|
फाइल तस्बिर

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्व केन्द्रित कार्ययोजनासहितको ट्राफिक व्यवस्थापन मिलाएको छ। महाशाखाले पशुपतिनाथ मन्दिरमा आउने भक्तजन एव दर्शनार्थीको सवारी आवागमनलाई सरल, सहज तथा व्यवस्थित बनाउनका लागि योजनाबद्ध ट्राफिक व्यवस्थापन गरेको महाशाखाले जनाएको छ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार, एयरपोर्ट हुँदै पशुपति मन्दिर आउने विदेशी पर्यटक, २ पांग्रे र साना सवारी साधनको लागि तिलगंगा र वाइसिएल मार्ग, नक्साल कालोपुल हुँदै आउनेलाई सिफल चौर र अमलकोट, पशुपति विकास कोष र संस्थानका सवारी साधनकालाई देवउद्यानस्थित कोषको कार्यालयमा पार्किङको व्यवस्था मिलाइएको छ।

त्यसैगरी, पासबाहक, सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय प्रहरी वृत्त, गौशाला र बाग्मती कोरिडोर, जोरपाटीबाट चावहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाइएको छ।

महाशाखा प्रमुखले शिवरात्रि पर्वको अवधीभरि भक्तजनलाई सरल एवं सहज रूपमा आवागमनको व्यवस्था मिलाउनको लागि ५०० बढी ट्राफिक प्रहरी परिचालन गरिएको र आवश्यकताअनुसार डाइभर्सन, पशुपति क्षेत्रभित्र सवारी निषेधसमेत गरिने जानकारी दिए।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले दर्शानार्थीको अत्याधिक चाप हुन गई गौशाला चोक हुँदै चल्ने यातायात सेवा प्रभावित हुने देखिएमा यात्रुको सुबिधालाई मध्येनजर गर्दै गौशाला क्षेत्र भइ चल्ने सवारी साधनलाई केही समयको लागि वैकल्पिक सडकको प्रयोग गर्न डाइभर्सन गरि आवागमनको व्यवस्था मिलाइको बताए।

त्यसैगरि, तिलगंगा, गौशाला, मित्रपार्क र चाबहिल भई चल्ने मालबाहक सवारी साधनलाई भने तीनकुने, सिनामंगल, जोरपाटी नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँबानेश्वरलगायतका स्थानबाट गौशाला क्षेत्र प्रवेशमा रोक लगाई वैकल्पिक सडक प्रयोगको व्यवस्था मिलाइने उनले बताए।

उनले एयरपोर्ट जाने, पर्यटक तथा गौशाला क्षेत्र भई चल्ने सवारी साधनहरूको आवागमनमा केहि प्रभावित हुन सक्ने हुनाले गन्तब्यका लागि समयमै निस्कने, वैकल्पिक सडकको प्रयोग गर्ने र सडकको ताजा अवस्थाको बारेमा थाहा पाउन मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुन्नसमेत अनुरोध गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.