोसो लगाइदिने डर

विकलाई सडक नभएकै कारण जिल्ला जाँदा कालोमोसो लगाइदिने हुन् कि भन्ने त्रास पनि छ। ‘सधैँ बजेट त शीर्ष नेताकोमा पो जान्छ, हामी त जिल्ला जान पनि डर छ, कालोमोसो लगाउने पर्ची बाँडिएको छ, विकासको केही काम भएको छैन, कालोमोसो खान के जिल्ला गई भयो र?’  विकले गुनासो गरिन्।

हुम्लाको पनि उही हालत

हुम्लाको प्रतिनिधित्व गर्ने कांग्रेस सासद रंगमती शाहीको पनि गुनासो यस्तै छ। सबै जिल्ला गाडी देखाउने नाममा हुम्लामा पनि केही महिना अगाडि गाडी छुवाइए पनि उपयोग नभएको र जनताले सास्ती व्‍यहोर्नुपरेको उनको भनाइ छ। उनले भनिन्, पुल पनि छैन बाटो पनि छैन, के गाडी हेलिकोप्टरबाट पुर्‍याउँदै हो।’

उनले हेलिकोप्टर चढ्ने क्षमता कर्णालीका बासिन्दा नभएको र सवारीसाधन नगएको अवस्थामा धेरैले अकालमा ज्यान गुमानुपरेको गुनासो गरिन्।

सुनुवाइ हुँदैन, कोसँग गुनासो गर्नू?

आफ्ना गुनासो राख्‍ने ठाउँ पनि नपाएको उनको भनाइ थियो। ‘धेरै माग गरियो, लेटर प्याडको प्रयोग गरेर मन्त्रालयमा पटकपटक पत्र पनि पठाए, सुनुवाइ भएन यस्ता बैठकमा मन्त्रीज्यू नै आउनु हुँदैन, कोसँग गुनासो गर्ने’ शाहीले भनिन्। उनले कर्णालीको विकासमा सरकारको ध्यान नगएको र त्यहाँका जनताले विकास थाहा पाउन नसकेको समेत बताएकी छन्।

प्रदेश-२ का सांसद लीलानाथ श्रेष्ठले पनि प्रदेश-२ मा विकासको कामले प्राथमकिता पाउन नसकेको गुनासो गरे। उनले पनि प्रदेश-२ मा विकास गर्न सरकारको चासोमा नपरेको गुनासो गरे। प्रदेश-२ मा राष्ट्रिय राजमार्गअन्तर्गत रहेका सडक आयोजनामा पनि एक रुपैयाँ पनि रकम नभएको भन्दै गुनासो गरे।

प्रदेश-२, कर्णाली र सुदूरपश्‍चिमका सांसदहरूले आफ्नो क्षेत्रलाई राज्यले प्राथमिकता नदिएको गुनासो गर्दा सडक विभागले भने सबैभन्दा बढी ध्यान सोही प्रदेशलाई दिएको दाबी गरेको छ।

‘कर्णाली र सुदूरपश्‍चिममा हाम्रो धेरै ध्यान गएको छ, अहिले पनि ठूलो बजेट छ’ सडक विभागका महानिर्देशक केशव शर्माले भने,
‘अलि पहिलेसम्म त कर्णाली र सुदूपरश्‍चिम गएको बजेटसमेत रकमान्तर गर्न पाइँदैनथ्यो।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले पनि यी क्षेत्रको विकासमा सरकार लागिपरेको दाबी गरे। उनले सांसद आशाकुमारी विकले भवनको पुल निर्माणमा विगतमा बलजफ्ती ठेक्का लगाउने काम भएको र लामो समय सडक नबनाइदिएको कारण पुल बन्न नसकेको प्रष्टीकरण दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.