|

पर्सा : भन्सारको राजश्वबाट मुलुकको बढी खर्च चलाउने सरकारको अपेक्षामा सकसपूर्ण हुने देखिएको छ। मुलुकका भन्सार नाकामध्ये प्रमुख भन्सार नाका वीरगन्जमा चालु आर्थिक वर्षको ७ महिना ४ दिनमा उठेको राजश्व संकलनको तथ्यांकले सरकारको अपेक्षा सकसपूर्ण हुने देखिएको हो।

राजश्व संकलनमा सधैँ सरकारी लक्ष्य भेटाउँदै आएको वीरगन्ज भन्सार कार्यालयले गतवर्षको कात्तिकबाट लक्ष्य भेट्न सकेको छैन। झन चालु आर्थिक वर्षको ७ महिना ४ दिनमा लक्ष्यको ४५.२३ प्रतिशत मात्र राजश्व संकलन हुनुले सरकारी लक्ष्य नै धर्मराउने देखिन्छ।

राजश्व विभागले वीरगन्ज भन्सार कार्यालयलाई चालु आर्थिक वर्षका लागि दिएको राजश्व संकलनको कुल लक्ष्य १ खर्ब ८८ अर्ब ६२ करोड ४९ लाख ९४ हजार हो। तर, आधा वर्षभन्दा बढी समय अर्थात् ७ महिना ४ दिनमा जम्मा ८५ अर्ब ३२ करोड ४० लाख ९७ हजार मात्र यो भन्सार नाकामा राजश्व संकलन भएको वीरगन्ज भन्सारको तथ्यांकले देखाएको छ।

लक्ष्यमा उक्त रकम मात्र संकलन हुनु भनेको ४५.२३ प्रतिशत मात्र भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी विमलप्रसाद साहले थाहाखबरलाई बताए। समग्रमा भन्सारमा कम राजश्व संकलन हुनु सकारात्मक भए पनि विभागले हामीलाई दिएको दायित्व भने पूरा नभएको उनको भनाइ छ।

७ महिना ४ दिनभन्दा, ४ महिना २६ दिनलाई बढ बोझ

चालु आर्थिक बर्षमा वीरगन्ज भन्सार कार्यालयले राजश्व विभागले दिएको राजश्वको लक्ष्य भेट्ने हो भने अरू एक खर्ब ३ अर्ब ३० करोड ८ लाख ९७ हजार राजश्व संकलन गर्नुपर्ने हुन्छ। तर, आर्थिक वर्ष ०७५/०७६ को कात्तिकबाट ओरालो लागेको लक्ष्य भेट्न वीरगन्ज भन्सार कार्यालयलाई त्यति सजिलो छैन।

चालु महिनामा झन चीनमा फैलिएको कोरोना भाइरसको कारण नेपाली आयातकर्ताले चीनबाट मालवस्तु कम आयात गर्दा लक्ष्य भेटिने सम्भावना नै टरेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी साहले तर्क गरे।

यी हुन राजश्व घट्नुका कारण

मुलुककै प्रमुख भन्सार कार्यालयले लक्ष्य भेट्न नसक्नुमा पहिलेको तुलनामा सवारी आयात घटेको सूचना अधिकारी साहको तर्क छ। त्यसै, गरी सिमेन्टको कच्चा पदार्थ फ्याइएस, क्लिन्कर र कोइलाजस्ता कच्चा पदार्थको पनि आयातमा कमी आएको छ।

कुल पैठारीको मूल्यमा पनि गिरावट आउँदा लक्ष्य नभेटिएको सूचना अधिकारी साहले बताए। मुलुकका लागि आयात प्रतिस्थापन अर्थात् मूल्य घट्नु सकारात्मक भए पनि कार्यालयको लक्ष्य भने पूरा नभएको सूचना अधिकारी साहको तर्क छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.