|

हेटौंडाः बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी राजधानी हेटौंडामा सुरु भएको छ। बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सुरु भएको सुरक्षा गोष्ठीमा सहभागी नेपालका सुरक्षा निकायका प्रमुखहरू हेटौंडामा भेला भएका छन्। 

शनिबार प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा भइरहेको गोष्ठीमा सहभागी हुन गृहमन्त्री रामबहादुर थापा 'बादल' का सल्लाहकार प्रा.डा इन्द्रजित राई, नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका युद्ध कार्यका महानिर्देशक उपरथी राजेन्द्र कार्की सहितको सहभागिता रहेको छ।

शनिबार विहानबाट सुरु भएको सुरक्षा गोष्ठीमा बागमती प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरूको सहभागिता रहेको छ। 

'विप्लव' मुख्य छलफल 

सुरक्षा गोष्ठीमा हुने छलफलको मुुख्य विषय नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरिरहेको नेकपाको प्रभावबारे हुने स्रोतले बताएको छ। छलफलमा प्रदेशको आन्तरिक सुरक्षा समन्वयमा विप्लवबाट हुन सक्ने चुनौतीको विषयमा छलफल हुने बुझिएको छ।

बैठकले बागमती प्रदेशको सुरक्षा अवस्थाको विश्लेषण गर्दै आगामी योजना तयार गर्ने र बागमती प्रदेशको सुरक्षा प्रमुखलाई विशेष निर्देशन दिने जनाइएको छ। यस्तै गोष्ठीमा बागमती प्रदेशका जिल्लागत रुपमा सुरक्षाको अवस्थाबारे रिपोर्टिङ हुनेछ। यस्तै सुरक्षा क्षेत्रमा आएका नयाँ चुनौतीको विषयमा पनि विस्तृत छलफल हुने स्रोतको दाबी छ।

गोष्ठीको समापनको लागि भोलि गृहमन्त्री रामबहादुर थापा 'बादल' आउने गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदीले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.