|

धनगढी : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले गुरुयोजना बमोजिम धनगढी विमानस्थल विस्तारको काम अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

शनिबार यहाँ आयोजित धनगढी विमानस्थलको गुरुयोजना प्रस्तुति कार्यक्रममा मन्त्री भट्टराईले भने, 'विमानस्थल रहेको क्षेत्रका धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले पनि आफ्नो लगानीको साझेदारी गरोस्। भोलि त्यसको आम्दानी पनि बाँडौँला।' 

उनले स्थानीयवासीले दिएका सुझावलाई समेटेर विमानस्थलको गुरुयोजनालाई अन्तिम रूप दिइने बताए। मन्त्री भट्टराईले प्रदेशको राजधानी शहरमा रहेका विमानस्थललाई सक्ने जति विस्तार र स्तरोन्नतिको काम गर्ने सरकारको नीति रहेको बताए। उनले भने, 'यसमा कुनै कञ्जुस्याइँ नगरीकन सकेको काम गर्न पहिलो प्राथमिकता दिएका छौँ।'

बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल र कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्ने कामसमेत प्राथमिकतामा रहेको उनले जानकारी दिए।उनले भारतसँग महेन्द्रनगर, नेपालगञ्ज र भैरहवा नाका हुँदै हवाई ‘रुट’ माग गरिएको बताए। मन्त्री भट्टराईले भैरहवाका हकमा भारत सहमत भइसकेको भए पनि नेपालगञ्ज र महेन्द्रनगरको विषयमा छलफल चलिरहेको पनि जानकारी दिए।

सांसद नारदमुनी रानाले विमानस्थलको विस्तारको काम अहिलेकै सरकारको नेतृत्वमा पूरा हुने विश्वास व्यक्त गरे। सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले प्रदेशको विकासका लागि महत्व राख्ने धनगढी विमानस्थलको विस्तार र स्तरोन्नतिको कामका लागि ढिलाइ गर्न नहुने बताए।

कार्यक्रममा कन्सल्टेन्ट इञ्जिनियर गुरुदत्त अधिकारीले विमानस्थलको विस्तार तथा स्तरोन्नतिका लागि बनाइएको गुरुयोजना प्रस्तुत गरे। प्राधिकरणका महानिर्देशक राजन पोखरेलले विमानस्थल विस्तारको कामका लागि झण्डै २२ अर्ब बजेट चाहिने बताए।

सहभागीले विमानस्थलको स्तरोन्नति र विस्तार गर्दै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए। यो विमानस्थलको विस्तार तथा स्तरोन्नतिका लागि पहिलो, दोस्रो र तेस्रो चरणमा गरी बीस वर्षे अवधिको गुरुयोजना तयार पारिएको छ।

प्रस्तावित गुरुयोजनामा धनगढी विमानस्थल विस्तार कार्यका लागि थप झण्डै २२७ बिघा जग्गा आवश्यक पर्ने उल्लेख गरिएको छ। यसका लागि विमानस्थलको दक्षिणतर्फको केही क्षेत्रफलको जग्गा अधिग्रहण गर्नुपर्ने देखिएकामा उत्तर, उत्तरपूर्व, उत्तरपश्चिमतर्फको बढी क्षेत्रफलको जग्गा अधिग्रहण गर्नुपर्ने गुरुयोजनामा समेटिएको छ। 

यसैगरी विमानस्थलको दुई हजार ५५० मिटर लामो र ४५ मिटर चौडा नयाँ रनवे (धावनमार्ग) बनाउने, हालको धावनमार्गलाई जहाँजको ‘ट्याक्सी वे’को रूपमा प्रयोग गर्ने, न्यारोबडी खालका जहाजको उडान र अवतरण गर्न सक्ने बनाउने, नयाँ टर्मिनल भवनलगायतका संरचना बनाउनुपर्ने पनि प्रस्तावित गुरुयोजनामा समेटिएको छ।

हाल ७० बिघा जग्गा ओगटेको धनगढी विमानस्थल लामो धावनमार्गका दृष्टिमा (एक हजार ८०० मिटर लामो) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको दोस्रो हो। यो विमानस्थलमा हाल काठमाडौँ–धनगढी–काठमाडौँसम्म दैनिक हवाई सेवाको सुविधा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.