|
भारतीय रासन कार्ड

जनकपुरधाम : करोडौँको सम्पत्ति हड्प्‍न वडाध्यक्षकै सहयोगमा एक भारतीय नागरिकले जिल्ला प्रशासन कार्यालय धनुषाबाट वंजश नागरिकता बनाउन लागेको भेटिएको छ।

भारत बिहार राज्यको सीतामढी घर भएका रोहित कुमारले वंजश नागरिकता लिन खोजेका हुन्। उनले जनकपुर वा नेपालको कुनै पनि ठाउँमा कहिल्यै बसोबास गरेका छैनन्। यद्यपि निःसन्तान एक व्यक्तिको निधन भएपछि उनैको छोरो भन्दै नागरिकता बनाउने कसरतमा लगेको भेटिएको हो।

नागरिकता बनाउन वडा कार्यालयबाट सम्पूर्ण प्रक्रिया उनले पूरा गरिसकेका छन्। उनले बिहीबार सम्पूर्ण कागजात जिल्ला प्रशासन कार्यालयमा पेससमेत गरेका थिए। तर, ढिलो भएकाले नागरिकता भने बनाउन नपाएको जनकपुरधाम ५ का गोविन्दकुमार मारवाडीका छोरा कन्हैया खेसारियाले खुलाएका छन्।

खेसारियाका ठूलो बुवा श्रवणकुमार मारवाडीको डेढ महिनाअघि निधन भएको थियो। उनी निःसन्तान थिए। तर, उनको नाममा जनकपुरमा चार करोडभन्दा बढीको सम्पत्ति छ। त्यो सम्पत्ति हड्प्न रोहितले वडाध्यक्ष मनोजकुमार साह र सिडिओ प्रदीपराज कणेललाई आर्थिक प्रलोभनमा पारेर उनले नागरिकता बनाउन लागेको खेसारियाले आरोप लगाए।

रोहितको भारतीय रासन कार्ड देखाउँदै खेसारियाले भने, ‘हेर्नुस् रोहित भारतीय नागरिक भएको प्रमाण। उहाँको नेपालमा बसेको पनि कुनै कतै रेकर्ड छैन। तर, वडाध्यक्षलाई प्रभावमा पारेर नागरिकता बनाउन लागेका छन्।’

नक्कली कागजातको आधारमा रोहितले नागरिकता बनाउन लागेको भनेर प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउँदा पनि बेवास्ता गरेको गुनासो गरे। ‘मेरो ठूलो बुवा निःसन्तान हुनुहुन्थ्यो’, उनले भने, ‘तर, पनि उहाँको नाममा ४ करोड बढीको सम्पत्ति छ। त्यो सम्पत्ति हड्प्‍न नागरिकता बनाउन लागेकाले सम्बन्धित निकायले त्यसलाई रोकुन्।’

यता, वडाध्यक्ष साहले प्रमाणको आधारमा वंजश नागरिकताका लागि सिफारिस दिएको दाबी गरेका छन्। उनले निधन भएका श्रवण मारवाडीले 'गोद' (धर्मपुत्र) लिएको कागजातसमेत पेस गरेको बताए।

उनले रोहितका बुवाको समेत वंशज नागरिकता रहेको आधारमा सिफारिस गरेको उनले बताए। ‘रोहित नेपाली नागरिक रहेकोमा २ सय प्रतिशत ढुक्क छु’, उनले भने, ‘पहिले सबै कुरा बुझेर मात्रै नेपाली हो कि भारतीय भनेर भन्‍नुस्।’

यस विषयमा प्रमुख जिल्ला अधिकारी कणेलसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.