|

जनकपुरधाम : प्रदेश २ मा लैङ्गिक विभेद कम गर्न र महिला हिंसा रोक्न एकैसाथ दुई अभियान शुरू गरेको छ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले यस अघिदेखि नै सञ्चालित ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानसँगै ‘सुरक्षित बेटी अभियान’ पनि शुरू गरेको हो।

मुख्यमन्त्री लालबाबु राउतले सोमबार जनकपुरमा ‘महिला हिंसा विरुद्ध शून्य सहनशीलता, सुरक्षित बेटी हाम्रो प्रतिबद्धता’ नारा दिएर सुरक्षित बेटी अभियानको  थालनी गरे। महिलामाथि हुने हिंसा सबै क्षेत्रबाट हटाउन ‘सुरक्षित बेटी अभियान’ अभियान शुभारम्भ गरिएको हो। 

यो अभियानअन्तर्गत अब हरेक विद्यालयमा अनिवार्य रुपमा प्रशिक्षण 'म्यानुअल' बनाएर छोरीहरुलाई आत्मरक्षा प्रशिक्षण दिइनेछ। प्रदेश २ का १३६ वटै स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी दीर्घकालीन रुपमा लैङ्गिक हिंसा विरुद्ध अभियान चलाउनले प्रदेश सरकारको योजना छ। यो अभियानले भयरहित वातावरण बन्ने विश्वास लिइएको छ।

समाजबाटै महिलालाई सुरक्षित बनाउन समाजको चेतनास्तर अभिवृद्धिका लागि समेत प्रवर्द्धनात्मक कार्यक्रम गरिने प्रदेश सरकारले जनाएको छ। ‘सुरक्षित बेटी अभियान’ अन्तर्गत सचेतनामुलक सन्देश उत्पादन तथा प्रसारण, 'मि टु अभियान', विद्यालय पाठ्क्रममा लैगिंक हिंसाका विषयहरु समावेश गर्ने, लैगिक हिंसा निवारण कोषको व्यवस्था गर्ने आन्तरिक मामिलf तथा कानून मन्त्रालयकी अधिकृत नीतु दुवेले जानकारी दिइन्‌।

उनका अनुसार यो अभियानअन्तर्गत जनचेतना मुलुक कार्यक्रमका साथै महिला हिंसा विरुद्धको ऐन कानुनबारे जानकारी, आवश्यक कानूनहरुको निर्माण तथा अपराधीलाई कडा भन्दा कडा सजायको व्यवस्था गरिनेछ।

७४.६ प्रतिशत महिला हिंसाबारे बोल्दैन

प्रदेश २ मा सबैभन्दा बढी घरेलु हिंसाको घटना घट्ने गरेको तथ्यांकले देखाएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेश २ मा हिंसाको शिकार भएकीमध्ये एकतिहाई महिला चुप लागेर बस्‍ने गर्छन्‌।

मन्त्रालयका उपसचिव टिकाराम ढकालले प्रदेश २ मा ६६ प्रतिशत महिला तथा किशोरी अन्यायमा पर्दा समेत चुप लागेर बस्ने गरेको जानकारी दिए। सरकारको तथ्यांक अनुसार अन्याय तथा विभेदमा परेका ८ प्रतिशत पीडितले मात्र प्रहरीको सहयोग लिने गरेको उनको भनाई छ।

यस्तै न्याय र अधिकारका लागि २५ प्रतिशत महिलाले संघसंस्था र १० प्रतिशत महिलाले मात्र कानुन व्यवसायीसँग सहयोग लिँदै आएका छन्। यो तथ्यांकले अन्य ६ प्रदेशभन्दा प्रदेश २ की महिला अत्यधिक हिंसाको शिकार भएको देखाएको छ।

सबैले ‘छोरी बलिया हुन्‌’ भन्नुपर्छ : मुख्यमन्त्री राउत

अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले घरबाटै छोरीलाई मजबुत बनाउनुपर्ने धारणा राखेका छन्। सामाजिक बनौट र पारिवारिक वातारणले छोरीलाई कमजोर बनाएको उल्लेख  गर्दै उनले भने, ‘छोरीलाई मजबुत बनाउन घरबाटै पहल हुनुपर्छ।’

उनले सामाजिक चिन्तनले समेत छोरीलाई कमजोर बनाउने हुनाले छोरी जन्मेदेखि परिवार र समाजले गर्ने व्यवहारमा परिवर्तन ल्याउन सक्नुपर्ने बताए। उनले भने, ‘छोरी कमजोर नभई बलिया हुन्‌ र जे पनि गर्न सक्दछन्‌ भन्नुपर्छ।’

अभियान कोषेढुङ्गा सावित हुन्छ : मन्त्री यादव

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले ‘सुरक्षित बेटी अभियान’ कोषेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन्। उनले अभियानले महिला-पुरुषबीचको विभेदको खाडल पुर्ने पनि बताए।

कानुन मन्त्रालयले धेरै गृहकार्य गरी यो अभियानको सुरुवात गरेको पनि मन्त्री यादवले बताए। उनले अबको १५ वर्षभित्र प्रदेशको सुरक्षा प्रमुख पनि महिला नै बन्‍ने उनले दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.