|

हेटौंडा : बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुयाँलले सोमबार प्रदेश प्रमुख विष्णु प्रसाईबाट शपथ लिएका छन्। उनले शपथ लिने तीन चोटीको हल्लापछि मन्त्रीको पदभार ग्रहण गरेका हुन्।  

मुख्यमन्त्री डोरमणि पौडेलसहित प्रदेशका मन्त्रीहरूको उपस्थितिमा नव नियुक्त मन्त्री फुयाँलले शपथ लिएका हुन्। मन्त्री फुयाँलले ईश्वरको नाममा शपथ लिएका हुन्।  प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं जिल्ला क्षेत्र नम्बर ३ प्रदेशसभा २ बाट निर्वाचित फुयाँललाई बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीका रुपमा नियुक्त गरेका हुन्। 

लामो राजनीतिक यात्रापछि पहिलो पटक मन्त्री भएका मन्त्री फुयाँल यसअघि संविधानसभाका सदस्य समेत रहेका थिए। तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले वर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयको काम मुख्यमन्त्री आफैँले समाल्दै आएका थिए। तर अब फुयाँलले सम्हालेका छन्।

कागेश्वरीका फुयाँल :  वैदारदेखि मन्त्रीसम्म  

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका २ घर भएका फुयाँल जब सरकारी जागरिबाट बर्खास्तीमा परे त्यसपछि उनको राजनीतिक यात्रा सुरु भएको हो। २०४९ साल बैशाख १७ गते त्यति बेलाको सरकारले कर्मचारीले आन्दोलन गरेको भन्दै वर्खास्त गरेको थियो। कर्मचारी आन्दोलनका कारण नै २०४८ सालमा नै फुयाँल निलम्बनमा परेका थिए।

२०३८ साल चैत २९ गते वैदार पदबाट सरकारी जागिर सुरु गरेका रामेश्वर फुयाँल मुखिया, खरदार, नायव सुब्बा हुँदै शाखा अधिकृतका रुपमा नाम निकालेका थिए। २०४४ सालमा बढा लेखापाल र शाखा अधिकृत पदमा एकैपटक नाम निकाले पनि कर्मचारी आन्दोलनमा लागेकै कारण ४ वर्षपछि सरकारी जागिरबाट निकालिएका थिए। 

नेकपा बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रहेका रामेश्वर फुयाँल राजनीतिक क्षेत्रमा गाउँपालिका अध्यक्ष, सभासद, सांसद हुँदै पहिलोपटक मन्त्री बनेका हुन्। २०४९ सालमा काठमाडौंको आलापोट गाविसको अध्यक्ष पदमा निवार्चित भएका उनी त्यसपछि २०५४ सालमा पनि गाविसको चुनावमा पनि अध्यक्षमा निवार्चित  भएका थिए।

फुयाँल काठमाडौं जिल्ला विकास समितिको उपसभापतिमा समेत निर्वाचित भएका थिए। २०६४ सालको पहिलो संविधानसभाको चुनावमा काठमाडौं क्षेत्र नम्बर ३बाट पराजित भएका उनी २०७० सालको दोस्रो संविधानसभाको चुनावमा निर्वाचित भएका थिए। यस्तै २०७४ सालको प्रदेशसभाको चुनावमा काठमाडौं जिल्ला क्षेत्र नम्बर ३ प्रदेशसभा २ बाट फुयाँल निर्वाचित भएका थिए। तत्कालीन एमालेको बागमती प्रदेशको मुख्य सचेतक, पार्टी एक भएपछि पनि नेकपाको मुख्य सचेतकका रुपमा काम गरेका थिए।

२०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका फुयाँलको राजनीतिक यात्रा धेरै लामो  भएता पनि जनसंगठनमा बसेर काम गरेको समेत अनुभव रहेको छ। तत्कालीन  अनेरास्ववियूमा लागेका फुयाँल २०४१ सालमा तत्कालीन एमालेको सदस्य भएका थिए।

२०४३ साल देखि जिल्ला तहको संगठनमा वसेर काम गरेका उनले २०४७ सालमा काठमाडौं जिल्ला कमिटीको एमालेको उपसचिवका रुपमा काम गरे। २०५४ साल फागुन २१ गते काठमाडौं जिल्ला कमिटीको सचिवका रुपमा काम गर्दै लगातार २०६६ सालसम्म तत्कालीन एमालेको जिल्ला सचिवका रुपमा रहेर काम गरे।  उनले २०५६ सालमा काठमाडौं उपत्यका समन्वय कमिटीको उपसचिवका रुपमा काम गरेका थिए।

पार्टीको आठौं राष्ट्रिय महाधिवेशनपछि २०६५ सालमा केन्द्रीय सदस्यका रुपमा काम गरे। फुयाँलको विशेष गरी पार्टीमा जनपरिचालनमा दख्खलता छ।

सुरुङमार्गबाट काम सुरु गर्छु : मन्त्री फुयाँल

बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री फुयाँलले सपथ ग्रहणपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै सुरुङ मार्गबाट आफ्नो काम सुरु गर्ने बताए।

प्रधानमन्त्रीको सपना सुखी नेपाली, समृद्ध नेपाल बनाउने तर्फ वडा सदस्यसम्म लाग्नु पर्ने भन्दै आफू उक्त लक्ष्यतर्फ लाग्ने बताए। उनले तीनतीन महिनामा मन्त्रालयको प्रगति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त समेत गरेका छन्। उनले बागमती प्रदेशमा मौलिक ढंगले विकास गर्ने तर्फबाटअगाडि बढ्ने बताए।   
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.