सत्ता लम्ब्याउने दाउमा समाजवादी, तोड्ला त राजपाले

|

काठमाडौं : राष्ट्रियसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल गठबन्धनको जितसँगै प्रदेश दुईमा चुलिएको सत्ता समिकरण फेरिने चर्चा अझै सेलाएको छैन।

नेकपाका नेताहरुले सार्वजनिक रुपमै प्रदेश २ मा समाजवादी-राजपा गठबन्धनको सरकार नैतिक रुपमा अल्पमतमा परेको बताएका छन्। यसबीचमा राजपाबाट राज्यमन्त्री बनेकी डिम्पल झाले पद छाडिन्। अर्कातिर राजपाको अध्यक्ष मण्डलका सदस्यहरु नै समाजवादी नेतृत्वको सरकारसँग असन्तुष्ट देखिएपछि प्रदेश २ को सरकार परिवर्तनको सम्भावना बढेको हो।  

यद्यपि यस बिषयमा राजपा अध्यक्षमण्डलका सदस्यहरु नै विभाजित छन् । यहीबीचमा मधेश गठबन्धनको भविष्यबारे चर्चा गर्न निर्णायक वार्ताको तयारी थालिएको छ।

समाजवादी र राजपाका शीर्ष नेतृत्वबीच छिट्टै कुराकानी हुने राजपानिकट स्रोतले जनाएको छ। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपा संयोजक महेन्द्रराय यादवलाई फोन गरी वार्ताको प्रस्ताव गरेका हुन्।

राजपा अध्यक्षमण्डल नै विभाजित

६ वटा तराई-मधेस केन्द्रीत दल मिलेर बनेको राजपा अध्यक्षमण्डलमा समाजवादीसँगको गठबन्धन निरन्तरता दिने या 'भ्रष्टाचारको दलदलमा फसेको' सरकारलाई छाडी नेकपासँग मिलेर सरकार बनाउने भन्नेमा तीव्र मतभेद छ। 

राजपाका वर्तमान संयोजक महेन्द्र यादवले भने नेताहरुको व्यक्तिगत धारणा भन्दै नेकपासँग कुनै सत्ता गठबन्धनको योजनामा नरहेको बताउँदै आएका छन्।

उनले सार्वजनिक रुपमै उपेन्द्र यादवसँगको गठबन्धनलाई नै निरन्तरता दिने पक्षमा रहेको बताउँदै मुख्यमन्त्री र मन्त्रीीहरू न फेरिने अभिव्यक्ति दिइसकेका छन्।

यादवबाहेक अन्य अध्यक्षहरू भने प्रदेश सरकार फेर्ने, जसरी पनि मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने पक्षमा देखिएका छन्। अध्यक्षहरुवीच एउटै मत नहुँदा महेन्द्र यादव संयोजक भएको एक महिना बितिसक्दा पनि अध्यक्ष मण्डलको बैठक बस्न सकेको छैन । 

नेकपा नेतृत्वको संघीय सरकारमा राजपा सहभागी छैन। तर सरकारलाई समर्थन भने गरेको छ। प्रदेश २ तर्फ समाजवादी-राजपा गठबन्धनको सरकारमा नेकपा प्रतिपक्षमा बसेको छ।

केन्द्रमा् प्रतिनिधिसभाको रिक्त उपसभामुख राजपालाई दिएर सरकारमा सहभागी गराउने नेकपाको योजना छ। प्रधानमन्त्री ओलीले यसका लागि नेताहरु महन्थ ठाकुरसहितसँग परामर्श पनि गरेका छन्। 

उपसभामुखबारे पनि राजापमा अझै मतभेद छ। संयोजक यादव उपसभामुख लिने पक्षमा छैनन् भने महत्वपूर्ण संवैधानिक पद भएकाले यो पद पार्टीले पाउनुपर्ने पक्षमा अन्य अध्यक्ष देखिएका छन् । नेकपासँगको सहकार्यमा पनि महेन्द्र यादव पार्टीमा एक्लिँदै गएका एक नेताको भनाई छ।

