|

काठमाडौं : चीनबाट सुरु भएको संक्रमित कोरोना भाइरसको प्रभाव नेपाली पर्यटन बजारमा परेको छ। यो समयमा चिनियाँ नागरिक बिदा मनाउनका लागि विभिन्न देशलगायत नेपाल आउने गरेका थिए। चिनियाँ नागरिकले अंग्रेजी महिना जनवरी र फेब्रुअरीमा नयाँ वर्षको लामो बिदा पाउने गर्छन्।

नेपाल सरकारले पर्यटन वर्ष २०२० को सुरुवात गरिसकेको छ। यसबेला मुलुकभर पर्यटकको भिड हुनुपर्ने थियो तर, पर्यटकीय बजार खाली रहेको छ। काठमाडौं आएपछि विदेशी पर्यटक ठमेल पुगेकै हुन्छन्। तर, कोरोना भाइरसको कारण पर्यटकीय क्षेत्र ठमेलमा होटल, व्यापार तथा अन्य क्षेत्रमा आंशिक प्रभाव परेको छ।

चीनबाट सुरु भएको कोरोना भाइरसको कारण ठमेल सुनसान भएको अर्गानीक चिया पसलका सञ्चालक सुदर्शन खनाल बताउँछन्। उनले भने, 'मेरो पसलका सबै चिनियाँ नागरिक ग्राहक हुन्। यहाँ कोही पनि खरिद गर्न आएका छैनन्। यहाँको सबै चिया चीनमा निर्यात हुन्छ। कुनै पनि चिनियाँ नागरिक खरिद गर्न आएका छैनन्।'

चिनियाँ नागरिक मात्र नभएर अन्य मुलुकका पनि नागरिक यहाँ कम देखिन थालेको उनले थाहाखबरलाई बताए। ठमेल लगभग प्राय: सुनसान भइसकेको उनले सुनाए। देखिएका भारतीय पर्यटक र अंग्रेजी नयाँ वर्षअगाडि आएका पर्यटक रहेको खनालले जानकारी दिए।

कोरोना भाइरसको त्रासपछि नयाँ पर्यटक र पाहुना नथपिएको ठमेलमै रहेको होटल विक्रमशिलाका एक कर्मचारीले बताए। उनका अनुसार नयाँ थपिएको छैन। पुराना पर्यटक मात्र बसेका छन्। 'चिनियाँ पर्यटक सबैभन्दा कम बसेका छन्,'उनले भने। गत वर्ष अंग्रेजी नयाँ वर्ष पछाडि होटलको कुनै पनि कोठा खाली नभएको उनले जानकारी दिए। यसपालि त्यस्तो अवस्था नरहेको उनको भनाइ छ।

चिनियाँ नागरिक मार्कसको पनि उस्तै अनुभव छ, उनी पोखरा र ठमेलमा व्यापार गर्छन्। 'कोरोना भाइरसको त्रासपछि ठमेल र पोखरामा पर्यटकको उपस्थिति शून्य भएको छ,' उनले भने।

'नेपाल आउन लागेको धेरै चिनियाँ नागरिकले फ्लाइट रद्द गरेर बसिसकेका छन्,' उनले भने,'नेपालमा रहेका चिनियाँ नागरिकहरू कोरोना भाइरस फैलनुभन्दा अगाडि आइसककेका थिए।'

अहिले केही चिनियाँ नागरिक पनि भारतबाट आएका हुन्। 'नयाँ वर्ष भारतमा मनाएर नेपाल आएका हुन्,' उनले भने। नेपालमा यसरी बढी बस्ने हो चिनियाँ नागरिकहरू खर्चविहीन हुनसक्ने उनको भनाइ छ।

कोरोना भाइरसले ठमेलमा केही प्रभाव पारेको ठमेल पर्यटन विकास परिषदका उपाध्यक्ष राजुमान डंगोलले बताए। उनका अनुसार यो महिना अफ सिजन हो। पर्यटकको चाप हुँदैन।

दुई चार वर्षयता चिनियाँ नागरिकको चाप बढेको बउनले बताए। 'चिनियाँ नागरिक नयाँ वर्ष मनाउन चीन गएका नेपाल आएका छैनन्। चिनियाँ नागरिकले होटल सञ्चालन गरेर बसेका छन्,' उनले भने। चिनियाँ नागरिकले सञ्चालन गरेको केही होटल खाली रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.