उत्खनन बन्द गर्ने निर्देशनपछि नगर प्रमुख यादवले गरेका थिए सम्झौता

|

जनकपुरधाम : धनुषाको गणेशमान चारनाथ नगरपालिकाका प्रमुख रामबाबु यादव आफ्नै कारण संकटमा परेका छन्। कमला नदीबाट बालुवा, गिट्टी तथा ग्राभेल उठाउन ठेक्का लगाएपछि प्रशासनले रोकेपछि प्रमुख यादव संकटमा परेका हुन्।

गत पुस २५ गते औरही नदीमा भइरहेको अवैध उत्खननको विरोध गर्दा मिथिला नगरपालिका-५ श्रीपुरका दिलीप महतोको क्रसर माफियाले हत्या गरे। त्यसपछि प्रशासनले प्रदेश-२ का सबै नदीको बालुवा, गिट्टी तथा ग्राभेल उत्खनन् पूर्णरूपमा बन्द गरायो।

तर, गणेशमान चारनाथ नगरपालिकाले कमला नदीबाट बालुवा, गिट्टी तथा ग्रोभेल उठाउन माघ १५ गते ६० लाखमा ठेक्का लगाए। मिथिला कन्ट्रक्सन धनुषाले ठेक्का पायो। ठेकेदारले तीन दिन सम्झौताबमोजिम नदीबाट बालुवा, गिट्टी तथा ग्रोभेल उठाए पनि।

चौथो दिन माघ १९ गते साँझ इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरीको टोलीले नदीबाट उठाएर सिरहाको कर्जन्हा नगरपालिका-१ मा स्टोर गरेको बालुवा, गिट्टी ढुवानी गर्ने क्रममा चार टिपर र एउटा एस्काभेटर नियन्त्रणमा लियो। चालकसहित नियन्त्रणमा लिएर टिपर र एस्काभेटर प्रहरीले आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति धनुषामा बुझाएको छ।

जिल्ला समन्वय समितिले चारै सवारीका चालकलाई छाडेको छ। तर, नियन्त्रणमा लिइएको ना.२ क. २८४, ना.२ क. २७८, भे.१ ख. २९३९ र बा.३ ख. ७६०० नम्बरको टिपर तथा बा.२ क २९८७ नम्बरको एस्काभेटर छाड्न मानेका छैन ।

गाडी नछाडेको र गिट्टी, बालुवा तथा ग्राभेलसमेत उठाउन नदिएपछि ठेकेदार आक्रोसित बनेका छन्। ठेकेदारले बिहीबार गणेशमान चारनाथ नगरपालिकामा तालाबन्दीसमेत गरे।

दर्जन बढी समर्थकको सहयोगमा ठेकेदारले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्। बालुवा, गिट्टी तथा ग्राभेल उठाउन ठेक्का लगाएर उठाउन नदिएको र गाडीसमेत नियन्त्रणमा लिएपछि नगरपालिकामा तालाबन्दी गरेको ठेकेदार अजय यादवले बताए।

‘माघ १५ मा ठेक्का सम्झौता भएको चारदिन नबित्दै प्रहरीले गाडी समात्यो’, उनले भने, ‘ठेक्का ६० लाखमा लिएका छौँ। तर, बालुवा, गिट्टी उठाउन नदिएपछि रकम फिर्ता गर्नुपर्‍यो नि! रकम फिर्ता गर्न चासो नदेखाएपछि बाध्य भएर नगरपालिकामा ताला लगाएका छौँ।’

सम्झौताबमोजिम नै बेल्चाले नदीबाट ट्याक्टरमा गिट्टी बालुवा उठाएको तर केही नदी उत्खनन गरेपछि टिपर र एक्साभेटर प्रहरीले नियन्त्रणमा लिएको भनेर अपवाह फैलाएको ठेकेदार यादवको आरोप छ। नदीबाट बेल्चाले उठाई ट्याक्टरमा राखेर बालुवा स्टोर गर्ने गरेको र स्टोरबाट एक्साभेटरले टिपरमा राखेर अन्यत्र लगिने गरेको उनको भनाइ छ।

‘सम्झौताअनुसार काम गरिरहेका छैनौँ भने अनुगमन गर्दा हुन्छ नि! तर, अनुगमन पनि नगर्ने र गलत अपवाह फैलाउने?' उनले भने 'नगर प्रमुख यादबलाई पनि पटक पटक अनुगमन गर्न आग्रह गरेको तर वास्ता गरेका छैन।'

यता, नगरपालिकामा तालाबन्दी गरेपछि बिहीबार दिनभर कार्यालयको कामकाज प्रभावित बन्यो। काम गराउन पुगेका सयौँ सेवाग्राही घण्टौँ बसेर घर फर्केका छन्। तर, नगर प्रमुख यादवको अतोपत्तो छैन । उनलाई यसबारे प्रतिक्रिया लिन फोन गर्दासमेत उठेन।

दिलीपको हत्यापछि प्रदेश सरकारले नदीनाला उत्खनन पूर्णरूपमा बन्द गराउन आठै जिल्लाका प्रहरी प्रशासनलाई कडा निर्देशन दिएको छ। निर्देशनपछि सम्बन्धित ठाउँका प्रहरीले खोला उत्खनन् र क्रसर बन्द गराइका छन्। तर, निर्देशनलाई वेवास्ता गर्दै नगर प्रमुख यादवले नदीबाट बालुवा, गिट्टी तथा ग्राभेल उठाउन ठेक्का लगाएर गल्ती गरेको स्थानीयको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.