कपडाबाट प्याड बनाउन सिक्दै महिला

|

बर्दिया : बर्दियामा पछिल्लो समय महिलामा पाठेघरको मुखको क्यान्सरको समस्या बढ्दै गएको पाइएको छ। पाठेघरको परीक्षण शिविरका क्रममा ठाकुरबाबा नगरपालिकाका मात्रै ३४ जना महिलामा पाठेघरको मुखको क्यान्सर भेटिएको हो।

ठाकुरबाबा नगरपालिकामा आयोजना गरिएको पाठेघरको निःशुल्क परीक्षण शिविरका क्रममा ३४ जना महिलामा पाठेघरको मुखको क्यान्सर भएको भेटिएको नारी एकता शक्ति केन्द्रकी अध्यक्ष मेनका पोखरेलले जानकारी दिइन्।

यस्तै ३४५ जना महिलामा भने पाठेघरमा संक्रमण भएको पाइएको छ। ठाकुरबाबा नगरपालिकाका दुई स्थानमा स्थानीय तहको साझेदारीमा नारी एकता शक्ति केन्द्रले निःशुल्क पाठेघर परीक्षण शिविर आयोजना गरेको थियो। शिविरका क्रममा झण्डै ९ सय बढी महिलाको पाठेघर परीक्षण गरिएको जनाइएको छ। 

कोहलपुर मेडिकल कलेजका स्त्रीरोग विशेषज्ञको टोली र जनस्वास्थ्य कार्यालय बर्दियाका प्राविधिकको टोलीले चेकजाँच गरेको नारी एकता शक्ति केन्द्रकी महासचिव विना भट्टाईले बताइन्।

पछिल्लो समय महिलामा पाठेघरको समस्या बढ्दै गइरहेकाले महिलाले हरेक तीन महिनामा पाठेघरको परीक्षण गर्नु राम्रो मानिने स्त्रीरोग विशेषज्ञ डाक्टरले बताएका छन्।

पाठेघरको मुखको क्यान्सरले महिलाको ज्यान लिने गरेको छ। सानै उमेरमा धेरै सन्तान जन्माउँदा र असुरक्षित यौन सम्पर्कले यो रोगको जोखिम बढिरहेको चिकित्सक बताउँछन्। बेलैमा उपचार गरे निको हुने यो समस्यालाई धेरै महिलाले लुकाउँदा जोखिम बढिरहेको विशेषज्ञहरूको तर्क छ।

गाउँ घरका अधिकांश महिला सिकिस्त नभएसम्म अस्पताल नपुग्ने भएकाले अन्तिम चरणमा पाठेघरको मुखको क्यान्सरको उपचार खर्चिलो बन्नुका साथै ज्यान बचाउनै गाह्रो हुने विशेषज्ञहरु बताउँछन्।

क्यान्सर हुनुपूर्व नै पत्ता लगाउन सकिने भए पनि जनचेतनाको कमीका कारण पाठेघरको मुखको क्यान्सर पीडित महिलाको संख्या बढ्दो क्रममा रहेको क्यान्सर रोग विशेषज्ञको भनाइ छ।

कपडाबाट प्याड बनाउन सिक्दै महिला

बर्दियाका महिला कपडाबाट सेनेटरी प्याड निमार्ण गर्न सिकिरहेका छन्। बर्दियाको ठाकुरबाबा नगरपालिकाका महिलाले कपडाबाट सेनेटरी प्याड बनाउने तालिम लिएका छन्।

ठाकुरबाबा नगरपालिका-९ को आर्थिक सहयोगमा नारी एकता शक्ति केन्द्र भुरिगाँउले प्याड निमार्ण गर्न महिलालाई तालिम प्रदान गरेको हो। तालिममा महिलालाई कपडाबाट सेनेटरी प्याड निमार्ण गर्न सिकाइएको छ। कपडाबाट निमार्ण गरिएको प्याड ६ महिनासम्म प्रयोग गर्न सकिने बताइएको छ।

बजारमा पाइने रेडिमेट प्याड एकपटक मात्र प्रयोगमा आउने र संक्रमण पनि हुने भएकाले महिलाको पाठेघरमा समस्या देखिएकोले पाठेघरको संक्रमणबाट महिलालाई बचाउनको लागि कपडाबाट प्याड बनाउन महिलालाई सिकाइएको हो।

कपडाबाट बनाइएको प्याड नरम र एक पटक प्रयोग गरे पनि पुनः प्रयोगमा आउने भएकाले प्याड किन्ने रुपैयाँ पनि बचत हुने र स्वास्थ्यका हिसाबले पनि राम्रो हुने भएकाले सम्पूर्ण महिलालाई महिनावारी भएको समयमा बजारिया प्याडभन्दा कपडाबाट बनाइएका प्याड प्रयोग गर्न आग्रह गरिएको छ।

महिनावारी भएको समयमा राम्रो प्याडको प्रयोग नभएमा महिलामा पाठेघरको समस्या देखिने भएकाले सकभर नरम सुतीको कपडाबाट बनाइएको प्याड प्रयोग गर्न अति आवश्यक रहेको ठाकुरबाबा नगरपालिका-९ का वडा अध्यक्ष राधा थारूले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.