|

भक्तपुर : भक्तपुर नगरपालिकाको आयोजनामा फागुन ८ देखि भक्तपुरमा अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता हुने भएको छ। चार दिनसम्म चल्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक भक्तपुर नगरपालिकाले जानकारी दिएको छ।

प्रतियोगिता सञ्चालनको लागि नगरप्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा प्रतियोगिता मुल समिति र अन्य १२ वटा उपसमिति गठन गरिएको नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी जनाएको छ।

प्रतियोगितामा फिल्ड इभेन्ट्सअन्तर्गत सटपुट, लङजम्प, ज्याभलिन थ्रो, डिसक्रस थ्रो, हाइजम्प, ट्रिपल जम्पमा प्रतिष्पर्धा हुनेछ। त्यस्तै, ट्रयाक इभेन्ट्सअन्तर्गत १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, पाँच हजार मिटर, १० हजार मिटर, ४२.१९५ किलोमिटर (म्याराथन), २१.०९ किलोमिटर (हाफ म्याराथन), चार गुणा १०० मिछर रिले, चार गुणा २०० मिटर रिलेमा प्रतिष्पर्धा हुनेछ।

प्रतियोगिताको फिल्ड र ट्रयाक दुवै इभेन्ट्समा प्रथम हुनेलाई पाँच हजार, द्वितीयलाई तीन हजार र तृतीयलाई दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। यस्तै, म्याराथन र हाफ म्याराथनका विजेताले ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगितामा दाङको घोराही उपमहानगरपालिका, ललितपुरको ललितपुर महानगरपालिका, भक्तपुरको चाँगुनारायण नगरपालिका, रामेछापको रामेछाप नगरपालिका, मध्यपुर थिमी नगरपालिका र भक्तपुर नगरपालिकाले सहभागिता जनाउने भएका छन्। यस्तै, काठमाडौंको कीर्तिपुर नगरपालिका, शंखरापुर नगरपालिका, मनोहरा कागेश्वरी नगरपालिका र टोखा नगरपालिका सहभागी हुनेछन्।

उदयपुरको चौडण्डीगढी नगरपालिका, सिन्धुपाल्चोकको साँगाचोक चौतारागढी नगरपालिका, रामेछापको मन्थली नगरपालिका, नुवाकोटको विदुर नगरपालिका, चितवनको भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिका गरी १६ वटा नगरपालिकाको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनका लागि करिब ३० लाख रुपैयाँ खर्च हुने नगरप्रमुख प्रजापतिले जानकारी दिए। प्रतियोगिता सिद्धपोखरीको उत्तर र पश्चिमतर्फको खेलमैदानमा हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.