|

दाङ: ट्राफिक प्रहरी कार्यालय दाङले मुस्कानसहितको सुरक्षित यातायात सेवाको अभियान सुरु गरेको छ। त्यसका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले शनिबार तुलसीपुर बसपार्कबाट शुरु गरेको हो।

अभियानको शुरु गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङकाका प्रमुख प्रेम प्रसाद रेग्मीले चालकलाई दुर्घटना न्यूनीकरणका उपायसहित यात्रुमैत्री सेवा प्रदान गर्न आग्रह गरे। उनले हवाइसेवामा एयर होस्टेजले जसरी यात्रुलाई ढुक्क सँगको यात्रा र मुस्कान छरीरहेका हुन्छन्। 

त्यसरी नै चालक तथा सहचालकले पनि मुस्कानसहितको यातायात सेवा दिन आग्रह गरे। साथै उनले यात्रा तय गर्नु अघि सवारी साधनको स्वास्थ्य चेकजाँच गरिनु पर्ने, मदिरा सेवन गरी सवारी नचलाउने, ओभर लोडको यात्रा नगराउने, ओभरस्पीडको यात्रा नगराउने, ट्राफिक नियमको पूर्ण रुपमा पालना गर्नु पर्ने विषयमा चालक र सहचालकलाई जानकारी गराए।  

त्यसैगरी उनले सहचालकलाई यात्रुलाई ढुक्कसँग यात्रा गराउनका लागी तोकिएको समयमा खाना खुवाउने, खाना खाने स्थान र समयका विषयमा जानकारी गराउने तथा गन्तव्यमा पुग्ने समयका विषयमा पनि ढुक्कसँग जानकारी गराउने विषयमा सुझाब दिए। यसै अभियानअन्तर्गत ट्राफिक प्रहरी कार्यालय ५ नम्बर प्रदेश कार्यालय रुपन्देहीले जारी गरेको सुरक्षित यात्राका विभिन्न बुँदा उल्लेख गरिएको पर्चा पम्प्लेट समेत यातायात व्यवसायीलाई उपलव्ध गराएको थियो।

तुलसीपुर बसपार्कमा फरक फरक रुटका चालकलाई खादा ओडाएर सम्मानसहित सुरक्षित यातायात सेवाका लागि आग्रह गरेको थियो भने यात्रुलाई पनि आफूले पालना गर्ने सार्वजनिक यातायातका नीति नियमबारे जानकारी गराइएको थियो। 

एक गाडी एक स्टिकर अभियान 

त्यसैगरी सल्यानमा यात्रुबाहक सवारी साधनमा सुरक्षित यात्राको लागि एक सवारी साधन एक स्टिकर अभियान सल्यानमा सञ्चालन गरिएको छ। जिल्लाका सम्पूर्ण सवारी साधनमा स्टिकर टाँस गरेर अभियानको सुरुवात गरिएको हो।

यात्राको समयमा कोही कतैबाट पनि यात्रा अवधिभर सहज ढंगले यात्रा गर्नु नपरोस् र सवारी दुर्घटना न्यूनीकरण गर्न यस्तो अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए। सास्तीपूर्ण यात्रा भोगिरहेका यात्रु प्रत्यक्ष लाभान्वित हुने लक्षसहित अभियान सञ्चालन गरिएको उनको भनाई छ।

स्टिकरमा सवारी साधनमा महिलामाथि यौनहिंसा, दुर्व्यवहार भएमा, चालक सहचालकले मापासे गरेमा, अभद्र व्यवहार गरेमा बढी भाडा असुली गरेमा जिल्लास्थित सम्पूर्ण प्रहरी युनिटको स्थायी फोन नम्बर र प्रमुख जिल्ला अधिकारीको स्थायी नम्बरमा फोन गर्न अनुरोध गरिएको छ।

यस्तै क्षामता भन्दा बढी यात्रु बोकेमा, सहचालकले सवारी चलाएमा, चालकले लापरवाही गरेमा, लामो दुरीमा एकै जना चालकले मात्र सवारी चलाएमा, आरक्षण सिटको कार्यन्वयन नगरेमा तथा कुनै पनि ट्राफिक नियम उल्लंघन गरेमा, चेकजाँचको क्रममा प्रहरीले दुव्र्यबहार गरेमा, शंकास्पद व्यक्ति वा फेला परेमा तत्काल स्टिकरमा लेखिएको नम्बरमा फोन गर्न आग्रह गरिएको छ। 

जिल्लामा चल्ने सम्पूर्ण साना तथा ठूला यात्रुबहाक सवारी साधनमा स्टिकर टाँस गरिने प्रहरी प्रमुख खतिवडाले बताए। जिल्ला प्रहरी कार्यालय सल्यान र छत्रेश्वरी गाउँपालिकाको सहकार्यमा सुरु भएको स्टिकर अभियानमा जिल्लाका प्रमुख पर्यटकीय स्थलहरूको फोटो समेत समावेश गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.