|

बैतडी : ग्रामिण क्षेत्रका नागरिकको विद्युतमा पहुँच पुर्‍याउने उद्देश्यले बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रमा विद्युत राष्ट्रिय प्रसारणलाइन विस्तारको काम थालिएको छ। 

मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकमा विद्युतको राष्ट्रिय प्रसारण पुर्‍याउनका लागि काम शुरु भईसकेको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ। 

सो क्षेत्रमा विद्युतको पहुँच पुर्याउनका लागि पाटन र मेलौलीमा सवस्टेशन राख्ने र पाटनदेखि मेलौली सम्म लाइन विस्तारको काम शुरु भईसकेको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरीयाका प्रमुख सतीशकुमार कर्णले जानकारी दिए। उनले भने, 'पाटनमा र मेलौलीमा सवस्टेशन निर्माणका लागि आर.के. इन्टरनेश्नल प्रालिसंग गत जेठमा ठेक्का सम्झौता भएर काम शुरु भईसकेको छ।' 

पाटनमा सवस्टेशन निर्माणका लागि साढे ११ करोड र मेलौलीमा सवस्टेशन निर्माणका लागि साढे १२ करोडमा ठेक्का सम्झौता भएको हो, उनले भने, गत जेठ ७ गते सवस्टेशन निर्माणको काम एक बर्षभित्र गरिसक्ने लक्ष्य सहित सम्झौता भएको हो।   

यस्तै, पाटनदेखि मेलौलीसम्म प्रसारणलाइन विस्तारका लागि अमृत इन्द्रधनु जेभीसंग सम्झौता भएको जनाएको छ। लाइन विस्तारको काम पनि एक बर्षभित्र सक्ने गरेर गत जेठमा सम्झौता भएको होे। सो सम्झौता अनुसार पाटनदेखि मेलौलीसम्म लाइन विस्तारको काम पनि शुरु भईसकेको प्रमुख कर्णको भनाई छ।

लाइन विस्तारका लागि २ करोड १४ लाखमा ठेक्का सम्झौता भएको उनले बताए। जिल्लाको तल्लोस्वराड क्षेत्रलाई विद्युतको राष्ट्रिय प्रशारणमा पहुँच पुर्‍याउन सवस्टेशन निर्माण र लाइन विस्तारको काम शुरु भएको हो। 

यस्तै नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले पनि मेलौलीको सलेनासम्म यो बर्ष विद्युत पहुँच विस्तार गर्नेगरी काम गरिरहेको प्राधिकरण बैतडीका सुपरभाईजर माधवप्रसाद लेखकले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.