रेशम चौधरीलाई रिहा गर्ने सरकारको तयारीबारे थाहा पाएका महेन्द्र यादव आफ्नो नेतृत्वमा सरकारमा सहभागिताको ग्यारेण्टी खोजी रहेका छन भने महन्थ ठाकुर र राजेन्द्र महतो सरकारमा महेन्द्रलाई पठाउने पक्षमा छैनन् ।

वार्तामा बस्ने प्रयास

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपाका नेताहरुले बोलचाल नै बन्द गरेको गुनासोसमेत गरेका समाचार आएका थिए। यहीबीचमा प्रदेश २ का सत्ता साझेदारका शीर्ष नेतृत्ववीच आगामी हप्ता जनकपुरमा वार्ता हुन सक्ने समाजवादीका एक नेताले बताए। ती नेताका अनुसार प्रदेश सरकारको दुई वर्षे कार्यकालको समीक्षासँगै आवश्यकता अनुसार मन्त्रीहरू फेरबदलको चर्चा गर्न दुई दल छलफलमा जुट्न लागेका हुन् । 

राजपाका महासचिव एवम् प्रदेशसभा सदस्य मनीष सुमनले पनि नियमित छलफल चलिरहेको भन्दै अब निर्णायक वार्ता हुनुपर्नेमा जोड दिए। यही माघ २६ गते निर्णायक वार्ता हुने  सुनेको बताउँदै नेता सुमनले भने, ‘प्रदेश २ सरकारको गतिविधि,  अहिलेको स्थितिप्रति सबै सन्तुष्ट छैनन् । अब सुध्रेन भने परिवर्तन गर्नैपर्छ । यो अवस्था रहीरह्यो भने त्यस्तो अवस्थमा नयाँ समिकरण हुन सक्छ।’

यद्यपि अहिलेसम्म समाजवादीबाट मन्त्री फेरबदलका लागि कुनै पत्र नआएको उनको प्रष्टोक्ति छ । ‘उहाँहरुले कुनै पत्र पठाउनुभयो भने हामी सोच्छौँ’, उनले भने।

नेकपा प्रदेश कमिटीले मुख्यमन्त्री राउतविरूद्ध आगामी फागुन ३ गतेपछि अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको चर्चा चुलिएको छ। तर यसबीचमा समाजवादी पार्टीले सकेसम्म गठबन्धनलाई निरन्तरता दिने प्रयास गरेको छ । तर राजपाले नमानेमा अर्को विकल्पबारे सोच्ने समाजवादीका एक नेताले बताए।

‍मुख्यमन्त्रीमा राजपाको दाबी 

गठबन्धनमा आफूहरुको हैसियत बराबरको भएको तर २ वर्षसम्म मुख्यमन्त्री र अर्थ मन्त्रीले एकलौटी सरकार चलाएको भन्दै राजपाका केही नेताहरु असन्तुष्ट  छन् । राजनीतिक नियुक्तिमा समेत मनोमानी गरेर गठबन्धनको धर्म निर्वाह नगरेको राजपाको आरोप छ। 

हाल प्रदेश २ सरकारमा समाजवादीका लालबाबु राउत मुख्यमन्त्री छन्। राजपाको तर्फबाट भौतिक योजना मन्त्री जितेन्द्र सोनल, वर्तमान सभामुख सरोज यादव र प्रदेश संसदीय समितिका सभापति मनीष सुमन अबको मुख्यमन्त्री पदका दाबेदार रहेका छन्।

समाजवादी र राजपाबीच कुरा नमिले दुबैमध्ये कुनै एक दलसँग नेकपाले सरकार बनाउने सम्भावना छ। नेकपाको तर्फबाट स्वयम् प्रधानमन्त्री ओलीले राजपालाई मुख्यमन्त्री दिने प्रस्ताव गरेका छन्। उपेन्द्र यादवले प्रचण्डलाई फकाएर सकेसम्म मुख्यमन्त्री पद नेकपालाई दिइ सत्तामा आफ्नो निरन्तरता कायम गर्ने योजना बनाएको स्रोतको दाबी छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.