|

गुल्मी : गुल्मीमा खरका छाना विस्थापित गरी टिनका छाना लगाउने अभियान नै चलिरहेको छ। केहि स्थानीय तहले यो बर्ष नै खरका छानामुक्त स्थानीय तह घोषणा गर्दैछन्।

जिल्लाका १२ मध्ये केही स्थानीय तहले आर्थिक बर्ष २०७४/७५ मै खरका छाना विस्थापन कार्यक्रमको लागि बजेट विनियोजन गरेका थिए। यो बर्ष मात्रै जिल्लाका दुई नगरपालिकासहित सात स्थानीय तहले खरका छानामुक्त स्थानीय तह घोषणा गर्दैछन्। 

जिल्लाको इश्मा गाउँपालिकाका कुल लाभग्राही ५३८ मध्ये ५०२ परिवारले घर छाउने जस्तापाता पाएका छन्। खरको छानोमुक्त बनाउन गाउँपालिकाले अघिल्लो आर्थिक बर्षमा एक करोड रुपैयाँ विनियोजन गरेको थियो। सो बजेटबाट ३०५ परिवारको घर जस्तापाताले छाइएको छ। 

खरको छानो विस्थापित गर्नकै लागि गत आर्थिक बर्ष ०७५/७६ मा पनि गाउँपालिकाले ५० लाख र संघीय सरकारले १७ लाख ५० हजार रुपैयाँ गरी कुल ६७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेका थिए। यो बजेटबाट गाउँपालिकाभित्रका १९७ घरको छानो छाइएको छ। यो बर्ष बाँकि ३६ घरको खरका छाना विस्थापनको लागि गाउँपालिकाले १० लाख विनियोजन गरेको छ। यो सँगै यही आर्थिक बर्षमा इस्मा गाउँपालिका खरका छानामुक्त गाउँपालिका बन्ने गाउँपालिकाकाले जनाएको छ।

मालिका गाउँपालिमा कुल एक हजार ४७७ जना छन्। जसमध्ये एक हजार परिवारले खरका छाना विस्थापित गरी टिन लगाइसकेका छन्। भने बाँकि ४७७ परिवारले यो बर्ष टिन पाउँदैछन्। गाउँपालिकाको वडा नम्बर ६ अर्जै खरका छानामुक्त वडा घोषणा भइसकेको छ।

गाउँपालिकाले आर्थिक बर्ष ०७४/७५ मा विनियोजन गरेको एक करोड बजेटबाट चारसय घरलाई जस्ता वितरण गरेको थियो। त्यस्तै ०७५/७६ मा एक करोड ५० लाखबाट छ सय घरमा टिन पुर्‍र्याएको थियो। यो बर्ष एक करोड २५ लाख बजेटबाट बाँकि ४७७ घरमा टिन लगाएसँगै गाउँपालिका नै खरका छानामुक्त घोषणा हुने वडा नं ६ अर्जेका वडा अध्यक्ष शोभाखर गिरीले जानकारी दिए।

मुसिकोट नगरपालिकाले आ.व. ०७४/७५ मा ५० लाख बजेटबाट १७२ घर तथा ०७५/७६ मा एक करोड बजेटबाट २२४ घरको खरका छाना विस्थापित गरेको छ। कुल ९७४ मध्ये  नगरपालिकामा हालसम्म ३९६ परिवारमा टिन लगाइएको छ। यो बर्ष बाँकि ५७८ घरको लागि दुई करोड बजेट विनियोजन गरीएको र असार मसान्तसम्म नगरपालिकालाई खरका छानामुक्त घोषणा गर्ने कार्यक्रम रहेको कम्युटर अपरेटर समुद्र विक्रम रायमाझिले जानकारी दिए। 

