|
फाइल फोटो

मकवानपुर : बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौंई जोड्ने भीमफेदी-काठमाडौं सुरुङमार्ग निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। 

मन्त्री फुयाँलले सञ्चारकर्मीसँग कुरा गर्दै मुलुकको समृद्धिका लागि प्रधानमन्त्रीले देखाएको सपना र बागमती प्रदेशका मुख्यमन्त्रीले बनाएको योजना पूरा गर्न आफू लागिपर्ने बताए। नेकपा भित्रको विवादका कारण फुयाँलले तीन पटकको प्रयासमा प्रदेश मन्त्रीको सपथ लिन पाएका हुन्। 

उनले प्रदेशका १३ वटा जिल्लाका ११९ वटै स्थानीय तहको विकासका लागि आफूले दिनरात नभनी काम गर्ने बताए। 'अबको तीन महिनामा आफूले गरेको कामको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेछु', उनले भने। 

फुयाँलले कर्मचारीतन्त्रलाई जनतामुखी बनाउन मुस्कानसहितको सेवाको अवधारणा पूर्णरुपमा कार्यान्वयन गरिने बताए।

कर्मचारी क्षेत्रलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । उनले पारदर्शिता र जवाफदेहीप्रति पूर्ण प्रतिवद्ध भएर अगाडि बढ्ने उल्लेख गरेका छन्। 

यस्तो छ राजनीतिक यात्रा

काठमाडौँ जिल्ला क्षेत्र नम्बर ३ तथा प्रदेशसभा 'ख' बाट प्रदेश सभा सदस्यमा निर्वाचित फुयाँल यसअघि संविधानसभा सदस्य थिए।

नेकपा बागमती प्रदेशका प्रमुख सचेतक समेत रहेका फुयाँल लामो राजनीतिक यात्रापछि मन्त्री बनेका हुन्। वि.सं. २०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका फुयाँल २०४१ सालमा तत्कालीन एमालेको सदस्य भएका थिए।

वि.सं. २०६५ सालमा सम्पन्‍न पार्टीको आठौ राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्यका रुपमा निर्वाचित फुयाँल २०४९ र २०५४ सालमा काठमाडौँको आलापोट गाविसको अध्यक्ष, २०७० सालको संविधानसभाको चुनावमा निर्वाचित भएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.