|

काठमाडौं :  भात खाने लतले राम्रैगरी गाँजेपछि मैले जागिर खान थालेँ। अहिले भात र जागिर दुवै कुराको अम्मल छ।

आजकाल जागिरको दौडमा अमिलो पसिनाले गुम्स्याउँछ। पसिनालाई संसारकै महँगो अत्तर ठान्ने म यो बगिरहेको पसिना र अलमलिंदै बगिरहेको बागमतीमा खासै फरक देख्न छाडेको छु।

महिनाभरि रगतलाई श्रममा पोतेर म आफ्नो अनुहार नियाल्ने गर्छु जिन्दगीको फ्रेममा। त्यहाँ आफ्नै चित्र सधैँजसो केही अपूर्ण देख्छु। कि त चोसो नमिलेको चित्र बन्छ। कि त छिटा रङले कतै न कतै फोहोर पारेको हुन्छ। त्यो एक थोप्लो छिटालाई ‘सेक्सी कोठी’ भनेर मक्ख पर्न पनि सक्दिनँ। खुसी हुने नाममा ‘फेसन शो’ कहाँ हो  र जिन्दगी!

सबैले खान्छन् जागिर। जागिर नरुच्ने र नपच्नेले आफ्नै उद्यम र व्यवसाय थालेर मालिक बन्छन्। आफ्नै उद्यम थाल्ने जुक्ति र शक्ति नहुँदा मैले पनि धेरैले जस्तो जागिर नै खाएँ। अखाद्य फल पनि थिएन यो, नखाएर बस्नलाई। यस्सै सुरक्षित हुनलाई भविष्य कतै र कसैबाट ‘स्पोन्सर्ड’ थिएन पनि। लगानी र सम्पत्तिको नाममा भएको एउटा ज्यानलाई पसले बनाएँ र थालेँ जागिरको मादक पसल।

जागिर खान थालेयता धेरै परिवर्तन भएँ। उसो त जागिर नखाए पनि परिवर्तनको सांसारिक नियमले ननिमोठी कहाँ छाड्थ्यो र ? बुवाले सानोमा निमोठेको कान अलिक छिप्पिएको छ, तर यो छिप्याइले पनि समयको बोली सुन्न खासै सक्दिनँ । धेरै कुरा भुल्न थालेको छु जागिर खाएयता। जागिर खाइरहँदा भात र खाजा समेत भुल्न पुग्छु।

जागिरले हो कि खै के कारण हो, बुवाले सानोमा सातो लिएको र हरदम गाली खाएको कुरा समेत भुलिसकेँ। मलाई सोझ्याउन बुवाले भाँच्ने बाङ्गो सिर्कना पनि भुलिसकेँ। कैलेकाहीँ आफैंलाई पनि भुल्दो रै’छु। त्यस्तो बेला विपश्यना ध्यानमा गुरु सत्यनारायण गोयन्काको धोद्रो स्वर ‘सास पर ध्यान दो!’ हठात् सम्झिन पुग्छु। तब मात्रै पो संसारमा आफ्नो अस्तित्व बोध हुन्छ।

ध्यानगुरुले सासमा ध्यान दिन सजग गराए जस्तै बुवाले पढाइ र भविष्य रटाउनुभयो। बुवाकै कारण जागिर खाएँ। घरबाट छोरा काठमाडौं हिंड्ने बेला बुवाले लिखुरे नाडीले दुई हजार-चार हजार रुपैयाँको नोट थमाउनुहुन्थ्यो। बुवाको नाडी हावामा हल्लँदै छोराको हत्केलामाथि आउँथ्यो, मेरा सानो हत्केलाले त्यो नाडीमा पीडाको कम्पन मापन गर्थ्यो। पैसा पाएर मक्ख पर्नुको साटो सरर्र काँप्थ्यो मेरो मुटु। सन्तानका लागि जुनसुकै आमा-बाले जस्तोसुकै कष्ट पनि सहन्छन्। वर्षामा छाता बन्छन् र ओत दिन्छन्, बाढीमा डुंगा बनेर खिइन्छन्।

मलाई बिदाइका बेला काठमाडौंमा बस्ने र पढ्ने खर्च दिंदा भलै बुवालाई कुनै बोझ र तनाव नभएको होस्। तर, त्यो बेला एसएलसी पास भइसकेको जवान छोरोले घरलाई अझै पनि पैसा र दाल-चामल मार्फत ताछिरहँदा आफ्नै नजरको अग्लो भीरबाट पटकपटक पछारिन्थेँ र थिलथिलो भएर दुख्थेँ म। त्यही दुःखाइले मन अमिल्याइरहँदा जागिर खानु बाध्यता थियो। हतारहतार कतै अल्झिनु थियो। कसैगरी घरको आश गर्नुपर्ने दिन सकियून् भनेर हरघडी कामना गरिरहन्थेँ । ती बेला लेखिएका डायरीमा अल्लारेपनका भाका कमै छन् मेरा।

