|

पर्सा : मुलुकमा मिडिया नभइदिएको भए सत्ता संचालन गर्ने राजनीतिकर्मीले देशै बेचिदिन सक्ने सांसद प्रदीप यादवले बताएका छन्। पर्साको क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद यादवले पर्साबाट प्रकाशित वीरगन्ज न्यूज २४ दैनिकको प्रथम वार्षिक उत्सवमा बोल्दै यस्तो बताएका हुन्।

‘मिडियाकै कारण मुलुक बेचिनबाट जोगिएको छ' उनले भने। 'ललिता निवास जग्गा प्रकरण, वाइडवडी प्रकरण र एनसेल प्रकरण जस्ता ठूलो भ्रष्टाचार लगायतका घटना मिडियाकै कारण उजागर हुँदा मुलुक हाँक्नेहरु अलि सतर्क हुँदा मुलुक बाँचेको छ। नत्र राज्यसत्तामा हाँक्नेहरुले कतिखेर आफ्नो स्वार्थको लागि देशलाई पनि बेचिदिन सक्थे।'

परिवर्तित अवस्थामा अझ मिडियाकर्मी शहर केन्द्रित नभई सूक्ष्म ढंगले गाउँ–गाउँसम्म पुग्न सक्नु पर्ने उनले जोड दिए। विकास निर्माणका काम लगायत हरेक कुरामा भ्रष्टाचारले जरा गाडेको उनको तर्क छ। २०४६ सालपछि सत्तामा पुग्ने सबैको सम्पति छानबिन गरी दोषी भए अख्तियारले कार्वाही गर्न सक्नु पर्ने उनको सुझाव छ।

कुनै पार्टी बिशेषबाट आफू पनि निर्वाचित भए पनि सबै जनताको प्रतिनीधि भएकोले सबैलाई समान व्यवहार गर्ने उनले समिक्षात्मक प्रतिकृया दिए। मिडिया त अझ जनता र समाजसँग प्रत्यक्ष जोडिन सक्नुपर्ने उनले बताए। 

पत्रिकाका प्रकाशक अखलेश साहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने लगायतका बक्ताहरुले पनि परिवर्तित समय अनुसार संचारक्षेत्र र संचारकर्मीहरु अझ परिष्कृत भएर अगाडी बढ्न पर्ने औँल्याए।

विगतको जस्तो पत्रकारीताले मात्र परिवर्तित समयमा पत्रकारहरुको भूमिका पूरा नहुने उनीहरुको तर्क छ। सामाजिक उत्तरदायित्व वहनमा संचारकर्मीहरु अझ खरो रुपमा उत्रन सकेमात्र संचार क्षेत्रको प्रतिष्ठा अझ उच्च हुने उनीहरुको सुझाव छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.