९ अर्ब १८ करोड ८७ लाख लाग्‍ने अनुमान

|

काठमाडौं : गोरखा महाभूकम्पको पाँच वर्ष पुग्नै लाग्दासमेत पुनर्निर्माण कार्यले तीव्र गति लिन सकेको छैन। अहिलेसम्म देशभर चार सय सम्पदाको मात्रै पुनर्निर्माण सकिएको छ। पुरातात्व विभागकै ढिलाइले गर्दा सम्पदा पुनर्निर्माण कार्यले गति लिन नसकेको हो। 

२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले देशभर ९ सय २० सम्पदामा क्षति पुर्‍याएको थियो। पुरातत्व विभागले आइतबार राजधानीमा भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनर्निर्माण, सांस्कृतिक सम्पदा संरक्षणबारे आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक दामोदर गौतमले देशभर अहिलेसम्म चार सय सम्पदा पुनर्निर्माण सम्पन्न भएको जानकारी दिए। 

उनले भूकम्पले क्षति पुर्‍याएका सम्पदा निर्माणमा जुटिरहेको दाबी गरे। ‘देशभर भूकम्पले ग्रस्त बनाएको सांस्कृत सम्पदा निर्माणमा विभाग जुटिरहेको छ,’ उनले भने,‘क्षति भएको  सम्पदाको मौलिक स्वरूप यथावत कायम राखी पुनर्निर्माण तथा संरक्षण गर्नमा पुरातत्व विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायत विदेशी संघसंस्थाहरूसमेत सहभागी भई काम अगाडि बढाइरहेका छौँ।’ उनले यो वर्ष १५० सम्पदाको पुनर्निर्माण गरिसक्‍ने बताए। उनका अनुसार भूकम्पले ३१ जिल्लाका सम्पदाहरुमा क्षति पुगेको थियो। 

उपत्यकाको सम्पदा पुनर्निर्माणको अवस्था

विभागका महानिर्देशक गौतमका अनुसार काठमाडौं जिल्लामा तीन सय १९ वटा सम्पदामा भूकम्पले क्षति पुगेको थियो। जसमध्ये ९९ वटा सम्पन्न भएको छ। चालुमा एक सय ६८ वटा सम्पदाहरू छन्। ललितपुर जिल्लामा एक सय २३ वटा सम्पदामाथि क्षति पुगेको थियो। जसमध्ये ३० वटा मात्रै सम्पन्न भएको छ। चालुमा ५० वटा छन्।

भक्तपुर जिल्लामा ९८ वटा सम्पदा भूकम्पले क्षतिग्रस्त बनाएको थियो। जसमध्ये अहिले ४० वटा सम्पन्न भएका छन्। चालुमा ३८ वटा छन। विभागका अनुसार देशभरीका ७७ जिल्लामा पुरातात्विक, ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक सम्पदाहरु पाँच हजार छन्। पुरातात्विकस्थल चार सय ७० वटा रहेका छन्। 

विश्व सम्पदामा सूचीकृत सम्पदाको पुनर्निर्माण

काठमाडौं उपत्यकामा पशुपतिनाथ मन्दिर क्षेत्र, बौद्धनाथ, स्वयम्भू, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, हनुमान ढोका दरबार स्क्वायर विश्वसम्पदा सूचीमा सूचीकृत छन्।  विभागका अनुसार हनुमानढोका क्षेत्रमा ३९ वटा सम्पदामा भूकम्पले क्षति पुर्‍याएकोमा १९ वटा सम्पन्न भएका छन्। चालुमा ९ वटा सम्पदा छन्।

पाटनमा १८ वटा सम्पदामा क्षति पुगेकोमा अहिले १० वटा सम्पन्न भएको छ। ८ वटा चालुमा रहेको छ। त्यस्तैगरी स्वयम्भूको १३ वटा सम्पदामा क्षति पुगेको थियो। ११ वटा सम्पन्न भएका छन्। चालुमा २ वटा छन्। पशुपति क्षेत्रमा ६२ वटा सम्पदामा भूकम्पले क्षति पुर्‍याएकोमा ३५ वटा अहिले सम्पन्न भएको छ।

भक्तपुर दरबार स्क्वायरमा २९ वटा सम्पदामा भूकम्पले क्षति पुगेको थियो। हालसम्म २० वटा सम्पन्न भएको छ भने ६ वटा चालुमा छन। त्यस्तैगरी चाँगुनारायणमा ८ वटा सम्पदामा क्षति पुगेकोमा पाँचवटा बनेका छन् भने, चालुमा दुईवटा छन्। बौद्धमा एक वटा क्षति पुगेकोमा बनिसकेको छ। 

पुरातत्‍वको मात्रै करिब साढे दुई अर्ब खर्च

विभागले आर्थिक वर्ष २०७५/७६ सम्मको सम्पदा पुनर्निर्माणमा पुरातत्‍व विभागको मात्र दुई अर्ब ३९ करोड ८१ लाख ४६ हजार खर्च भएको तथ्यांक सार्वजनिक गरेको छ। त्यस्तै नेपाल सरकारबाट चालु आवमा ९६ करोड ७९ लाख खर्च भइसकेको छ।

विभागका महानिर्देशक गौतमले सम्पदा निर्माण बजेटको अवस्था सार्वजनिक गर्दै पुरातत्व विभागबाट सम्पदा निर्माण कार्य गर्न कुल ९ अर्ब १८ करोड ८७ लाख ७१ हजार लागत आवश्यकता पर्ने बताए। खर्चअनुसार अहिलेसम्म पनि ढलेका सम्पदाहरु ठडिन भने सकेका छैनन्।  

दुई वर्षभित्र सबै क्षतिग्रस्त सम्पदा बनाइसक्छौँ

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दुई वर्षभित्रमा सबै क्षतिग्रस्त सम्पदा पुनर्निर्माण भइसक्ने बताए। पत्रकार सम्मेलनमा सांस्कृति तथा ऐतिहासिक सम्पदा संरक्षणमा सरकार निरन्तर पहल गरिहेको बताउँदै मन्त्री भट्टराईले भने,‘सरकार सम्पदा निर्माणमा जुटिरहेको छ। ६० प्रतिशत काम सम्पन्न भएको छ। दुई वर्षमा बाँकी देशभरमा सबै सम्पदा पुनर्निर्माण हुन्छ।’

मन्त्री भट्टराईले अन्वेषण उत्खनन गर्ने ठाउँमा बनाइएका संरचनाहरु सरकारले भत्काइ ती ऐतिहासिक ठाउँलाई उपयोग गर्दै संरक्षण गर्ने बताए। ऐतिहासिक ढुंगे धाराहरूको पनि संरक्षण गर्दे जाने पनि उनको भनाइ थियो। 

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले अन्वेषण उत्खननको कामलाई तीव्रता दिँदै आएको बताए। ‘विभागले देशभित्र रहेका महत्वपूर्ण पुरातात्विक स्थलहरुको अन्वेषण र उत्खनन गरिरहेको छ,’उनले भने,‘उत्खननका क्रममा ऐतिहासिक वस्तुहरु भेटिएका छन्। त्यसलाई विभागले संरक्षण गर्दै जानेछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.