क्यान महासचिव भन्छन्- अहिलेसम्म जानकारी छैन

|

काठमाडाैँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले पदबाट राजीनामा दिएका छन्। उनले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीलाई राजीनामा पत्र पठाएका छन्। नेपालमा हुन लागेको आसन्न त्रिकोणात्मक एकदिवसीय क्रिकेट श्रृंखलापछि लागू हुने गरी उनले राजीनामा दिएका हुन्।

क्यानका महासचिव अशोकनाथ प्याकुरेलले पटवालले राजीनामा दिएकोबारे सुनेको तर आधिकारिक जानकारी क्यानलाई नभएको बताए। ‘राजीनामा दिएको सुनेको छु। बोद्यार्थ क्यानलाई पठाएको सुनेको छु। तर कसलाई दिएको हो, उहाँको कुरा के हो? के कन्ट्रयाक्ट हो? हामीलाई केही जानकारी छैन। त्यसकारण यसमा कुनै प्रतिक्रिया छैन’ महासचिव प्याकुरेलले थाहाखबरसँग भने।

यद्यपि पटवालको राजीनामाले नेपाली क्रिकेट र त्रिकोणात्मक क्रिकेटमा कुनै असर नपर्ने प्याकुरेलको भनाई छ। आगामी बुधबारबाट नेपालले ओमान र अमेरीकासँग आफ्नै भूमिका त्रिकोणात्मक श्रृंखला खेल्दैछ। पटवालले त्रिकोणात्मक श्रृंखलाको मुखैमा राजीनामा दिएपछि नेपाली क्रिकेट क्षेत्रमा खैला-बैला मच्चिएको छ।

पटवालको प्रशिक्षणमा नेपाली क्रिकेटले खासै राम्रो उपलब्धि हासिल गर्न नसकेको टिप्पणी समेत भइरहेको छ। पटवालको प्रशिक्षणमा नेपालले खेलेको टि-ट्वेन्टी विश्वकप छनोटमा नेपालले राम्रो नतिजा हात पार्न सकेन भने नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा पनि सफलता प्राप्त गर्न सकेन।

क्यान निलम्बनमा रहेका बेला आइसिसी र राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा ८ महिनाअघि पटवाल नेपाली क्रिकेटका मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।पटवालले नेपाली प्रशिक्षकको रुपमा नियुक्त भएपछि आइसिसीबाट मासिक ७ हजार अमेरिकी डलर खाँदै आएका थिए। उनी एक वर्षका लागि नेपालको मुख्य प्रशिक्षक नियुक्त भएकोमा ८ महिनामै राजीनामा दिएका हुन्।

गतवर्ष जुन १० देखि सुरु भएको उनको कार्यकाल आगामी जुन १० मा सकिँदै थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.