|

बागलुङ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मिलेनीयम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लागू भए त्यो राष्ट्र हितविपरीत हुने बताएका छन्। मित्र राष्ट्र चीन विरोधी गतिविधि सञ्चालन गर्नका लागि नेपाललाई प्रयोग गर्न एमसीसी ल्याइएको भन्दै केसीले यो कार्यक्रम लागू भए राष्ट्र र राष्ट्रियतामाथी गम्भीर प्रश्न चिन्ह खडा हुने दावी गरे।

राष्ट्रिय जनमोर्चा बागलुङको प्रथम जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमको शनिवार बागलुङको बरेङ गाउपालिकामा उद्घाटन गर्दै केसीले एमसीसी राष्ट्र र राष्ट्रियताका लागि कुनै पनि हिसावले उपयुक्त नभएको बताए। अमेरीकाले आफ्ना स्वार्थका लागि नेपालमा एमसीसी लागु गर्न खोजेको भन्दै केसीले एमसीसीले देशलाई फाईदा भन्दा घाटा धेरै रहेको टिप्पणी गरे।

‘नेपाललाई एमसीसीमा हस्ताक्षर गराएर इन्डो प्यासेफिक रणनीतिसम्म हस्ताक्षर गराउने योजनामा अमेरिका छ’ केसीले आफ्नो दावी प्रस्तुत गर्दै भने  ‘आफ्नो देशको सार्वभौमिकता, अखण्डता र स्वतन्त्रतालाई दाउमा राखेर, राज्य सञ्चालकहरु एमसीसी पास गराउन लागि परिरहेका छन् ।’

एक स्वतन्त्र र र सार्वभौम सम्पन्न मुलुकमा विदेशी हस्तक्षेप स्वीकार्य नहुने उनले बताए। केसीले राष्ट्रिय जनमोर्चाले संसद र सडकमा यो नीतिको विरोध गर्दै आएको बताए। मेचीदेखी महाकालीसम्म सबै नेपाली जनतालाई आफ्नो राष्ट्रियता नै खतरामा पार्ने सवालमा चनाखो भएर विरोध जनाउन र संसदबाट लागु गर्न नदिन सवै देशभक्त एक हुनुपर्ने उनको आग्रह थियो।

सरकारको दुई वर्षको कार्याकाल सन्तोषजनक नरहेको भन्दै केसीले जनचाहनाअनुसार सरकारले काम गर्न नसकेको आरोपसमेत लगाए। ‘सरकारका दुई वर्ष बितेका छन् तर जनताका समस्या उस्तै’ केसीले भने ‘सरकारले आफैँले भनेको जस्तो आर्थिक विकास गर्न सकेन्।’

जनमोर्चाको यो भेला दुई दिनसम्म चल्ने छ। भेला तथा प्रशिक्षण कार्यक्रममा जिल्ला भरबाट २ सय बढी अगुवा कार्यकर्ता, विभिन्न जनवर्गीय संगठनका प्रतिनिधि पार्टी कार्यकर्ताहरुको सहभागिता रहेको छ।

सो अवसरमा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, बुद्धिजीवी संगठनका दुर्गानाथ खरेल, केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले प्रशिक्षण गर्ने राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाले जानाकारी दिए। प्रशिक्षणपछि, राष्ट्रिय जनमोर्चाको जिल्लाव्यापी अभियान सञ्चालन हुनेछ।

कार्यक्रममा बागलुङका १० वटै पालिका र ८५ वडामा संगठन निर्माण, स्थानीय तहका गतिविधि र विकास निर्माणको अवलोकन, जनहित विपरित गरिएका गलत क्रियाकलाप, अनियमितता, भ्रष्टाचार लगायतका सवालमा कडा प्रतिवाद र संघर्षका कार्यक्रमहरु लैजाने अध्यक्ष थापाले बताए। उनले प्रशिक्षणपछि हुने एकमहिने अभियानमा जिल्लामा ५० हजार सदस्यता वितरण गर्ने, सबै संगठनका गतिविधिहरूलाई क्रियाशील बनाउने योजना रहेको बताए।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पूर्वकेन्द्रीय सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज कृष्ण अधिकारी, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य एवं जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुँगाना, गण्डकी प्रदेशका प्रदेश मामिला सभापति कृष्ण थापा, नेकपा मसाल बागलुङका प्रवक्ता मेखबहादुर पाइजा, बुद्धिजीवी संगठनका केन्द्रिय उपाध्यक्ष काजीगाउँले श्रेष्ठ र प्रगतिशील पत्रकार संघ बागलुङका अध्यक्ष राम सुवेदीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रम राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमरबहादुर थापाको अध्यक्षता, राष्ट्रिय जनमोर्चा सचिवालय सदस्य एवं बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको स्वागत मन्तव्य र राष्ट्रिय जनमोर्चा बागलुङका सचिव भीमलाल पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.