|

हेटौंडा : मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकपको उपाधिका लागि दुई ‘ए’ डिभिजन क्लब भिड्ने भएका छन्। उपाधिको लागि हिमालयन शेर्पा क्लब र जावलाखेल युवा क्लब ललितपुरबीच हुने भएको छ।

शनिबार संकटा युवा क्लब काठमाडौंलाई पराजित गर्दै जावलाखेल युवा क्लब ललितपुर तेस्रो बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। संकटालाई २–० गोलले हराउँदै जावलाखेल उपाधिनजिक पुगेको हो। संकटासँग भएको दोस्रो सेमिफाइनल खेलमा जावलाखेल युवा क्लबका विदेशी खेलाडी अदामादुम्बीअले खेलको ३२ औँ मिनेटमा गोल गर्दै खेललाई अग्रता दिलाए।

संकटाको मेस्सोकेले २ पटक राम्रो अवसर पाए तापनि अवसरलाई सदुपयोग गर्न सकेनन्। पहिलो हाफमा जावला खेलको दबदबा कायम भएता पनि दोस्रो हाफमा संकटाले बलियो उपस्थिति देखाएको थियो। तर ८७ औँ मिनेटमा जावलाखेलका रुपबहादुर लामाले दिएको पासलाई बिमल घिसिङले सदुपयोग गर्दै गोल गरेपछि जावालखेलको उपाधि रक्षाको यात्रा तय भएको हो।

जावलाखेका विदेशी खेलाडी अदामादुम्बीअ म्यान अफ दी म्याच घोषित भए उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको विजेताले ६ लाख नगद, उपविजेताले ३ लाख, शिल्ड र मेडल तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन्।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेण्डर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ। आइतबार सकिने प्रतियोगितामा ६७ लाख ६५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।

५ वटा ‘ए’ डिभिजन, प्रदेश र जिल्लास्तरीयसहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको करिब २५ हजार जना दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.