|

हेटौंडा : मकवानपुरको बागमती गाउँपालिकाको जनता मावि प्राविधिक शिक्षालयको खेल मैदानमा जारी तेस्रो बागमती गोल्डकपमा जावलाखेल युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार सम्पन्न अन्तिम आठमा मकवानपुरको लिग च्याम्पियन डाँफे युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। दुवै गोल सुजित बुढाथोकीले गरेका हुन्। खेलको १४ औं मिनेटमा जावलाखेलका सुजित बुढाथोकीको गोलबाट अग्रता लिएको थियो। उनले फोफना फोडेको क्रसमा डि बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

बुढाथोकीले पुनः २८ औं मिनेटमा दोस्रो गोल गरे। सेमिफाइनलमा जावलाखेलको भेट संकटा र वीरगञ्ज युनाइटेड बीचको विजेतासँग हुनेछ। जावलाखेलको जितमा सुजित बुढाथोकी नायक सावित भए। उनले खेलमा दुई गोल गरे। खेलको ६० औं मिनेटमा जावलाखेलका रब लामाले प्रहार गरेको आकर्षक बल मकवानपुरको गोलपोष्ट नजिकबाट बाहिरिएको थियो।

खेलमा मकवानपुरका हिसुब थपलिया र विश्व अधिकारीले केही राम्रो मौका पाए पनि सदुपयोग गर्न सकेनन्। पहिलो हाफमा जावलाखेलमाथि मकवानपुरले केही दबाब राखे पनि गोल भने गर्न सकेन। दोस्रोमा पहिलो हाफको अग्रतालाई कायम राख्दै जावलाखेल विजयी भयो। खेलमा दुई गोल गरेका जावलाखेलका सुजित बुढाथोकी म्यान अफ दी म्याच घोषित भए। उनले नगद पाँचहजार रुपैयाँ प्राप्त गरेका छन्।

प्रतियोगिताअन्तर्गत भोलि बुधबार साविकको विजेता सरस्वती युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता फागुन १२ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद छ लाख र तीनलाख रुपैयाँ प्राप्त गर्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.