'लुटिएको जग्गा फिर्ता ल्याउँन खोज्दा केहीले नाइके बनेको आरोप लगाए'

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ललिता निवासको जग्गा प्रकरणमा आरोपितहरूविरुद्ध मुद्दा चलेपछि देखिएका र सुनिएका प्रतिक्रिया लगभग ड्रागनप्रेमी युवाको जस्तै रहेको प्रतिक्रिया दिएका छन्। 

 शनिबार संसदमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आरोपीहरूसँग मुद्दा चलेपछि बाहिरको प्रतिक्रिया लगभग डागनप्रेमी युवाको जस्तै रहेको तर्क दिए। यस सन्दर्भमा प्रधानमन्त्री ओलीले ‘देखाउनेले दाग देखायो किन रुवाबासी?’ भन्दै ड्रागनप्रेमी युवाको कथा सुनाए। 

उनले सरकारी सम्पत्ति फिर्ता ल्याउन सरकारले चलाएको कारबाहीअन्तर्गत विभिन्न ठाउँका जमिनहरू फिर्ता लिने अभियान नै चलाइएको बताए। सिरहाको २१ बिघा, सर्लाहीको २३४ बिघा र बर्दियाको ४६ बिघा जग्गा यसप्रसंगमा उल्लेखनीय रहेको जनाए। 

‘माथिल्लो त्रिशूली ए' जलविद्युत परियोजनाको पहुँचमार्गका लागि सरकारले भोगाधिकार दिएको जग्गामा मैले सत्ताको जिम्मेवारी लिनु केही दिन अघि मात्र नक्कली मोही खडा गरी तिनका नाममा दर्ता गरिएको ११० रोपनी जग्गा हालै खारेज गरी फिर्ता गराइएको छ’ उनले भने। 

बालुवाटारस्थित बहुचर्चित ललिता निवासको १३६ रोपनी जग्गामाथि गरिएको जालसाँजीविरुद्ध प्रधानमन्त्री ओली आफैँले नै एउटा छानविन समिति बनाएको बताए। ‘समिति बन्नुअघि र त्यसको प्रतिवेदन सरकारले सार्वजनिक गर्नुअघि सर्वत्र शान्ति देखिन्थ्यो। त्यसपछिका प्रतिक्रिया रमाइला देखिए र सुनिए’ उनले भने। 

‘ललितानिवास र प्रधानमन्त्रीको सरकारी निवास दुवै बालुवाटारमै भएकाले प्रधानमन्त्रीले नै जग्गा बेचेर खाएछ भने जस्तो भान पर्नेगरी ‘बालुवाटार काण्ड’लाई प्रचार आक्रमणको अस्त्र बनाइयो’ उनले भने, ‘लुटिएको सरकारी जग्गा फिर्ता ल्याउन पहल गर्ने म स्वयंलाई नै काण्डको ‘नाइके’झै प्रस्तुत गरिएको पनि पाइयो।’

सोही सन्दर्भमा बाहिरी प्रतिक्रियालाई भूमिका एउटा चिनियाँ लोककथासँग मिल्दोजुल्दो भएको बताए। ‘लोककथाका अनुसार एकजना युवा ‘ड्रागन’ खुब मन पराउँथ्यो। उसले आफ्ना सबै सरसामन, लुगाफाटा र यहाँसम्म कि बिछ्यौनाको तन्ना र तकियामा पनि ड्रागनकै चित्र कुँद्‍यो’ उनले भने, ‘आफ्ना भक्तको प्रेमबाट प्रभावित भएर एकरात ड्रागन उसलाई दर्शन दिन आएछ। साक्षात् ड्रागन, चित्रको ड्रागनभन्दा अजंगको, डरलाग्दो थियो। भक्तको सातो उड्यो र उसको भागाभाग भयो।’

सरकारले ललितानिवास प्रकरणमा समितिको प्रतिवेदनले आवश्यक कारबाहीका लागि संवैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको बताए।

‘मैले पटक-पटक भन्ने गरेको छु ‘म आफू भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ’ उनले भने, ‘गतवर्षको सम्बोधनका क्रममा मैले भनेको थिएँ। कसैले मेरो भनाइलाई भन्नका लागि भनेको ठानेको छ भने त्यसले गल्ती गर्दैछ। दूराचारी र दूराचार, भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा मुखमा पानी हालेर बोल्ने मेरो बानी छैन।’

भ्रष्टाचार गर्ने जो कोही भए पनि अनुहार र पद हेरेन सजाय नहुने जिकिर गरे। सुशासनका संयन्त्रहरू क्रियाशील हुँदा भ्रष्टाचारमा निर्लिप्त हुनेहरू मुर्मुरिएको आरोपसमेत लगाए। दुई वर्षमा राजश्व चुहावट, विनिमय अपचलन तथा अवैध हुण्डी कारोबारी एवं झुठा तथा नक्कली बिल जारी गर्ने कसुरमा कर्मचारी तथा विभिन्न फर्महरूसहित ७ सय ९५ जनाविरुद्ध २६ अर्ब ७ करोड ९९ लाख रुपैयाँ बिगो दाबी गरी अदालतमा मुद्दा दायर गरिएको बताए। 

उनले सरकार कसैप्रति पनि आग्रही वा पूर्वाग्रही नहुने दाबी गरे। सुन तस्करी, वाइडबडीलगायत विभिन्न प्रकरणको निष्पक्ष छानविन हुने बताए। नेपाल ट्रस्टको सम्पत्तिको संरक्षण गरी त्यसलाई मुलुकको हित हुनेगरी उपयोग र प्रवर्द्धन गर्ने जनाए। 

प्रधानमन्त्री ओलीले नेपाल ट्रस्टको स्वामित्वमा रहेको करिब १ सय ७४ रोपनी जग्गामा भएको कानुनविपरीत मोही काण्डको तथ्य पनि सार्वजनिक भइसकेको बताए। ‘केही ब्यक्तिलाई लाभ र्पुयाउने नियतका साथ ‘नीतिगत निर्णय लिनुपर्ने अवस्था भयो’ उनले भने। 

२०६९ साल कात्तिक २ गते यस सम्बन्धमा नेपाल ट्रस्ट ऐन २०६४ को दफा (४)को उपदफा (२) र (३) बिपरित निर्णय भएको देखिन्छ। जसरी ललितानिवास प्रकरणमा राज्यको सम्पत्तिमा भएको अवाञ्छित दोहनको छानविन गरी कारबाही अघि बढाइएको छ, यस काण्डको पनि सोहीअनुरूप छानविन हुने जनाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.