|

इलाम : भारतीय महिला लिग आइडब्लुएलको फाइनल प्रवेशका लागि नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित गोकुलम केरला र अनिता बस्नेत सम्मिलित सेथु एफसी आमने सामने हुँदैछन् । बंङलोर रंगशालामा अपराह्न ३ बजे हुने खेलमा दुवै टिम जितका साथ उपाधि होडमा प्रवेश गर्ने लक्ष्यमा हुनेछन् ।

सेथु समूह ‘ए’को उपविजेता र गोकुलम समूह ‘बी’को विजेताका रुपमा अन्तिम दुईमा पुगेका हुन् । समूहको राउन्ड रोविनमा सावित्राको टोली अपराजित छ भने अनिताको टोलीले एक खेलमा हार व्यहोरेको थियो । गोकुलमले पाँच खेलमा २८ गोल गर्दै कुल दुई गोल व्यहोर्दा सेथुले समान खेलमा २३ गोल गर्दै दुई गोल नै व्यहोरेको छ ।

गत सिजनमा दुवैले सेथुबाट खेल्दै टिमलाई च्याम्पियन बनाएका थिए । एपिएफ क्लबका सहकर्मी सावित्रा र अनिता पहिलो पटक अलग टोलीबाट यो सिजन खेलिरहेका छन् । गत वर्ष सेथुमा सँगै आइलिग खेलेका सावित्रा र अनिताले त्यसअघि दुई सिजन माल्दिभ्समा एउटै क्लबबाट फुटसल खेलेका थिए । 

घरेलु मैदानमा एपिएफ र राष्ट्रिय टोलीबाट अधिकांश खेलमा नियमित खेल्दै आएका छन् । सावित्रा जारी प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छिन् । गोकुलमबाट सबै खेलमा सुरुवाती ११ मा स्थान बनाएकी सावित्राले पाँच खेलमा कुल १३ गोल गरेकी छन् । उनले प्ले अफमा गोकुलमबाट तीन गोल गर्दै टिमलाई अगाडि समेत बढाएकी थिइन् । 

यता मिडफिल्डर अनिताले गोल गर्न सकेकी छैनन् । सन २०१४ देखि राष्ट्रिय टोलीमा सँगै खेलिरहेका सावित्रा र अनिता एपिएफमा भने केही समयको फरकमा आवद्ध भएका थिए । पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा यी दुई खेलाडीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । त्यस यता दुवै राष्ट्रिय टोलीका नियमित सदस्य रहँदै आएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.