धुर्कोट गाउँपालिकाको वडा नम्बर २ पिपलधारा खरका छानामुक्त वडा घोषणा भइसकेको छ। गाउँपालिकाले आ.व. ०७४/७५ मा एक करोड ५० लाख तथा ०७५/७६ मा १० लाख विनियोजन गरेको थियो। उक्त बजेटबाट हालसम्म ४३१ घरमा टिन लगाइएको छ। बाँकि रहेका ४० घरको लागि यो बर्ष १५ लाख विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बताए। 

रुरुक्षेत्र गाउँपालिकाका कुल २९४ लाभग्राहीमध्ये कुल ८३ परिवारले टिन लगाए। जसको लागि गाउँपालिकाले २४ लाख १६ हजार ९३ रुपैँया तथा संघिय सरकारले २० लाख विनियोजन गरेको थियो। बाँकि रहेका १७१ घरमा टिन लगाउनको लागि गाउँपालिका र प्रदेश सरकारबाट २५/२५ गरी ५० लाख विनियोजन भएको प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीले जानकारी दिए।

मदाने गाउँपालिका पनि यसै आर्थिक बर्षमा खरका छानामुक्त गाउँपालिका घोषणा हुँदैछ। कुल लाभग्राही ५८३ रहेको मदानेमा हालसम्म ४८३ परिवारले टिन लगाए। गाउँपालिकाले खरका छाना विस्थापनको लागि आ.व. ०७४/७५ मा एक करोड तथा ०७५/७६ मा दुई करोड विनियोजन गरेको थियो। बाँकि सय घरमा यो बर्ष टिन पुर्‍र्याइने प्रमुख प्रशासकीय अधिकृत शुरेश भण्डारीले जानकारी दिए।

रेसुगां नगरपालिकाले आ.व. ०७४/७५ मा ३० लाख तथा ०७५/७६ मा ४२ लाख विनियोजन गर्‍यो। उक्त बजेटबाट कुल लाभग्राही ६५० मध्ये ४८० परिवारले टिन पाए। बाँकि १७० परिवारलाई यो बर्ष विनियोजित ५० लाखले टिन पुर्‍र्याइने सूचना अधिकारी शंकर प्रसाद गौतमले जानकारी दिए।

गुल्मीदरबार गाउँपालिकाले आ.व. ०७४/७५ मा २० लाख तथा ७५/७६ मा २६ लाख विनियोजन गरी कुल लाभग्राही ४६६ घरमध्ये १८२ घरमा टिनका छाना लगाइसकेको छ। बाँकी २८४ घरको लागि भने यो बर्ष बजेट नभएको सूचना अधिकारी नवराज घिमिरेले बताए। चन्द्रकोट गाउँपालिकामा कुल एक हजार ६१ लाभग्राहीमध्ये ३२९ परिवारले खरका छाना विस्थापन गरी टिनका छाना लगाएका छन्। यो बर्ष पनि गाउँपालिकाले टिन खरिदको लागि ५० लाख विनियोजन गरेको प्रमुख प्रशासकिय अधिृकत कृष्ण प्रसाद भण्डारीले जानकारी दिए।

सत्यवती गाउँपालिकामा चालु आर्थिक बर्षबाट खरका छाना विस्थापन अभियान सुरु गरिएको छ। जसअनुसार यो आ.व. मा एक करोड बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए। गाउँपालिकामा कुल ८५० लाभग्राही छन्। आफूहरुको कार्यकालभित्रै सबै घरमा टिनका छाना पुर्‍याउने गाउँपालिकाका अध्यक्ष ढकालले बताए।

कालिगण्डकी गाउँपालिकाले खरका छाना विस्थापन अभियानमा बजेट विनियोजन गरेको छैन। गत बर्ष प्रदेश सरकारको ३० लाख अनुदानमा ५० परिवारले टिन लगाएपनि गाउँपालिकाले बजेट विनियोजन गरेको छैन। छत्रकोट गाउँपालिकाले पनि २३१ परिवारमा टिनका छाना पुर्‍याएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.