डेस्क प्रमुख भन्छन् : शंका नलागेकालाई छाड्यौँ

|
फाइल फोटो

काठमाडौं : चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसका कारण विश्वभर स्वास्थ्य आपतकालीन घोषणा गरिएको छ। त्यही वुहान प्रान्तबाट सोमबार बिहान ३ बजे चितवनका रामवीर केसी (नाम परिवर्तन) काठमाडौँ उत्रिए। 

चीनको विमानस्थलमा जहाज चढ्नुअघि विमानस्थलमै उनको स्वास्थ्य जाँच भएको थियो। त्यतिबेला उनमा सामान्य ज्वरो आएको बताइएको थियो। ‘मलाई अघिल्लो दिन त बेस्सरी नै ज्वरो आएको थियो,’ उनले भने, ‘उतै अस्पतालमा जचाएँ। औषधि खाएँ। अनि निको भएको हो।’ 

चीनबाट आएका कसैको स्वास्थ्य जाँचिएन

केसीले काठमाडौं आउनुअघि चीनबाट आएकाहरू आइसोलेसनमा १४ दिनसम्म छुट्टै बस्नुपर्छ भन्ने सुनेका थिए। तर, उनले सुनेजस्तो न कुनै चेकजाँच भयो, न चीनबाट आएकाहरूलाई १४ दिन आइसोलेसनमा जान पर्‍यो। ‘स्वास्थ्य जाँच गर्नु त परको कुरा,’ उनले भने, ‘कहाँको आइसोलेसनमा जानु?’  उनका अनुसार सोमबार चीनबाट आएकाहरू कसैको पनि स्वास्थ्य जाँच गरिएन।  

केसीका अनुसार उता चीनमा भने यस्तो छैन। ‘चीनले सरकारको तर्फबाट गर्नुपर्ने सबै तयारी गरेको छ,’ उनले चीन सरकार स्वास्थ्य मन्त्रालयले गरेको कामबारे जानकारी दिँदै भने, ‘चीनले आफ्नो देशका नागरिक र अरू देशका नागरिकलाई स्वास्थ्यको हिसाबले कुनै पनि सेवा दिन कञ्जुस गरेको छैन। यता, हाम्रोमा त तयारी नै देखिएन।’ उनले चीनले तयारी गर्दा गर्दै मानिसहरू मरेको र नेपाल सरकारले कुनै तयारी नगरेको भन्दै चिन्ता व्यक्त गरे।  

स्वास्थ्य मन्त्रालयले विमानस्थलमा विदेशबाट आएकाहरूको स्वास्थ्य परीक्षण गर्न भनेर विशेष हेल्थ डेस्‍क सञ्चालनमा ल्याएको हो। कोरोना भाइरसको संक्रमणको कारण अहिलेसम्म ४२५ जनाको ज्यान गइसकेको छ। विमानस्थलमा चेकजाँच गर्दा कोरोना भाइरसको शंका लागेमा उनीहरूलाई टेकु अस्पताल पठाउने भनेर डेस्‍क स्थापना भएको हो।

शंका नभएर जाँच गरेनौँ 

विमानस्थलका हेल्थ डेस्‍क प्रमुख गोपाल पाण्डे भने सोमबार आएका यात्रुहरूमा कोरोना भाइरसको शंका नभएर रोकेर चेकजाँच नगरेको बताउँछन्। ‘शंकास्पद नलागेसम्म चेकजाँच लग्दैनौँ,’ उनले भने, ‘आउने कसैले पनि मेरो स्वास्थ्य परीक्षण भइरहेको छ भनेर थाहै पाउँदैन। हामीले फर्मल स्क्यानरबाट हेर्दा ज्वरो आएको र अन्य समस्या देखिए रोकेर सोधखोज गर्ने अनि टेकु अस्पताल रिफर गर्ने हो।’

डेस्कमै थिएनन् स्वास्थ्यकर्मी

तर, सोमबार हेल्थ डेस्‍कमा कोही स्वास्थ्यकर्मी नभएको यात्रुहरू बताउँछन्। सोमबार पाण्डेले डेस्‍कको जिम्मा शिवशंकर महतोलाई दिएका थिए। १२ बजे रातिदेखि त्यहाँ आएका यात्रुहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्यकर्मीको नेतृत्व शिवशंकरले पाए। विमानस्थलमा सोमबार बिहान सात बजे मात्रै स्वास्थ्यकर्मीहरू पुगेको विमानस्थल स्रोतले थाहाखबरलाई जानकारी दियो।

‘आइतबार राति १२ बजेसम्म पाण्डे सर नै हुनुहुन्थ्यो,’ विमानस्थल स्रोतले भन्यो, ‘त्यसपछि कोही देखिएन। एकैचोटि भोलिपल्ट बिहान ७ बजे महतो सरहरूलाई देखियो।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.