|

काठमाडौं : साहित्यकारद्वय गीता केशरी र पद्मावती सिंहलाई संयुक्त रूपमा ‘नेपाली साहित्य नारीरत्न’ पुरस्कार प्रदान गरिएको छ। आधुनिक कथा र उपन्यास सिर्जनाका माध्यमबाट नेपाली भाषा साहित्यलाई पुर्‍याएको योगदानलाई कदर गर्दै दुवैलाई सो पुरस्कार प्रदान गरिएको हो।

वाङ्मय शताब्दी पुरूष डा. सत्यमोहन जोशीले शनिबार राजधानीमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरेका हुन्। दुवैलाई ताम्रपत्रका साथै यो पुरस्कारको राशि एक लाख रूपैयाँले सम्मान गरिएको रहेको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले बताएका छन्।

त्यसैगरी, प्रा डा तारानाथ शर्मालाई एक लाख रूपैयाँ राशिसहित बालकृष्ण सम पुरस्कार प्रदान गरिएको छ। ‘सम र समका कृति’ मार्फत नाट्यसम्राट् बालकृष्ण समको महत्वपूर्ण दस्तावेज लेखनका साथै साढे सात दशकदेखि नेपाली भाषासाहित्यको सेवामा योगदान गरेबापत उनलाई पुरुस्कार प्रदान गरिएको त्रिमूर्ति निकेतनका सदस्यसचिव प्रसाईंले बताए।

उनका अनुसार कलाकार राजन काफ्ले, समाजसेवीद्वय श्रीगोपाल महर्जन र चिनियाँराज श्रेष्ठलाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरिएको छ। सत्यमोहन जोशीको उचाइ अभिवृद्धिका लागि समर्पित रहेको भन्दै उनीहरूलाई सो सम्मान गरिएको हो।

त्यस्तै, त्रिमूर्ति निकेतनको भौतिक सम्भार र संरक्षणमा विशेष योगदान पुर्‍याएबापत मोहनकृष्ण सापकोटा र डण्डुराज घिमिरेलाई त्रिमूर्ति सम्मान प्रदान गरिएको छ। उनीहरूलाई सत्यमोहन जोशीले पदक तथा पुरस्कृत गरेका थिए। त्रिमूर्ति निकेतनले हालसम्म नेपाललगायत २५ राष्ट्रका २२६ जना महानुभावलाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरिसकेको त्रिमूर्ति निकेतनका सदस्यसचिव प्रसाईंले बताए।  

सोही समारोहमा शताब्दी पुरूष डा. जोशीले महासमालोचक प्राडा. वासुदेव त्रिपाठीबाट लेखिएको 'नरेन्द्रराज प्रसाईंको जीवनी कृति मेरी आमा भागीरथा प्रसाई : समीक्षात्मक विमर्श', नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईबाट सम्पादित 'राष्ट्रकविको सय वर्ष', नरेन्द्रराज प्रसाईद्वारा लिखित 'शताब्दी पुरूषको सय वर्ष' र 'मेरी आमा भागीरथा प्रसाई' नामक जीवनीकृतिको लोकार्पण गरेका थिए।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी, ‘सत्यमोहन जोशी शताब्दी महोत्सवका संयोजक प्राडा. उषा ठाकुर, महासमालोचक प्राडा. वासुदेव त्रिपाठी, डा. मोदनाथ प्रश्रित, प्रा. राजेन्द्र सुवेदी, प्रा. ठाकुर पराजुली, प्राडा. गार्गी शर्मा, मदनदास श्रेष्ठ, यादव भट्टराई आआफ्ना मन्तब्य राखेका थिए। समारोहमा त्रिमूर्ति निकेतनका कोषाध्यक्ष उषा शेरचनले कविता वाचन गरेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.