बागमतीमा सरकारका मुख्य चुनौती : विप्लव समूहसहित रोहिंगा शरणार्थी

|

हेटौँडा : शनिबारबाट हेटौँडामा सुरु भएको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पहिलो दिन प्रदेशभरीका प्रमुख जिल्ला अधिकारी, प्रदेशभरिका  सुरक्षा निकायका प्रमुखलाई सरकारको सुरक्षा नीति र निर्देशनबारे जानकारी दिइएको छ।

नेपाल सरकारको गृह मन्त्रालय र बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा सुरु भएको सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका महाशाखा र चार सुरक्षा निकायले देशको पछिल्लो समयमा भइरहेको विविध विषयमा ब्रिफिङ गरेका छन्।

पाँच महाशाखाद्वारा चुनौतीबारे जानकारी

गृह मन्त्रालयको पाँचवटा महाशाखाले सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारीहरूलाई देशको पछिल्लो अवस्था र त्यसको चुनौतीबारे जानकारी गराएको छन्। गृह मन्त्रालयको परिचयपत्र वितरण तथा पञ्जीकरण महाशाखा, अभिलेखीकरण महाशाखा, विपद् तथा द्वन्द्व महाशाखा, शान्ति सुरक्षा समन्वय महाशाखा र योजना महाशाखाले देशको पछिल्लो समयमा रहेको जल्दोबल्दो विषयमा रहेको चुनौतीबारेमा जानकारी गराएका हुन्।

जानकारीमा विश्कै चुनौती बनिरहेको कोरोना भाइरसको प्रकोपबारे आवश्यक तयारी र द्रुत प्रतिकार्य, यस्तै बंगलादेशबाट आएका शरणार्थी रोहिंगाको समस्याको चुनौतीबारे पनि छलफल भएको छ।

त्यस्तै, प्राकृतिक स्रोत र साधनमाथि भइरहेको दोहोनबारे गृहको ध्यान रहेको र उक्तसम्बन्धी पछिल्लो अवस्थाबारेको चुनौतीको विषयमा गृह मन्त्रालयले जानकारी गराएको छ। आन्तरिक द्वन्द्वको चुनौतीतर्फ नेत्र विक्रम चन्द 'विप्लव'ले नेतृत्व गरिरहेको नेकपाको प्रभाव रहेको सहभागी एक उच्च पदस्थ कर्मचारीले जानकारी दिए।

भोलि जिल्लाको ब्रिफिङ

गृह मन्त्रालयको वार्षिक क्यालेन्डरअनुसार नै भएको गोष्ठीमा सुरक्षासम्बन्धी बनेको नीति नियम र मन्त्रालयले गरिने निर्देशनको बारेमा जानकारी दिएको छ। बैठकमा जिल्ला प्रशासन कार्यालयको वार्षिक लक्ष्य, जिल्ला तहले सम्पादन गर्नुपर्ने कार्य र क्षेत्रबारे जानकारी दिएको सहभागी एक अधिकृतले जानकारी दिएका छन्।

यस्तै, आइतबार जिल्लागत रूपमा देखिएका सुरक्षाका चुनौती र पछिल्लो समयमा भइरहेको गतिविधिबारे गृह मन्त्रालय र प्रदेशको आन्तरिक मामिला मन्त्रालयलाई ब्रिफिङ गर्ने बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए।

मन्त्री जम्मकट्टेलको अध्यक्षतामा भइरहेको गोष्ठीमा सहभागी हुन गृहमन्त्री रामबहादुर थापा 'बादल'का सल्लाहकार प्राडा इन्द्रजित राई, नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धानका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका युद्ध कार्यका महानिर्देशक उपरथी राजेन्द्र कार्की सहितको सहभागिता रहेको छ। 

शनिबार बिहानबाट सुरु भएको सुरक्षा गोष्ठीमा बागमती प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरूको सहभागिता रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.