|

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका वडा नं. १० राईमा सामुदायिक सूचना प्रविधि केन्द्र स्थापना भएसँगै सूचनामा यहाँका नागरिकहरूको पहुँच बढेको छ। गाउँमै प्रविधि केन्द्र स्थापना भएपछि महिला तथा सीमान्तकृत समुदायका नागरिकहरूले समेत सहजै रूपमा सूचना पाइरहेका छन्।

गाउँस्तरमै सूचना केन्द्र स्थापना भएपछि स्थानीय हर्षित भएका छन्। अमरगढी नगरपालिका १० राईकी सुन्दरी भट्टले भनिन्, ‘अमरगढी नगरपालिकाका योजना तथा महिला लक्षित कार्यक्रमहरू हामी सूचना केन्द्रबाटै हेर्न पाइरहेका छौँ।’

सूचना प्रविधि केन्द्रमा नागरिक वडापत्र, नगरसभाका वार्षिक नीतिहरू, कार्यपालिकाले गरेका निर्णयहरू, नगरपालिको बजेट तथा कार्यक्रमको विवरण, कर सम्बन्धि विवरण लगायत पालिकाका ऐन, नियम, कार्यविधि तथा प्रतिवेदनहरु (एलइडी) मार्फत आफूहरूले हेरिरहेको उनले बताइन्।

कार्यक्रमको बारेमा जिज्ञासा राख्छन् स्थानीय

सूचना केन्द्र संचालनमा आएपछि स्थानीय नागरिकहरुले वडा कार्यालयको बजेट तथा कार्यक्रमको बारेमा जिज्ञासा राख्ने गरेको अमरगढी नगरपालिका १० का वडाअध्यक्ष विष्णुराज भट्टले बताए। उनले भने, ‘अहिले वडाका विभिन्न समुह तथा व्यक्तिहरुले सूचना केन्द्रबाट जानकारी लिएर नै विषयगत कार्यक्रम तथा योजनाहरुको माग गर्ने गरेका छन्।’

निर्वाचनका बेला जनताहरुलाई सूचना पारदर्शी गर्ने तथा सुशासन कायम गरि जनतालाई सुलभ र सहज रुपमा सेवा प्रवाह गर्ने वाचाहरु पूरागर्न जनतालाई सूचना नलुकाई पारदर्शी बन्नका लागी सुभना केन्द्र मार्फत नगरका कार्यक्रमहरु सार्वजनिक गर्ने गरेको अमरगढी नगरपालिकाका उपप्रमुख संगीता भण्डारीले बताइन्।

सूचना नागरिकको अधिकार भएको बताउँदै उपप्रमुख भण्डारीले आफूहरुले कुनै सूचना र जानकरी नलुकाउनका लागि नै गाउँस्तरमा सूचना प्रविधि केन्द्र स्थापना गरेको बताइन्। नगरपालिकाले सूचना प्रवाह गर्नका लागी मोबाइल एप तथा पालिकाको डाटापोर्टल समेत निर्माण गरिएको उनले जानकारी दिइन्।

सूचना केन्द्रको प्रभावकारीता र प्रयोगबारे दातृ निकाय क्यानडा सरकारका अन्तराष्ट्रिय वरिष्ठ विकास अधिकृत जेनेट एट्सले निरीक्षण गरेका छन्। निरीक्षण पश्चात क्यानडा सरकारका अन्तराष्ट्रिय वरिष्ठ विकास अधिकृत एट्सले आफूहरुले सानो बिउ मात्रै रोपेकाले स्थानीय सरकारले सूचना र पारदर्शीताका क्षेत्रमा विशेष जोड दिनुपर्ने बताए। 

सूचना केन्द्र स्थापनाका लागि क्यानडा सरकार र सेसी नेपालको आर्थिक सहयोग तथा अमरगढी नगरपालिकाको प्राविधिक सहयोग रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.