|

काठमाडौं : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोराना भाइरस चेकजाँचका लागि सहायता कक्षा स्थापना गरिएको छ। दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्त रुपमा सहायता कक्ष स्थापना गरेको हो।

झुलाघाट नाकाबाट नेपाल भित्रिने नागरिकहरुको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। सहायता कक्षमा भारतबाट फर्किने सबै नागरिकको सहायता कक्षमा स्वास्थ्य परीक्षण हुने उनले बताए। नगरपालिका मातहतका स्वास्थ्य संस्थाबाट सहायता कक्षमा दुईजना स्वास्थ्यकर्मी खटाइएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताए।

कोरोना भाइरसको संक्रमणका बारेमा सचेतना फैलाउन र भारतबाट आउने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरेको स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताए। सहायता कक्षमा भारतबाट फर्किने नागरिकहरुको इन्फ्रारेड थर्मामिटरले ज्वरो मापन गर्ने गरिएको उनले बताए।

सहायता कक्षमा ज्वरो मापनका साथै दुई हप्ता अघिसम्म चीन गए नगएको बारेमा सोधपुछ गर्ने, रुघाखोकी लागे नलागेको बारेमा सहायता कक्षमा सोधपुछ हुने उनले बताए। अत्यधिक ज्वरो आएको र केही शंकास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालमा अलगै कोठामा राख्ने व्यवस्था गरिएको समेत उनले बताए।

सीमाबाट फर्कने नागरिकहरुमा कोरोनाको सम्भावित संक्रमण रोक्नका लागि सहायता कक्ष स्थापना गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जोशीले बताए। सहायता कक्षको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.