|

पाल्पा : जिल्लाको सदरमुकाम तानसेन बजार पुरानै स्वरुपमा सजिन थालेको छ। मुलुकमा सबैभन्दा पुरानो नगरपालिकाको रुपमा परिचित तानसेन नगरपालिकाको मुख्य बजारलाई पुरानै स्वरुपमा सजाउन थालिएको हो।

तानसेन बजार भित्रका विभिन्न सडकहरुमा ढुङ्गा छापेर यहाँ पर्यटकलाई थप आकर्षित गर्ने तानसेन नगरपालिकाको योजना छ। अहिले सडकमा ढुङ्गा छाप्ने कामलाई तीव्रता दिइएको छ। झण्डै एक दशक अघिसम्म तासेनका अधिकांश सडकहरुमा ढुङ्गा नै विछ्याइएको थियो। जुनबेला तानसेन पुरातत्विक सम्पदाको रुपमा नै परिचित थियो। ढुङ्गाले छापिएका सडक र पुरानाशैलीका घर, मठमन्दिरका कारण यहाँको ऐतिहासिक महत्व रहेको थियो। 

पछिल्लो समयमा आधुनिक विकासक्रमसँगै ढुङ्गा निकालेर कालोपत्रे सडकका रुपमा स्तरोन्नती गरियो। अहिले त्यहि कालोपत्रे सडक भत्काएर धमाधम ढुङ्गा छाप्न थालिएको छ।  जसले गर्दा तानसेन बजार पुरानो तानसेनकै रुपमा देखिन थालेको छ। आधुनिक विकाससँगै पक्की घर र पक्की सडकले तानसेनमा ऐतिहासिक सौन्दर्य गुमेको थियो। जसले गर्दा यहाँ कम पर्यटक आउँथे।


तानसेनका सडकमा ढुङ्गा बिछ्याउने काम हुँदै ।

पहिलेकै अवस्थाको स्वरुपमा तानसेनलाई देखाउन सके पर्यटकको संख्या बढ्नेमा तानसेन नगरपालिकाको अनुमान छ। त्यहि अनुसार तानसेनको मुख्य बजारको सडकमा ढुङ्गा छाप्ने काम थालिएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए। तानसेनस्थित भगवती मन्दिरदेखि मखनटोल हुँदै सिल्खानटोलमा रहेको एनआइसी बैंक अगाडिसम्म पहिलो चरणमा ढुङ्गा छाप्ने काम हुने छ।

उनका अनुसार कालोपत्रे सडक भत्काएर ढुङ्गा सोलिंग सहित प्लाष्टरगरी त्यसमाथी मार्वलजस्तै ढुङ्गा बिछ्याइने छ। फागुन महिनाभित्रमा तोकिएको सडकमा ढुङ्गा छाप्ने काम सकिने उनले बताए। ऐतिहासिक पर्यटकीय महत्व बोकेको तानसेन बजारलाई पुरानो स्वरुपमा बदल्न सके पर्यटकको संख्यामा वृद्धि हुने प्रमुख शाहीको दावी छ।

मुख्य बजारको रुपमा रहेको मखनटोलको तेर्सो सडक साँघुको हुँदा यहाँको व्यापार समेत राम्रोसँग चलेको थिएन्। कालोपत्रे सडक भत्काएर ढुङ्गा विछ्याउँदा सडक फराकिलो भएको र जसले गर्दा पर्यटकलाई आवतजावतमा समेत सहज हुने स्थानीय व्यापारी रफी मियाँले बताए।

यसरी छापिएको ढुङ्गाले यहाँ पर्यटकीय सौन्दर्यता पनि बढेको उनले बताए। ‘पुरानो शैलीमा ढुङ्गाले छापिएको सडकमा आन्तरिक तथा वाह्य पर्यटकको समेत आकर्षण बढ्छ’ उनले भने ‘विगतको तुलनामा यहाँको व्यापारमा समेत वृद्धि हुन्छ।’ 

वन्दीपुरको झलक यहिँ देखिने भएकोले पर्यटकको संख्यामा समेत वृद्धि हुने अर्का स्थानीय नारायण खड्काले बताए। ढुङ्गा छापिएको सडकमा सवारी संचालनमा रोक लगाएर पैदल हिड्ने व्यवस्था मिलाउन सके अझै बढी पर्यटक आकर्षित हुने उनले बताए। 

ढुङ्गा छाप्ने कामका लागि सिएम शिवालय जेभि बानेश्वरले १ करोड ८३ लाख ११ हजार ४ सय ५५ रुपैयाँमा ठेक्का लिएको छ। ठेक्कामा भएको सम्झौता अनुसार सडकमा ५ सय ८९ घन मिटर ढुङ्गा सोलिंग, ९२ घनमिटर पिसिसि र ३ हजार ८ सय ८० वर्ग मिटर सडकमा ढुङ्गा छाप्ने काम गर्नुपर्ने छ। जुन काम फागुन मसान्तसम्म सकिने सम्झौतमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.