|

तनहुँ : माछाको माग बढ्न थालेपछि एक व्यापारी फेन्सी व्यवसाय छाडेर माछापालनमा लागेका छन्। माछा पोखरीबाटै बिक्री हुने भएपछि आफ्नै घरमा व्यापार गर्दै आएका दमौलीका व्यवसायी विष्णुकुमार मल्ल माछा पालनतर्फ आकर्षित भएका छन्।

दमौलीमा व्यवसाय गर्दै आएका मल्लले आफ्नो जन्मस्थल फर्किएर माछा पालनमा लागेका हुन्। तनहुँको म्याग्दे गाउँपालिका ५ चिसोपानी भुलभुलेमा ‘छाङ प्रेम कृषि तथा पशु फार्म’ दर्ता गरी मल्लले व्यवसाय परिवर्तन गरेका छन्। जेठ महिनाबाट माछापालन शुरुवात गरेका मल्लले १२ रोपनी क्षेत्रफलमा ८ वटा पोखरीमा माछा पाल्दै आएका छन्।

माछा पालनको लागि पोखरी लगायतका पूर्वाधार निर्माणको लागि २५ लाख रुपैयाँ लगानी गरेको कृषक मल्लले बताए। मोटोपनाले गर्दा मुटुको रोगी भएको र मुटु रोगीका लागि माछा स्वास्थ्य पवर्द्धक तथा उपयुक्त हुने चिकित्सकले सल्लाह दिए अनुरुप उनले पेशा परिवर्तन गरेको मल्लले बताए। उनले भने, ‘प्राङ्गारिक माछा स्वस्थ तथा उपयुक्त भएपछि आफैले उत्पादन गर्ने उद्देश्यले यस व्यवसाय गर्न उचित ठानेर लगानी गरेको हुँ।’

‘रोगी भएर धन कमाउनु भन्दा निरोगी भएर कृषक हुन उचित लाग्यो,’ उनले भने, फेन्सीबाट आम्दानी राम्रो हुँदा हुँदै पनि कृषक बनेको हुँ।’ कृषि ज्ञान केन्द्र तथा भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रसँग प्राविधिक सल्लाह अनुरुप व्यवसाय शुरु गरेको मल्लले बताए।  

६०० किलो माछा विक्री

मल्लको फार्ममा करिव ६०० किलो माछा उत्पादन भएको छ। फार्ममा उत्पादित माछा बिक्री गरिसकेको मल्लले जानकारी दिए। कृषि ज्ञान केन्द्र तनहुँमा तीन दिने र पोखरामा एकदिने थप तालिम लिएपछि माछा पालन थालेको उनले बताए।

‘प्रशस्त पानी भएको ठाउँमा माछा पाल्न गार्‍हो छैन,’ उनले भने, ‘सरकारले समय समयमा स्थलगत अवलोकन गरी प्राविधिक ज्ञान तथा सल्लाह दिनुका साथै माछाका भुरा दिए किसानलाई प्रोत्साहन मिल्नेछ।’ 

दुई लाख ४० हजार आम्दानी

माछा बिक्रीबाट दुई लाख ४० हजार रुपैयाँ आम्दानी भएको छ। २० मुरी धान फल्न गाह्रो हुने ठाउँमा माछा बिक्रीबाट नौ महिनामा दुई लाख ४० हजार आम्दानी भएको मल्लले जानकारी दिए। ‘२० मुरी धान नफल्ने ठाउँमा गरेको माछाबाट चार गुना बढी नाफा आर्जन गरेको छु’ उनले भने। 

चिसो पानीमा हुर्किएका माछा स्वादिलो हुनुका साथै निकाल्ने बेलामा माछा लिन पोखरीमै ग्राहक गर्छन्। कमन, ग्रास, सिल्भरग्रास जातका माछा मल्लले उत्पादन गर्दै आएका छन्। माछा उत्पादन गर्न सके बिक्रीको लागि बजारको अभाव नरहेको उनको भनाई छ। 

‘सुनचाँदी, हिरामोती यही माटोमा छ जाँगर चलाउनुपर्छ विदेश जानुपर्ने अवस्था होइन,’ उनले भने। बेलायत रहेका दुवै छोरालाई स्वदेशमै उद्यमशील बनाउने उद्देश्यले माछा पालन गरेको उनको भनाई छ। ‘माछा पोखरी हेर्न भएपनि छोराहरू जन्मस्थल आइरहन्छन्। अनि विदेशको मोह पनि घट्छ भन्ने विश्वास लिएको छु,’ उनले भने। 

माछा पालनसँगै लहरे तरकारी खेती

माछापालक किसान विष्णुकुमार मल्लले लहरे तरकारी खेतीतर्फ पनि लाग्ने तयारी गरेका छन्। उनले करिव ६ रोपनी जग्गामा बोडी, घिरौंला, चिचिण्डा, करेला जस्ता लहरे तरकारी बाली समेत लगाउने तयारी गरेका छन्।

माछा पोखरीनजिकै रहेको जग्गामा उनले तरकारी खेती लगाउने तयारी गरेको बताए। झार पलाएर बाझो रहेको खाली जमिनमा तरकारी लगाई थप आम्दानी गर्ने उद्देश्यले लहरे बाली लगाउन थालेको उनले बताए।

विदेशी सामान बेचेर धनी हुनुका साथै अर्गानिक उत्पादनले स्वस्थ बनाउने उनको भनाई छ। ‘भारतलगायत विदेशबाट आयात हुने माछा कम गरी स्वदेशी उत्पादनलाई बढाउन माछापालनतर्फ लागेको उनको भनाई छ। मल्लको फर्मबाट दुई जना प्रत्यक्ष रोगजार भएका छन्। मल्ल तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइको पूर्व सभापति समेत हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.