धादिङ : बजारमा माग बढ्दै गएपछि धादिङका किसानहरू व्यवसायिक रूपमै स्थानीय जातका कुखुरापालनमा आकर्षित हुन थालेका छन्।
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ इजाराका ईवराज थापा क्षेत्रीले माग देखेरै एक बर्षदेखि स्थानीय जातका कुखुरा पालिरहेका छन्। 'थापा कृषि तथा पशुपंक्षी फर्म' खोलेका उनले अहिले स्थानीय कुखुराका साथै, बट्टाई, कालो कुखुरा, लौकाट र टर्की जातका पंक्षीहरु पनि पालेका छन्। शुरूमा ५ लाख रुपैयाँ लगानी गरी २०० वटा चल्ला राखेर कुखुरापालन थालेका थापाले अहिले मागअनुसार उत्पादन बढाउन लगानी पनि बढ्दै गएकाे बताए।
स्थानीय जातको कुखुरा प्रतिकिलो ७ सय ५० रुपैयाँमा फर्मबाटै बिक्री-वितरण हुने गरेको छ। थापाले मासुका लागि मात्रै होइन, माग अनुसार कुखुरा र अन्य पंक्षीको चल्ला पनि बिक्री गर्ने गरेको बताए। उनले भने, 'रोजगारीका लागि भौंतारिनुभन्दा आफ्नै गाउँमा बसेर नयाँ काम गर्न सके दुई चार पैसा कमाउन सकिन्छ भनेर स्थानीय जातको कुखुरा पालन थालेकाे हुँ।' अन्य व्यवसायमा भन्दा स्थानीय जातको कुखुरापालन गर्दा राम्रो आयआर्जन गर्न सकिने थापाले दाबी गरे। छोटो समयमै निकै राम्रो आम्दानी भएपछि थापाले अहिले ५ रोपनी जग्गामा स्थानीय जातकै १ हजार कुखुरा पाल्ने योजना बनाएका छन्।
सरकारले युवा व्यवसायीलाई प्रोत्साहन गर्न भन्दै विभिन्न युवा लक्षित कार्यक्रम, बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण ऋण र लगानीका कार्यक्रम ल्याएपनि कार्यन्वयन प्रकृयामा भने निकै झण्झट रहेको थापाले गुनासाे गरे। जिल्लामा थापाले मात्रै होइन, साना ठूला गरी एक सयभन्दा धेरै स्थानमा व्यवसायिक रुपमै स्थानीय जातको कुखुरापालन गर्न थालिएको छ।
सदरमुकाम आसपास र राजमार्ग क्षेत्रमा पछिल्लो समय युवा उद्यमीहरु स्थानीय जातको कुखुरापालन आकर्षित हुने क्रम बढ्दै गएको छ। राजमार्ग क्षेत्रमा स्थानीय जातका कुखुराको मासुका परिकार पाईने होटलहरुको संख्या पनि बढिरहेको छ। यससँगै व्यवसायिक रुपमा स्थानीय कुखुरा पालनतर्फ आकर्षण पनि बढ्दै गएको धादिङ उद्योग वाणिज्य संघका महासचिव लोकनाथ डल्लाकोटीले जानकारी दिए।
धादिङको धुनीबेसी र नीलकण्ठ नगरपालिकाको साथै थाङ्क्रे, गल्छी, गजुरी, बेनीघाट-रोराङ र सिद्धलेक गाउँपालिकाका विभिन्न स्थानमा व्यवसायिक रुपमै धमाधम स्थानीय जातको कुखुरापालन गर्न थालिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।