|

काठमाडौं : प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले काठमाडौं तराई-मधेस द्रूतमार्ग आयोजनामा गरिने टेण्डर प्रक्रियालाई पारदर्शी बनाउन नेपाली सेनालाई निर्देशन दिएको छ।

सोमबार समितिमा भएको छलफलपछि टेण्डर प्रक्रियामा पारदर्शीता अपनाउँदै आयोजना तोकिएको समयमै सम्पन्न गर्न द्रूत गतिमा काम अगाडि बढाउन समितिले निर्देशन दिएको हो। समिति सभापति कल्याणीकुमारी खड्काले मुआब्जा वितरणलगायत आयोजनामा देखिएका अन्य समस्याको चाँडो समाधान गर्न पनि निर्देशन भएको बताइन्।

समितिले आयोजनाको स्थलगत भ्रमण गर्ने निर्णय पनि गरेको छ। राष्ट्रिय गौरबको आयोजना मध्येको एक तराई मधेस द्रूतमार्गको निर्माण कार्य २०८१ असार मसान्तभित्र सक्ने लक्ष्यका साथ निर्माणाधीन आयोजनालाई सम्पन्न गर्न बनाइएको विस्तृत कार्ययोजना समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिइएको उनले बताइन्।

राष्ट्रिय गौरवको आयोजनामध्येको एक काठमाडौं-तराई-मधेश द्रूतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाएको छ। सेनाले सोमबार समितिमा अहिलेसम्म भएको कार्यप्रगतिको विषयमा जानकारी गराएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.