|

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका-१ भूरीगाउँकी बालकुमारी गिरी दुवै आँखाले प्रष्ट देख्न पाएपछि दंग छन्। यसअघि आँखा नदेख्ने गरेको, बादल लागेजस्तो देखिने गरेको बताउँदै उनले एकै पटक दुबै आँखा प्रष्ट देख्न पाएकोमा खुसी लागेको बताइन्।

यस्तै, कालीगौडीका खुसीराम थारू र उनकी श्रीमती फूलिया थारू दुवै जनाले पनि आँखाको अप्रेसन गराए। दुवैले यही ठाउँमा आँखाको मोतीविन्दुको अप्रेसन गराउन पाएकोमा श्रीमान-श्रीमती दुवै खुसी छन्।

'यही ठाउँमा आँखाको मोतिबिन्दुको अप्रेसन गर्न पाइयो', आफ्नो आँखाको अप्रेसनका लागि आएका बर्दियाको गेरुवा गाउँपालिकाका जीवरत्न भण्डारीले भने, 'एकदमै खुसी लागिरहेको छ, गरिव दुःखीका लागि शिविरले धेरै ठूलो सहयोग पुर्‍यायो।'

आफ्नो श्रीमानको आँखाको अप्रेसनका लागि आएकी बारबर्दिया नगरपालिकाकी रेस्मा थारूले अब श्रीमानले आँखा देख्न पाउने भएकोमा एकदमै खुसी लागेको सुनाइन्। उनले भनिन्, 'श्रीमानले दुवै आँखा राम्रोसँग देख्न सक्दैनन्, यो निःशुल्क शिविरले एक आँखाको भने अप्रेसन गर्न पाइयो, फेरि पनि यस्तो शिविर आयोजना गरेमा हामी जस्ताका लागि सहज हुने थियो।'

उनीहरू मात्रै होइनन् आँखाको मोतिबिन्दुको अप्रेसन गराएका ३७३ जना नै उत्साहित भएका छन्। उनीहरूले गरिब दुःखीका लागि यही ठाउँमा निःशुल्क शिविर आयोजना गरेकोमा आयोजकलाई धन्यवादसमेत व्यक्त गरेका छन्।

आँखाको मोतिविन्दुको अप्रेसन गर्ने बिरामी बढेपछि शिविर १ दिन थपिएको थियो। ठाकुरबाबा नगरपालिका र तिलगंगा आँखा अस्पताल काठमाडौंको संयुक्त आयोजनामा माघ २९ गतेबाट ३ दिने निःशुल्क आँखाको मोतीबिन्दुको अप्रेसन शिविर आयोजना गरिएको थियो।

शिविरका क्रममा बर्दियाको बारबर्दिया नगरपालिका, गेरुवा गाउँपालिका र ठाकुरबाबा नगरपालिकाका गरी ३ स्थानीय तहका ३७३ जनाको आँखाको मोतिबिन्दुको सफल अप्रेसन गरिएको तिलगंगा आँखा अस्पतालका बाह्य कार्यक्रम विभाग प्रमुख खेन लामाले बताए।

तीनवटै स्थानिय तहमा संचालन गरिएका आँखा जाँच शिविरमा झण्डै ३ हजार बढिको आँखा चेकजाँच गरिएको थियो। मोतीबिन्दुको अप्रेसनका लागि छनोट भएका बिरामीमध्ये ४ दिन लगाएर ३७३ जनाको आँखाको मोतीबिन्दुको सफल अप्रेसन गर्न सफल भएको अप्रेसनमा सहभागी चिकित्सकहरूले जनाएका छन्।

स्थानीय तहबाट पूर्णरूपमा सहयोग प्राप्त भएकोले ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाका गरी तीन स्थायीन तहका आँखा रोगीको आँखा चेक जाँच र मोतीबिन्दुको सफल गरिएको कार्यक्रम विभाग प्रमुख लामाले बताए।

ठाकुरबाबा नगरपालिकाले हरेक वर्ष तिलगंगा आखाँ अस्पतालको सहकार्यमा आँखा चेकजाँच तथा निःशुल्क अप्रेसन शिविर आयोजना गर्दै आएको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.