बाटामा हिंडिरहँदा त्यतिबेला २०-२२ वर्षको एउटा युवक युवतीहरुका ओठ र छातीको नापनक्सा लिन छाडेर आज पैसा भेटिन्छ कि भन्ने आशले भुइँतिर नजर गाड्दै पाइला सार्थ्यो। कर्म गर्ने एकजोर हत्केलालाई कसैले ‘बाल’ दिइरहेको थिएन। आफैं पनि पढाइ र कामको दोबाटोमा फाट्न सक्ने हालतमा थिइनँ सायद त्यो बेला। जागिर खानैपर्ने आत्मदबाब पर्नुमा घरको हालत खराब थिएन, स्वाभिमानले भक्कुमार पिटेर मेरो हालत खराब पारिरहेको थियो।

एक दशक हुन लाग्यो जागिर खान थालेको। दश वर्ष लामै कालखण्ड हो एउटा व्यक्तिको जीवनमा। यो अवधिको आफ्नो जीवन र यात्राको उपलब्धि नापेको छैन । जीवन-यात्राको कुरालाई अलग्गै केलाउने हो भने, जागिरको आम्दानी र सफलता के कुरालाई मान्ने ? महिनैपिच्छे थापिने तलबलाई कि सुरक्षित हुँदै जाने भविष्यलाई ? म जान्दिनँ। सुरक्षित त खै कसरी भन्ने ! जहाँ टेकिरहेछु, कुन बेला भासिन्छु जस्तो लाग्छ।  र पनि प्रिय छ जागिर। सास र धड्कनको अलंकार प्रियसीलाई लक्षित गरिन्छ भने मेरो प्रियसी नै जागिर बनेको छ। जागिर नगरे म बहुलाउँछु। पाएको र खाएको जागिर छाडे मानौं म मरिहाल्छु।

अहिलेको हेराइमा जागिरको उपलब्धि मेरा पाक्दै गरेका कपाल र थाक्दै गरेको ज्यान हो। अमेरिकी राष्ट्रपति बराक ओबामाको पहिलो कार्यकालपछि उनी अनेक तनाव र पिसानले गलेर बुढो देखिएको र पहिलेभन्दा फुलेको भनेर कतै पढेको थिएँ। आफ्नो जीवनको सत्तामा जागिरको भोगचलन गरेयता म पनि त्यस्तै भएको छु आज, केही फुलेको / केही थाकेको।

स्वभावले मलाई जोगी बनेर हिंड्न मन लाग्छ। जहाँ कुनै हतार नहोस्, रुटिन नहोस्। नमस्कार नहोस्, जयजयकार नहोस्। तलबको नाममा रगत र पसिनाको थुप्रोलाई गणितमा राफसाफ गरेर मिलाउने दुस्साहस नहोस्। होस् त केवल मनको रफ्तार ! जोगी बनेर हिंड्न जति नै मन फुरफुर गरे पनि जागिर पनि खाइरहन मन लाग्छ। यही कुलतले जकड्याएर राखेको छ। मानौं, राति निद्राको समय सपनामा सयर गरिरहँदा पनि अफिसियल पोशाकमै हुन्छु, ता कि हाकिमको बोलावट आयो भने तुरुन्तै सपनाबाटै आँखाको ढकनी च्यातेर हाजिर भइहाल्न सकूँ !

रोजेको कारागार हो जागिर, मेरो निम्ति। निराशावादमा सास चुहाउनेहरु जन्मलाई नै हतकडी र नेल मान्छन्, पृथ्वीलाई कारागार सम्झन्छन्। म आफूलाई मुक्त पार्ने लालसाले जागिरमा जेलिंदै गएको कयौं पात्रमध्येको एक हुँ। हो त, कारागारमा खान पाइन्छ, बस्न पाइन्छ। बाथरुमको सुविधा पनि हुन्छ।

साँगुरो सुरुङको बाटो रै’छ जागिर भन्नु। पस्ने द्वार छ, फर्किऊँ भने मोडिने एक इन्ची ठाउँ छैन। मोडिने ठाउँ भन्नु एक घुस्सा साहस र जोखिम त हो। जुन जोखिम उठाउन हामी जागिरेहरुले सकिरहेका छैनौँ।

जागिर : खाएर खाइनसकिने र नसकेरै खाइने जिनिस!
जागिर : नखाई नहुने र खाएर पनि नअघाइने हावाको भुसुना!

मलाई अचेल जागिर र बिहे उस्तै लाग्छ। खाए पनि पछुताइने र नखाए पनि थकथकी लाग्ने। जागिर खाएर अहिलेसम्म कोही मान्छे ठूलो भएन (खास-खास सरकारी कारिन्दा बाहेक), बिहे गरेर पनि लोकलबाट कोही विकासीमा उक्लेन।

जागिर अर्थात् नित्यकर्म।

म जागिर खाइरहेछु।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.