|
फाइल फाेटाे

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि नेपाली कांग्रेसले देउवा निवासमा बोलाएको पदाधिकारी बैठकमा वरिष्ठ कानुन व्यवसायीहरु पनि पुगेका छन्‌। 

गच्छदारमाथि मुद्दा दायर भएपछि राजनीतिक रुपमा कसरी प्रस्तुत हुने विषयमा छलफल गर्न देउवाले पदाधिकारीसँगै अधिवक्ताहरुलाई बैठकमा बोलाएका हुन्। काठमाडौँको बालुवाटारस्थित ललिता निवासको जग्गा किनबेचमा संलग्न भएको आरोपमा गच्छदारसहितका नेता तथा कर्मचारीहरुलाई अख्तियारले मुद्दा दायर गरेको छ।अख्तियारले भूमिसुधार गच्छदारविरुद्ध मन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा पेश गरेको निर्णयले सरकारी जग्गा व्यक्तिको भएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले गच्छदारविरुद्ध ९ करोड ६५ लाख भ्रष्टाचार गरेको दाबी गरेको छ। कांग्रेस नेताहरुले यही जग्गा किनबेच प्रकरणमा मुछिएका नेकपाका नेता तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल र विष्णु पौडेललाई उन्मुत्ति दिइएको भन्दै विरोध जनाएका छन्।

‘वकिलहरुसँग अख्तियारले मुद्दा दर्ता गरेपछि कानुनी रुपमा कसरी प्रस्तुत हुने भनेर छलफल भएको छ,’ कांग्रेसका एक शीर्ष नेताले भने, ‘छलफलमा जग्गा प्रकरणको प्रस्ताव लैजाने मुख्य सचिवलाई उन्मुक्ति दिने, प्रस्ताव सदर गर्ने प्रधानमन्त्रीलाई केही नगर्ने तर, विभागीय मन्त्रीदाई मात्रै किन मुद्दा भन्नेबारे छलफल भएको छ। वकिलहरुले राजनीतिक मुद्दा भएकोले पार्टीले कुनै धारणा बनाउन सुझाब दिएका छन्‌। वकिलहरुले कानुनी कुराको चिन्ता लिन छोडेर राजनीतिक कुरा स्पष्ट हुन सुझाब दिएका छन्।’

अख्तियारले नेकपाका महासचिव विष्णु पौडेलका छोरा र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले जग्गा फिर्ता गर्ने सहमती गरेकोले उनीहरु विरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि कांग्रेसले असन्तुष्टि जनाउँदै आएको छ।

सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति गच्छदार, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँण, मिनेन्द्र रिजाल, पुष्पा भुषाल र ज्ञानेन्द्रबहादुर कार्की सहभागी भएको छलफलमा सातजना अधिवक्ताहरु सहभागी रहेको स्रोतले बतायो।

वकिलहरू शेरबहादुर केसी, प्रेमबहादुर खड्का, गोपालकृष्ण घिमिरे, सीताराम केसी, योगेन्द्र अधिकारी, एकराज पोखरेल र लीलामणि पौडेल सहभागी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.