|

पर्वत : जिल्लाको बिहादी गाउँपालिका-३ रानीपानीकी सरिता चौधरी पौडेललाई घरमा पानीको जोहो गर्ने चिन्ताले दैनिक रूपमा सताउँथ्यो।

बर्खाको समयमा खेतका कान्ला कान्लामा पानीका मूलहरू फुटेर पानीको समस्या नहुने भए पनि हिउँदको समयमा भने गाउँमा भरपर्दो पानीको मुहान नहुँदा गाउँमा रहेका परम्परागत कुवा र पुराना धारामा पानी खोज्नको लागि सबेरै धाउनुपर्ने बाध्यता थियो। सरितालाई मात्र होइन गाउँका झन्डै डेढ सय परिवारलाई यही समस्या रहेको छ।

गाउँगाउँमा मोटर बाटो, विद्युत् र इन्टरनेटको सुविधा पुग्दा पनि गाउँमा भने खानेपानीको समस्या रहेकोमा अब भने हल हुने भएको छ। स्थानीय निर्वाचनको बेलामा नागरिकसँग मत माग्दा पनि गाउँमा रहेको खाने पानी समस्याको अन्त्य गर्ने प्रतिबद्धता जनाएका नेताहरूले त्यसका लागि मिहिनेत गरे।

पालिकाले गाउँमा रहेको खानीपानीको समस्या टार्नको लागि संघिय र प्रदेश सरकारसँग हार गुहार गरिरह्यो, यही कारण अबको दुई वर्ष भित्रमा रानीपानीका प्रत्येक घरमा एक वटा खानेपानीको धारो निर्माण हुँदै छ।

गाउँमा रहेको पानीको अभावको समस्यालाई टार्न दुई करोड पचास लाखको लगानीमा ‘लिफ्ट सिस्टम’ को खाने पानी योजना निर्माणको काम सुरु भएपछि तत्कालका लागि गाउँमा रहेका एक सय पचास घरधुरीलाई पानीको सुविधा हुने गाउँपालिका प्रमुख कमलप्रसाद भुसालले बताए।

‘गाउँमा खानेपानीको समस्या रहेको थियो। पुराना कुवा र टाढा रहेका धारामा डोकोमा गाग्री राखेर पानी ओसार्नुपरेको थियो’ उनले भने, ‘गण्डकी प्रदेश सरकारले विनियोजन गरेको साढे दुई करोड रकमबाट लिफ्ट सिस्टमको खाने पानी आयोजनाको निर्माण कार्य प्रारम्भ भएको छ। दुई वर्षभित्रमा रानीपानीका सबै घरहरूमा १/१ वटा धारा जडान हुने छन्।’

गाउँभन्दा ३ सय २५ मिटर तल इमीचौरमा रहेको मूलबाट पानी तानेर उपभोक्ताहरूको घर भन्दा माथिको स्थानमा ट्याङ्की निर्माण गरेर सोही ट्याङ्कीमा पानी रिजर्भ गरेर गाउँमा बाँड्ने गरी काम सुरु भएको रुम्टा लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष अनिल मास्केले बताए।

लामो समयदेखि खानेपानीको चरम समस्यामा रहेका स्थानीयको समस्या अब भने हल हुने भएको उनको भनाई छ। लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आएपछि रानीपानीको भाटीचौर, साहुथर, कुमाल गाउँ, पसियार लगायत ठाउँका बासिन्दा लाभान्वित हुने वडाध्यक्ष रणबहादुर आले बताउँछन्।

यो आयोजनाले गाउँका सबै घरमा एक धारा जडान गर्न असम्भव रहेकोले सङ्घीय सरकारबाट पनि पौने चार करोड रुपैयाँ विनियोजन भएको गाउँपालिका प्रमुख भुसालको भनाई छ।

बन्न लागेको रुम्टे लिफ्टबाट डेढ सय परिवारको आवश्यकता पूरा गरेपछि संघीय सरकारको बजेटमा बन्ने अरेवा लिफ्ट खाने पानी आयोजनाबाट झन्डै २ सय ७५ घर परिवारलाई पानीको सुविधा पुग्ने र आयोजना निर्माणको लागि डिपिआरको काम सम्पन्न भइसेको उनले बताए। यी दुवै योजनालाइै दुई वर्षभित्रमा पूरा गरेर हरेक घरमा एक धारा जडान गर्ने गाउँपालिकाको लक्ष्य छ।

लिफ्टबाट तानिएको पानी महँगो पर्ने हुँदा स्थानीयलाई आर्थिक व्ययभार बढी हुन सक्ने भन्दै विद्युत् महसुलको बिल पनि गाउँपालिका नै बेहोर्ने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.