|

पाल्पा : आज ‘महाशिवरात्रि’ पर्व। हिन्दुधर्मालम्बीले आराध्यदेव शिवको पूजाआराधना गरी ‘यो पर्व मनाइरहेका छन्। शिवरात्रि पर्वका अवसरमा पाल्पाका शिवालयमा भक्तालुको दिनभर घुइँचो लागेको छ। जिल्लाको रिब्दीकोट गाउँपालिका, तानसेन नगरपालिकालगायतका दशवटै स्थानीय तहमा रहेका शिवको मन्दिरमा भक्तालुको घुइँचो लागेको हो।

 रिब्दीकोट गाउँपालिका-५ कुसुमखोलास्थीत जलेश्वर मन्दिरमा शुक्रबार बिहानैदेखि भक्तालुको घुइँचो लागेको थियो। विगत वर्षदेखि गाउँपालिकाले बजेट विनियोजन गरेर यहाँको विकास गरेपछि भक्तालुको आकर्षण बढेको हो।

धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्नको लागि गाउँपालिकाले विशेष योजना बनाएर जलेश्वर क्षेत्रको विकास गर्न लागेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए। उनका अनुसार मन्दिरसहित शिवका विभिन्न आकारका मूर्ती र त्रिशूल निर्माण गरिएको छ।

बालपुरी स्वामीले चिम्टा गाडेर यहाँ पानी निकालेको किवंदन्ती छ। त्यो पानीको स्रोतबाट ४ वटा वडाका स्थानीयले पानी खाँदै आएका छन्। ‘यो क्षेत्र पानीको स्रोत पनि हो’ उनले भने ‘पानी, जंगल र जैवीक विविधताको हिसाबले यहाँको विकास गर्न सकिन्छ।’

गाउँपालिकाले लाखौ बजेट विनियोजन गरेर जैवीक विविधता र धार्मीक पर्यटकीय हिसाबले विकास गर्ने काम भइरहेको उनले बताए। यातायातको सहज व्यवस्थाको लागि सडक स्तरोन्नती गर्ने काम भइरहेको छ। 

एक सय ८ शिवलिंग र १ सय ८ गौमुखे धारा निर्माण गर्ने काम भइरहेको छ। यहाँ आगामी वर्षमा आन्तरिक तथा वाह्य धार्मिक पर्यटकको अझै बढी उपस्थिति रहने अध्यक्ष जिसीको दावी छ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्व भएको किवंदन्ती छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.