खानेपानी समस्या ज्यूँका त्यूँ

|

गोरखा : गत साउन १७ गते दरौंदी बृहत् पम्पिङ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बद्री मास्केले गोरखा सदरमुकामको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा भनेका  थिए, ‘म्यादभन्दा अघि नै आयोजना सम्पन्न हुने भएको छ। अब केही प्राविधिक काम मात्र बाँकी छन्। आउँदो दशैंसम्ममा दरौंदी लिफ्टिङको पानी उपभोक्ताको घरघरमा पुग्छ।’

अधिकांश कामचोर ठेकेदारले समयमै निर्माण कार्य सम्पन्न नगरेको खबर सुन्दासुन्दै वाक्क भएका उपभोक्ता म्यादभन्दा अघि नै आयोजना सम्पन्न हुने खबर सुनेर खुब हौसिए। पानीको अभावबाट आजित गोरखाबजारवासीलाई दशैँदेखि नै पानीको समस्या हट्ने कुराले ठूलै राहत दिएको थियो।

खानेपानी समस्या ज्यूँका त्यूँ

तर, दशैँ सकिएको पनि चार महिना बितिसक्यो, दरौंदी लिफ्टिङको पानीको काम सम्पन्न हुने छाँटकाँट छैन। गोरखाबजारबासीको खानेपानीको सास्ती ‘ज्यूँका त्यूँ’ छ।

‘२०७६ को दशैँसम्म उपभोक्ताको घरघरमा खानेपानी पुर्‍याउँछु भनेर अध्यक्षज्यूले भनेको कुरा पत्रिकामा पढ्दा खुब खुसी लागेको थियो,’ गोरखा नगरपालिका–६ का रामहरि श्रेष्ठले भने, ‘तर, दशैँ सकिएको पनि यत्तिका महिना बितिसक्यो खै कुन उपभोक्ताको घरमा आइपुग्यो दरौँदी लिफ्टिङको पानी? उपभोक्तालाई झुटो आश्वासन दिन पाइन्छ?’

अवरोधको वहानाबाजी

२०७६ को दशैँसम्म उपभोक्ताको घरघरमा दरौँदी लिफ्टिङको खानेपानी पुग्छ भनेर संस्थाका अध्यक्ष मास्केले भनेजस्तो नभएपछि गत असोज २९ गते मास्केको अभिव्‍यक्तिलाई सच्याउँदै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय लमजुङका कार्यालय प्रमुख रामचन्द्र काफ्लेले गोरखाकै एक कार्यक्रममा भनेका थिए, ‘काम गर्दा दुई/चार ठाउँमा स्थानीयबासीबाट नै अवरोध भयो।

त्यसैले दशैँसम्म उपभोक्ताको घरघरमा खानेपानी पुर्‍याउन सकेनौँ। उपभोक्ता समिति, जनप्रतिधि सबैको सहयोगमा अहिले अबरोध हटेर काम भैरहेको छ। अबको एक महिनामा दरौंदी लिफ्टिङको पानी उपभोक्ताको घरघरमा  पुग्छ।’

भर्खरै ९४ प्रतिशत काम

समितिका अध्यक्ष मास्केले दिएका अभिव्यक्ति पूरा नभएपछि कार्यालय प्रमुख काफ्लेले दिएको अभिव्‍यक्तिअनुसार गत कात्तिक महिनाभित्रै दरौँदी लिफ्टिङको खानेपानी उपभोक्ताको घरघरमा पुगिसक्नुपर्ने थियो।

उपभोक्ता समिति र आयोजना कार्यालयले समय सीमा तोके पनि उपभोक्ताको घरमा पानी झरेन। पाँच महिनाअघि नै उपभोक्ताको घरघरमा खानेपानी पु‍र्‍याउने दाबी गरेका समितिका अध्यक्ष र आयोजनाका प्रमुख अहिले भर्खरै ९४ प्रतिशत काम सम्पन्न भएको बताउँछन्।

‘आयोजनाको काम ९४ प्रतिशत सम्पन्न भइसकेको छ। गोनपा ५ अन्तर्गत गर्ने कर्णेखोला खानेपानी आयोजना समितिले विद्युत् लाइन जोड्न अवरुद्ध गरेकाले काम हुन सकेको छैन,’ आयोजना कार्यालय प्रमुख काफ्लेले भने, ‘त्यसैले हामीले भनेकै समयमा खानेपानी वितरण गर्न सकेका छैनौँ। त्यहाँ सहमति भएर विद्युत् जोड्न पायौँ भने छिट्टै उपभोक्ताको घरघरमा पानी पुग्छ।’ 

सहमतिका लागि पटक-पटक छलफल

कर्णेखोला खानेपानी आयोजनाले गरेको विवाद मिलाउन पटकपटक मिटिङ बसे पनि समाधान हुन नसकेको दरौंदी बृहत् पम्पिङ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मास्केले जानकारी दिए।

‘त्यहाँको विवाद मिलाउन हामीले तीन/चारपटक आयोजना, विद्युत् कार्यालय, हाम्रो समिति र उपभोक्ता समिति बसेर छलफल गरिसक्यौँ,’ मास्केले भने, ‘तर कर्णेखोला उपभोक्ता समितिबाट सहमति भएको छैन। हामी अझै छलफल गरिरहेका छौँ।’

दरौंदी बृहत् पम्पिङ खानेपानी आयोजनाले समन्वय नै नगरी विद्युत् लाइन जोड्न खोजेकाले विरोध गरेको कर्णेखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष शुक्रराज पन्तको भनाइ छ।

‘हाम्रो खानेपानी आयोजना विस्तारका लागि जोडेको पोलमा हामीसँग कुनै सल्लाह नै नगरी दरौँदी लिफ्टिङ खानेपानी आयोजनाले आफ्नो तार जोड्न खोजेको थियो’, पन्तले भने, ‘त्यसैले हामीले अवरोध गरेका हौँ।’

२०७४ असार २७ गते ३ वर्षभित्रै काम सम्पन्न गर्ने भन्दै कुल ३७ करोड ३७ लाख रुपैँया लागतमा तुदी, रमन जेभी कन्ट्रक्सनले निर्माणको जिम्मा लिएको  थियो। उक्त खानेपानी आयोजनाको पानी गोरखा नगरपालिकाको वडा नम्बर ३ देखि ९ सम्मका उपभोक्ताले उपभोग गर्न गर्नेछन्।

आयोजना निर्माण सम्पन्न भएपछि बजारका करिब तीन हजार एक सय २१ घरधुरीका २१ हजार ८०० जनसंख्‍या लाभान्वित हुनेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.