|

पर्वत : पर्वतमा भएको चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपीएफले जितेको छ।

लिग कम नक आउट आधारमा भएको खेलको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै तेस्रो संस्करणमा पनि विजयी बनेको एपीएफले सोही यात्रालाई निरन्तरता दिँदै चौथो संस्करणमा पनि उपाधि हात पारेको हो। वेस्ट अफ फाइभको आधारमा भएको खेलमा एपीएफको पक्षमा २५–१८, २५–२१ र २५–१२ अंक सहितका तीन सेट परे। जितसँगै एपीएफले नगद दुई लाख पाएको छ भने उपविजेता पुलिस क्लबले नगद एक लाख रुपैयाँ पाएको छ।

सेमिफाइनलमा एपीएफले होङग्वान्जी न्यु डायमन्डलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो भने पुलिसले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो। यस्तै, तेस्रो स्थानका लागि भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै होङवान्जी न्यु डायमन्ड एकेडेमीले बाजी मारेको छ।

२५–२३, २५–२१ र २५–२२ अंक सहितको सोझो सेटमा डायमन्डले आर्मीलाई पराजित गरेको हो। तेस्रो बनेको डायमन्डले नगद पचास हजार रुपैयाँ पाएको छ।
तेस्रो स्थान र फाइनलका लागि शुक्रबार नै खेल खेलाउने भनिएको भए पनि वर्षा भएर खेल मैदान चिप्लो बनेपछि दुवै खेलहरू शनिबारका लागि सारिएका थिए।

महिलाको व्यवस्थापनमा सञ्चालित रेडियो दिदीबहिनी पर्वतको आयोजनामा हरेक वर्ष आयोजना हुने प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता हुँदै आएको छ। यस वर्ष रेडियो स्थापना भएको दश वर्ष पूरा भएको तथा अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर १३ औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको आयोजना गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.