|

इलाम : पूर्वी पहाडको सवैभन्दा बढी राशिको माइभ्याली गोल्डकपको छैटौँ संस्करणमा ए डिभिजन लिग च्याम्पियन मछिन्द्र र उपविजेता त्रिभुवन आर्मीसहित १० टिम भिड्ने भएका छन्।

आगामी फागुन १५ देखि २५ गतेसम्म हुने प्रतियोगिताको लागि तीन 'ए' डिभिजन क्लब र चार विदेशीसहित १० टिम सहभागी गराइने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिइसकेको थियो। यद्यपि सहभागी सबै टिमको नाम भने सार्वजनिक भएको थिएन।

माइभ्यालीको छैटौँ संस्करणमा शहिद स्मारक 'ए' डिभिनज लिग विजेता मछिन्द्र र उपविजेताको आर्मीका अतिरिक्त 'ए' डिभिजनको क्लब संकटा र रुपन्देहीको गोर्खा ब्वाइज क्लब सहभागी हुने माइभ्याली फुटबल क्लबका अध्यक्ष धीरेन चेम्जोङले बताए। यस वर्षको संस्करणमा विदेशी टोलीको रूपमा भारतका चारवटा क्लब सहभागी हुँदैछन्।

अघिल्लो संस्करणमा सहभागिता जनाएको दार्जिलिङसहित केरला, नागाल्यान्ड र कोलकत्ता प्रिमियर लिग क्लब मोहम्मडेन स्र्पोटिङ सहभागी हुनेछन्। घरेलु टोली माइभ्याली र झापा-११ ले प्रतिस्पर्धा गर्नेछन्।

आयोजकले विदेशी टोलीको रुपमा जापानीज युनिभर्सिटी र भुटानको लिग च्याम्पियन पारो एफसीलाई सहभागी गराउने चाहेपनि कोरोना भाइरसका कारण उनीहरुलाई देश बाहिर जान नदिएको चेम्जोङले बताए। यो वर्ष माइभ्याली गोल्डकपको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

गोल्डकपको टाइटल स्र्पोन्सरको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकलको सट्टामा नगद १ लाख २५ हजार प्रदान गरिने भएको छ।

यसअघिका ३ संस्करणबाट मोटरसाइकल वा स्कुटर प्रदान गरिँदै आएको थियो । हालसम्म सो पुरस्कार आर्मीका विङगर विवेक बस्नेत, मनाङका कप्तान विराज महर्जन र हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरीले पाएका थिए।

२०७१ सालदेखी निरन्तर संचालन हुँदै आएको माईभ्याली गोल्डकपको उपाधी झापा-११ ले २ संस्करण जितेको थियो। त्यसैगरी त्रिभुवन आर्मी, थ्रीस्टार र क्यामरुनी क्लब दाफिन्सले १/१ संस्करण जितेका थिए। आयोजकले प्रतियोगिताको लागि १० हजार बढी दर्शक अटाउने बासको पारापिट बनाउने कामलाई तीव्र पारिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.