को हुन् जैसिङ  चुमी?

|

गोरखा : १९३३ फागुन २ मा तत्कालीन राणा शासनको विरोध गरेको भन्दै शहिद लखन गाउँपालिका–७ बुङकोटको काहुले भङ्गार (भञ्ज्याङ)मा गोरखाका लखन थापा र जैसिङ जैसिङ चुमी मगरलाई मृत्यु दण्ड दिइयो। 

राणा शासक जंगबहादुर राणाको निर्देशनमा देवीदत्त पल्टनबाट खटिएका सैनिकले लखन थापालाई खिर्राको रुख र जैसिङ चुमीलाई बेलाउतीको रुखमा झुण्ड्याएर फाँसी दिइएको इतिहासमा उल्लेख छ। निरंशुक राणा शासन व्यवस्थाको विरोध गर्दै सामाजिक तथा राजनीतिक परिवर्तनका निम्ति आवाज उठाउँदा राज्यले फासी दिएको भन्दै लखन थापालाई सरकारले २०५६ सालमा शहीद घोषणा गरेको छ। तर, लखनसँगै सहादत प्राप्त गरेका जैसिङलाई बेवास्ता गरिएको छ।

नेपाल सरकारले नै फाुगन २ लाई लखन थापा स्मृति दिवस मनाउन थालेको ४३ औँ वर्ष भइसकेको छ। एउटै आरोपमा, एकै दिन, एकै ठाउँमा लखनसँगै सहादत पाएका जैसिङको भने कुनै चर्चा हुने गरेको छैन।

को हुन् जैसिङ  चुमी ? 

‘प्रथम जनविद्रोहका योद्धा शहीद जैसिङ चुमी राना मगर’ नामक पुस्तकका लेखक रुद्रबहादुर रानाका अनुसार जैसिङ र लखन बाल्यकालदेखिकै साथी थिए। १९११ सालमा उनीहरु दुवै मगरहरुको पल्टन पुरानो गोरखगणमा भर्ती भएका थिए।

दुवैजना भारतीय जनविद्रोह दबाउन लखनाउमा खटिएका थिए। उनीहरु दुवै १९२५ सालमा क्याप्टेनमा बढुवा भएपछि १९२७ सालमा तीन महिने छुट्टीमा सँंगै घर आएर विद्रोही किल्ला बनाएर जनविद्रोहको तयारी गरेको पुस्तकमा उल्लेख छ। 

‘लखन थापा समानान्तर सरकारका प्रमुख थिए, जैसिङ चुमी विद्रोही सेनाका सेनापति थिए,’ लेखक रुद्रबहादुरले भने, ‘काउले भंगारमा गाउँलेहरुको सहयोगमा चौघेरा, दरबार, कोत बनाएका थिए।’

उनका अनुसार २४ सय फौज भर्ती गरी टुँडिखेलमा तालिम गर्थे। हातहतियार जुटाएर १९३२ सालदेखि औपचारिक रुपमा जनविद्रोह सुरु गरेपछि १९३३ फागुन २ मा देवीदत्त पल्टन खटाएर जंगबहादुरको हुकुममा उनीहरु दुवैलाई फासी दिइएको थियो।

जैसिङलाई बेवास्ता

एउटै आरोपमा, एकै ठाउँमा, एकै दिन मारिएका लखन थापालाई शहीद घोषणा गर्दा जैसिङ चुमी मगरलाई किन शहीद घोषणा गरिएन?’ यसको विषयमा धेरै ठाउँमा कुरा उठाउँदा पनि सुनुवाइ नभएको चुमीका सन्तानहरुको गुनासो छ।

‘सरकारले हाम्रो पुर्खा जैसिङ चुमीलाई पनि शहीद घोषणा गर्नुपर्ने, सालिक, स्मारक बनाउनु पर्ने हैन र?’, जैसिङका तेस्रो पुस्ताका रत्नबहादुर चुमी मगर भन्छन्, ‘लखन थापाको स्मृति दिवसमा यहाँ आएका बेला तत्कालीन मन्त्रीहरु चिरञ्जीवी वाग्ले मन्त्री र अशोक राईलाई निवेदन दिएका थियौं । तर जसले पनि यस्सो हेर्छन् अनि खल्तीमा हाल्छन् । बिर्सिहाल्छन् । अहिलेको स्थानीय सरकारलाई पनि यस विषयमा भनिरहेकै छौँ ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.