|
फाइल तस्बिर

काठमाडौं : विशेष अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणका ३४ जना प्रतिवादीलाई उपस्थित हुन म्याद जारी गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेका १ सय ७५ मध्ये अहिलेसम्म ३४ जना प्रतिवादीलाई उपस्थित हुन म्याद जारी गरिएको विशेष अदालतका प्रवक्ता एवं उपरजिष्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए।

३-४ दिनदेखि अदालतले प्रतिवादीहरूलाई उपस्थित हुन म्याद जारी गरिरहेको छ। पाण्डेयका अनुसार अहिलेसम्म ३४ जनाको नाममा म्याद गइसकेको र अन्यको हकमा म्याद जाने क्रममा रहेको छ। म्याद जान बाँकीको नाम र वतन रुजु गर्ने काम भइरहेको छ।

प्रवक्ता पाण्डेका अनुसार प्रतिवादीहरूले म्याद गएको मितिले १५ दिनभित्र अदालतमा उपस्थित हुनुपर्नेछ। उनीहरू म्यादभित्र वयान दिएपछि त्यसपछि साक्षी बुझ्ने लगायतका अरू कार्वाही अगाडि बढ्नेछ।

यस प्रकरणका आरोपित कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजय गच्छदारलाई म्याद पठाउन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। भौतिक योजना तथा निर्माणमन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लागेका कांग्रेस संसदीय दलका उपनेतासमेत रहेका गच्छदारको अदालतमा मुद्दा दर्ता भएसँगै सांसद पद स्वतः निलम्बनमा परिसकेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै गच्छदार, पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, अख्तियारका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यातसहित १ सय ७५ जना विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो।

आरोपपत्र दायर गरिएकामध्ये ११० जनालाई भ्रष्टाचारको कसुर र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाईएको छ। अख्तियारले गच्छदार र पूर्वमन्त्री श्रेष्ठविरुद्ध ९ करोड ६५ लाख तथा जोशीविरुद्ध अख्तियारले ७ करोड ८ लाख बिगो दाबी गरेको छ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियारले मालपोल कार्यालय, भूमि सुधार तथा व्यवस्था विभाग, नापी कार्यालय, भूमिसुधार कार्यालय, भूमिसुधार तथा व्यस्था मन्त्रालय, भवन निर्माण सम्भार डिभिजन कार्यालय, सहरी विकास तथा भवन निर्माण विभाग, भौतिक योजना तथा निर्माण मन्त्रालय र गुठी संस्थानलगायत विभिन्न कार्यालयका कर्मचारीहरूलाई प्रतिवादी बनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.