अभिभावक भन्‍न थाले : दाइजो लिँदैनौं पनि, दिँदैनौं पनि

|

जनकपुरधाम : तराई-मधेसलाई दाइजोको कहरले सताएको छ। दाइजोका कारण कयौं महिलाले श्रीमान्, सासु र ससुराबाटै ज्यान गुमाउनु परेको छ। दाइजोप्रथाले गाडेको जरो जति अभियान चलाएपनि उखेलिन सकेको छैन। 

तर मधेसमा विस्तारै परिवर्तनका रेखा पनि देखा पर्दै गएका छन्। अब भने मधेसमा दाइजो नलिइ विवाहको चलन सुरु भएको छ। 

प्रदेश २ का प्रदेश २ का दुई युवकले बिनादाइजो विवाह गरेर चर्चा पाएका हुन्। विहिवार जनकपुरस्थित जानकी मन्दिरमा आएर रौतहटको दुर्गा भगवती गाउँपालिका-५ का डाक्टर राकेश स्वर्णकारले बिनादाइजो विवाह सम्पन्‍न भएको हो।

काठमाडौंको शिक्षण अस्पतालमा कार्यरत डा. स्वर्णकार र रौतहटकै गौर नगरपालिका-५ की आरती साहबीच हिन्दु धर्मअनुसार पण्डितद्वारा विवाह सम्पन्‍न भयो। स्नातक गरेकी आरती रौतहटको मौलापुर मालपोत कार्यालयमा कार्यरत छिन्। बेहुला स्वर्णकारका बुवा बबुनन्दन साह त्यही मालपोत कार्यालयका प्रमुख हुन्।

मधेसमा विवाह गर्दा ठूलो संख्यामा जन्ती जाने चलन छ। दर्जनौं गाडी भाडा गरेर जन्ती लग्दा ठूलो धनराशी खर्च हुन्छ। झन् खोज पनि समाजमा गर्ने चलन छ। 

तर डा. स्वर्णकारले न जन्ती लगे, न धेरै गाडी लिएर बेहुलीको घर पुगे। उनले आफ्न्तलाई मात्र लिएर जनकपुरको जानकी मन्दिर आइपुगे। बेहुली पनि आफ्न्त लिएर जानकी मन्दिर आएर विवाह सम्पन्न गरी ससुराली पुगिन्।

१६ दिनअअिघ मात्रै बेहुली आरतीका बुवाको हर्टअट्याक भएर निधन भएको थियो। जसका कारण उनको विवाह कसरी गर्ने भनेर परिवारमा चिन्ता थपियो। तर दुई साता नबित्दै विवाहको टुङ्गो लाग्यो। बेहुलाका बुवाले दाइजो नलिने भनेर उनको परिवारमा खुसीयाली छायो।

बेहुली आरतीका दाई सन्तोष साह भन्छन्, ‘बुवाको निधन भएपछि बहिनीको कसरी विवाह गर्ने भन्‍ने ठूलो चिन्ता थियो। तर दाइजोबिना बहिनीको विवाह गर्न पाउँदा खुसी भएको छु।’ उनले लत्ताकपडा र विवाहकै लागि केही अन्य समान खरिद गर्दा मात्र ५०/६० हजार खर्च भएको सुनाए।

यता, बेहुलाका बुवा बबुनन्दन साहले समाजबाट दाइजो प्रथा हटाउने उद्धेश्यले छोरा डाक्टर भएपनि विवाहमा एक रुपैया पनि नलिएको बताए। उनले दाइजो नलिएर विवाह गर्न सबैमा अनुरोध समेत गरे। भने, ‘राकेश जेठो छोरा हुन्। उनको विवाह विना दाइजो गरे। अब सानो छोराको विवाहमा पनि दाइजो लिन्‍नँ।’

यस्तै माघ ७ मा बिनादाइजो धनुषाको जनकपुरधाम घर भएका रामविनय यादव र सप्तरीको विष्णुपुर-१ घर भएकी चर्चित गायिका अञ्जु यादबबीच विवाह सम्पन्‍न भयो। बिनादाइजो विवाह गरेको भन्दै बेहुला यादवलाई बालविवाह एवम् दाइजोमुक्त नेपाल राष्ट्रिय अभियानले सम्मानसमेत गरेको हो।

महिला अधिकारकर्मी रेणु कर्णले एक साताभित्रै मधेसका दुई जोडीले बिनादाइजो विवाह गरेर ठूलो सन्देश दिएको बताउँछिन्। उनी भन्छिन्, ‘दाइजोबिना विवाह गरेर दाइजो प्रथालाई चुनौती दिएको हो। यो सुखद पक्ष हो।’ दाइजो प्रथालाई हटाउन यसरी नै युवाहरु अगाडी आउनुपर्ने उनको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.